शीर्षकहरू

पाकिस्तानका नयाँ विदेशमन्त्री भुट्टोेको चीन भ्रमण, सीपीइसी परियोजनाको निकास निस्केला ?

पाकिस्तानका नयाँ विदेशमन्त्री भुट्टोेको चीन भ्रमण, सीपीइसी परियोजनाको निकास निस्केला ?

एजेन्सी ।  पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले शनिबार ट्विट गर्दै भनेका छन्, ‘मेरो पहिलो द्विपक्षीय भ्रमणको लागि ग्वान्झाउमा निस्किएको छु । आज पाकिस्तान र चीनबीचको कूटनीतिक सम्बन्धको ७१ औं वार्षिकोत्सव पनि हो । म पाकिस्तान–चीन सम्बन्धमा गहिरो छलफल गर्न स्टेट काउन्सिलर र विदेशमन्त्री वाङ यीलाई भेट्न जाँदैछु ।’

चीन भ्रमणका क्रममा बिलावल भुट्टोले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग पाकिस्तान–चीन सम्बन्धबारे छलफल गर्नेछन् । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान सत्ताच्युत भएपछि नयाँ विदेशमन्त्री बिलावल भुट्टोको यो पहिलो चीन भ्रमण हो । पदभार सम्हालेपछि उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमण पनि हो ।

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार यो भ्रमणमा उनले चीनका स्टेट काउन्सिलर र चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गर्नेछन् । यस अवधिमा उनले पाकिस्तान र चीनबीच बलियो व्यापार र आर्थिक सहयोगमा विशेष ध्यान केन्द्रित गर्दै द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्नेछन् ।

परराष्ट्रमन्त्रीको यो भ्रमणले पाकिस्तान र चीनबीचको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन, आर्थिक करिडोरलाई अगाडि बढाउन र द्विपक्षीय सहयोगका नयाँ अवसर खोज्न मद्दत पुग्ने पाकिस्तानले जनाएको छ ।

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई उद्धृत गर्दै अप्रिलमा पदभार ग्रहण गरेपछि बिलावल भुट्टोको यो पहिलो विदेश यात्रा हो र उनले आफ्नो पहिलो स्थान चीनलाई रोजेको बताएको छ । यस राउण्डमा चीन–पाकिस्तान करिडोरको द्रुत प्रगतिका बारेमा पनि छलफल हुनेछ । दुवै पक्षले प्रमुख क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्नेछन् । वाङ वेनबिनले रणनीतिक साझेदारको हैसियतमा चीन र पाकिस्तानले यस क्षेत्रका परिवर्तन, जोखिम र चुनौतिहरूको सामना गर्न प्रमुख मुद्दाहरूमा वार्ता र समन्वयमा सुधार गर्नु महत्वपूर्ण रहेको बताए ।

भुट्टोको चीन भ्रमण केही कारणले महत्वपूर्ण रहेको बताइएको छ । पहिलो भनेको बिलावल भुट्टोको पदभार सम्हालेपछिको यो पहिलो चीन भ्रमण हो र त्यसअघि नै चिनियाँ नागरिकमाथि आक्रमण भएको थियो । सरकारमा रहेका राजनीतिक दलहरूले विपक्षमा रहँदा पूर्वप्रधानमन्त्री इमरान खानलाई देशको विदेश नीति र सुरक्षा व्यवस्थालाई लिएर निशाना बनाउँदै आएका छन् ।

तर, चिनियाँ नागरिकमाथि चरमपन्थी हमला, चीन–अमेरिका तनाव र रुस–युक्रेन युद्धका बीचमा वर्तमान सरकारका परराष्ट्रमन्त्रीले पनि अनेकौँ चुनौती सामना गर्नुपर्ने देखिन्छ । विश्वविद्यालयमा आत्मघाती बम विष्फोटमा एक महिलाले आत्महत्या गरिन् । यस आक्रमणमा तीन चिनियाँ नागरिकको पनि मृत्यु भएको थियो । पाकिस्तानमा चिनियाँ प्रभावको विरोध गर्दै आएको बलुचिस्तान लिबरेशन आर्मीले यसको जिम्मेवारी लिएको थियो ।

ग्लोबल टाइम्सले लेखेको छ अप्रिल २७ मा पदभार ग्रहण गरेपछि बिलावल भुट्टो चरमपन्थी हमलाबाट पीडित चिनियाँहरूलाई सान्त्वना दिन चिनियाँ दूतावास पुगेका थिए । उनले यी आक्रमणको निन्दा गरेको र पाकिस्तानको मन्त्रिपरिषद्ले चिनियाँ नागरिकको सुरक्षा बढाउने निर्णय गरेको बताए ।

योसँगै सीपीइसी परियोजनामा भएको ढिलाइ पनि दुई देशबीचको चिन्ताको विषय हो । समाचार एजेन्सी एएनआईले एक मिडिया रिपोर्टलाई उद्धृत गर्दै दाबी गरेको छ सीपीइसी परियोजनाहरूमा ढिलाइका कारण पाकिस्तान र चीन दुवैमा निराशा बढ्दै गएको छ ।

परियोजनाहरूलाई रकम पाउन कठिनाइ भइरहेको छ । साथै, पाकिस्तान सरकारले बिना अवरोध द्रुत विकासको लक्ष्य हासिल गर्न गठन गरिएको ऋएभ्ऋ प्राधिकरणलाई पनि खारेज गरेको छ । परियोजनाका लागि रकम दिन अस्वीकार गरिरहेको छ र चिनियाँ कम्पनीहरूले पनि सीपीइसी परियोजनाका लागि विद्युत उत्पादन रोकेका छन्। यी कम्पनीहरूले बक्यौता तिर्न माग गरिरहेका छन् ।

अर्कोतर्फ, पाकिस्तानले पनि आफ्नो राजस्वको ठूलो हिस्सा सीपीइसी परियोजनाहरूको ऋण तिर्न खर्च गरिरहेको छ । तर, यी आयोजनाहरू या त अलपत्र छन् वा असफल भएका छन् । चीनले धेरै ठूला आयोजनाको अन्तिम चरणको रकम रोक्का गरेपछि पनि पाकिस्तानमाथि दबाब बढेको छ ।

यस्तो अवस्थामा चीनलाई आफ्ना नागरिकको सुरक्षाको आश्वासन दिनु र चीनको बेल्ट एण्ड रोड परियोजनालाई द्रुत गतिमा अगाडि बढाउने समाधान खोज्नु पनि बिलावल भुट्टोको ठूलो जिम्मेवारी हुनेछ । यो भ्रमण यसकारण पनि महत्त्वपूर्ण छ किनकि मे २१ तारिख चीन र पाकिस्तानबीचको रणनीतिक सम्बन्धको ७१ औँ वार्षिकोत्सव थियो। यो वार्षिकोत्सव पाकिस्तानमा विशेष रूपमा मनाइएको थियो ।
 
यस अवसरमा पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेब इस्लामाबादस्थित चिनियाँ दूतावास पुगिन् र त्यहाँ केक काटे । उनले यो दिनलाई ऐतिहासिक दिनका रुपमा लिने बताए । मरियम औरङ्गजेबले पाकिस्तान–चीन सम्बन्धले पाकिस्तानको आर्थिक र मानवीय विकास मात्र नभई क्षेत्रीय समृद्धिमा समेत योगदान दिएको बताइन् । उनले चीन–पाकिस्तान आर्थिक करिडोर ऐतिहासिक रणनीतिक साझेदारीको उदाहरण भएको बताए ।