शीर्षकहरू

अमेरिकामा भ्रष्टाचार गरेको भन्दै एनएएनसीका प्रितेश कार्की विरुद्ध अदालतमा उजुरी

अमेरिकामा भ्रष्टाचार गरेको भन्दै एनएएनसीका प्रितेश कार्की विरुद्ध अदालतमा उजुरी

काठमाडौं । नेपाली एसोसिएसन अफ नर्थर्न क्यालिफोर्निया (एनएएनसी) को नयाँ नेतृत्व बिवादमा परेको छ । गत ३० मे मा प्रितेश कार्कीले आफ्नो अध्यक्षतामा एकल रुपमा १३ सदस्सीय कार्य समिति निर्विरोध चयन भएको दावी गरेकोमा एनएएनसीकै सदस्यहरुले विरोध गरेका छन् । 

बिशेषगरी, आर्थिक अपारदर्शीता, भ्रष्टाचार र बेरुजुको आरोप प्रितेश माथि लागेको छ । उनको आर्थिक अपारदर्शीता र बेरुजुको बिरुद्धमा केही सदस्यहरुले सुपेरियर कोर्ट मार्टिनेजमा मुद्धा दायर गरेका छन् । उजुरी परेसँगै अदालतले प्रितेशको नेतृत्वलाई रोक लगाउदैै प्रतिबादीहरुलाई जुलाई २१ मा उपस्थित हुन आदेश दिएको छ । 

आफूलाई इन्जिनीयर दावी गर्ने गरेका प्रितेश सनफ्रान्सिस्कोमा मदिरा ब्याबसायमा सक्रिय छन् । यसअघि उनी एनएएनसीको महासचिव थिए । त्यतिबेला पदको दुरुपयोग गर्दै संस्थाको लेटरहेड दुरुप्रयोग गरी नेपाली समुदायबाट ब्यक्तिगत फाइदा निकै उठाएको आरोप समेत उनीमाथि छ । सन् २०१८ मा उनी महासचिव भएकै बेलामा नेपालबाट पण्डित दिन बन्धु पोखरेललाई अमेरिका लगी महापुराण लगाइएको थियो । 

क्यालिफोर्नीयामा सामुदायिक केन्द्र निर्माणका लागि रकम संकलन गर्ने भनेर लगाइएको महापुराणमा पण्डित दिनबन्धुले १३ हजार पारिश्रमिक मागेकोमा प्रितेशले उनलाई २४ हजार डलर पारिश्रमीक दिएको दावी गरे तापनि सो रकमको ‘रिसिभ’ देखाउन नसकेपछि उनले ११ हजार घोटाला गरेको देखिएको छ । अमेरिकी कानूनअनुसार यस सन्दर्भमा पण्डित पोखरेल पनि तानीन सक्ने दावी उजुरीकर्ताहरुले गरेका छन् । 

त्यति मात्रै नभइ, चिठ्ठा कार्यक्रममा ४ सय वटा अर्धकट्टी बिनाको टिकट भेटिएको र त्यसको पनि हिसाव नदिएको,पुरस्कार बितरण पनि अपारदर्शी गरेको लगायतका थुप्रै आर्थिक चलखेलको आरोप उनीमाथि लागेको छ । 

प्रितेशले एनएएनसीको पदाधिकारीको हैसियतले मनोमानी ढंगले कार्यक्रम गरेको, करिब ३० हजार डलरमा सम्पन्न हुने महापुराणमा ८० हजार डलर खर्च भएको भन्दै बिना बिलको हिसाब देखाएकोप्रति पनि सदस्यहरुले असन्तुष्ट ब्यक्त गर्दै छानवीनका लागि प्रक्रिया अघि बढाएका छन् । 

‘यस्तो भ्रष्टाचार,अपारदर्शी र मनोमानीको दलदलमा फसेको ब्यक्ति संस्थाको अध्यक्ष कसरी हुन सक्छ ?’ उजुरीकर्ता एक सदस्यले भने, ‘उनले गरेको भ्रष्टाचार,आर्थिक चलखेल र मनोमानीको पूर्ण रुपमा छानवीन गर्नका लागि अदालत पुगेका हौ ।’ उजुरीकर्ताहरु अदालतले निसाफ दिनेमा विश्वस्त रहेको बताउँछन् ।