शीर्षकहरू

वाणिज्य बैंकहरूको कर्जा साना र मझौला उद्योगमा भन्दा घरजग्गामा बढी

वाणिज्य बैंकहरूको कर्जा साना र मझौला उद्योगमा भन्दा घरजग्गामा बढी

काठमाडौं । चालू आर्थिक वर्ष (आव)मा वाणिज्य बैंकहरूको कर्जा साना तथा मझौला उद्योगमा भन्दा घरजग्गामा बढी प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको चैत मसान्तसम्म २७ वाणिज्य बैंकले साना तथा मझौला उद्योगमा भन्दा घरजग्गामा बढी लगानी गरेका हुन् । 

उत्पादन बढाउँन औद्योगिक क्षेत्रमा लगानी बढाउने भनिएपनि बैंकहरूले अनुत्पादक क्षेत्रमा नै लगानी अत्याधिक बढाएको देखिन्छ । एक महिनाको अवधिमा भने बैंकहरूको घरजग्गामा गरिएको लगानी घटेको छ । फागुनसम्म यस्तो लगानी १ खर्ब ८२ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । एक महिनाको अवधिमा यो कर्जा १० अर्ब ६४ करोड रुपैयाँ घटेको छ । यी बैंकहरूले उक्त अवधिमा घरजग्गामा १ खर्ब ७१ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले घरजग्गामा गरिने लगानीमा कडाई गरेसँगै यस्तो कर्जा घट्न पुगेको हो ।

तर, एक महिनाको अन्तरालमा साना तथा मझौला उद्योगमा गरिएको लागनी भने ६ अर्ब ६७ करोड रुपैयाँ लगानी बढेको छ । चैत मसान्तसम्म साना र मझौला उद्योगमा यी बैंकहरूको लगानी १ खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । जसमध्ये साना उद्योगमा ७७ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेका छन् भने मझौला उद्योमा ७८ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका छन् । कतिपय वाणिज्य बैंकले भने यस्ता उद्योगहरूमा कर्जा प्रवाह गरेका छैनन् । राष्ट्र बैंकका अनुसार हालसम्म साना तथा मझौला उद्योग शीर्षकमा गरिने कर्जा प्रवाह हिमालयन बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, सन्राइज बैंक, प्रभु बैंक, मेगा बैंक र सिभिल बैंकले साना तथा मझौला उद्योगमा कर्जा लगानी नगरेको राष्ट्र बैंकले जनाएको छ ।

कतिपय बैंकले भने मझौला उद्योगमा कर्जा लगानी गरेका छन् भने ती बैंकहरूले साना उद्योगमा कर्जा प्रवाह गरेका छैनन् । 

सबैभन्दा बढी साना तथा मझौला उद्योगमा कर्जा प्रवाह एनएमबि, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले गरेका छन् । एनएमबिले ३५ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ३४ अर्ब ५ करोड र राष्ट्रिय वाणिज्य बैंकले २६ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।