शीर्षकहरू

वन उपभोक्ता समूहका अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वन उपभोक्ता समूहका अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष कुमार लावतीसहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको हो ।   

अध्यक्ष लावतीसहित उक्त समूहका सचिव, कोषाध्यक्ष, आपूर्ति संयोजक तथा सिवि बस्नेत एण्ड ऐसोसियट्सका प्रोप्राइटरसमेत ५ जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार आयोगको आरोप रहेको छ । उनीहरुविरुद्ध आज बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।   

मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले वनको रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त निवेदनमा अनुसन्धान हुँदा त्यस समूहका तत्कालीन पदाधिकारीहरु र लेखापरीक्षकको मिलेमतोमा आफ्नो सामुदायिक वनरुपी संस्थालाई नोक्सानी र आफूलाई फाइदा पुग्ने गरी प्रचलित कानुनविपरीत फर्जी विल भरपाई पेश गरिएको पाईएको छ । साथै, उनीहरुले वन कार्यालयको कुनै पनि निकायहरुसँग समन्वय एवं पत्राचार तथा निर्देशन नलिई आफूखुसी मुल्य अवमुल्यन गर्ने, काठ निशुल्क बाँड्ने तथा सालको काठलाई कुकाठ वा दाउराको रुपमा मूल्याङ्कन गर्ने, परिमाण घटाई बिक्री वितरण गर्ने जस्ता वन पैदावार संकलन तथा बिक्री वितरण निर्देशिका, २०७३ विपरीतका कार्य गरेको पाईएको छ । 

उनीहरुले संस्थामा आम्दानी नदेखाई रकम हिनामिना गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ । समूहका पदाधिकारीहरु र लेखापरीक्षकलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावी सहित आरोपपत्र दायर गरिएको छ । लेखा परिक्षक चन्द्र बहादुर बस्नेतसहित अध्यक्ष लावतीसंग ९ लाख ७७ हजार ३४९ रुपैयाँ, सचिव देविन्द्र कार्कीसंग ८ लाख १६ हजार ७४९ रुपैयाँ, कोषाध्यक्ष भिमा लम्साल ढकालसंग ७ लाख २ हजार ३४९ रुपैयाँ, आपूर्ति संयोजक रामप्रसाद पौडेलसंग ३ लाख ८४ हजार १४९ रुपैयाँ बिगो माग गरिएको आयोगले जनाएको छ ।