शीर्षकहरू

नाफिजको समन्वयमा पत्रकारलाई बैंकिंग तालिम सम्पन्न

नाफिजको समन्वयमा पत्रकारलाई बैंकिंग तालिम सम्पन्न

काठमाडौँ । आर्थिक क्षेत्रमा पत्रकारिता गर्ने २५ जना पत्रकारहरुले सोमबार तालिम प्राप्त गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल बैंकिंग इन्स्टिच्युट (एनबिआई)को सहकार्यमा बैंकिंग क्षेत्रको रिपोर्टिंग गर्ने पत्रकारहरुलाई तालिम दिइएको हो  । 

बिभिन्न संचारमध्यममा आवद्ध पत्रकारलाई तालिम दिनेक्रममा बैंक तथा बित्तिय क्षेत्रको समाचार लेख्दा हुनसक्ने त्रुटिहरुमा तालिम केन्द्रित गरिएको थियो । उक्त तालिम कार्यक्रमलाई सम्बोधन गर्दै एनबिआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजिव सुब्बाले एनबिआईले पत्रकारहरुलाई तालिम दिएर सहि सुचना आम पाठकबीच प्रवाह गर्न पाए इन्स्टिच्युटको उदेश्य पुरा हुने धारणा राखे ।

पत्रकार किन आधारभूत ज्ञानबाट लैस हुनुपर्नेमा जोड दिंदै उनले भने," आर्थिक पत्रकारले लेखेको एउटा सानो समाचारले लाखौँ लगानीकर्ताको सम्पति जोखिममा पर्नसक्छ त्यसैले सहि र आम जनताको हितमा हुने मात्र समाचार लेखिनु पर्छ ।" उनले अगाडी थपे," समाचारबाट कसलाई लाभ पुग्छ भनेर सहि सूचना दिन पनि यसप्रकारको तालिम आवश्यक छ ।" आर्थिक पत्रकारले समाचार, बिचार भन्दापनि विश्लेषणमा जोड दिनुपर्ने उनको धारणा थियो ।

नाफिजका अध्यक्ष सीताराम भट्टराईले आर्थिक पत्रकारहरुको क्षमता अभिबृदी संघको प्रमुख उदेश्य रहेको जनाउंदै एनबिआईले यसमा सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरेका थिए । सहभागी पत्रकारहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धि समाचार लेख्दा अत्यन्तै संबेदनशील हुन समेत उनले आग्रह गरेका थिए। पत्रकारले सिक्ने कुरामा संधै आफुलाई तत्पर राख्नुपर्ने बताउंदै भट्टराईले तालिम फलदायी हुने बिश्वास व्यक्त गरेका थिए । ज्ञानले जिम्मेवार बन्न समेत मद्धत गर्ने भन्दै उनले भने,"यस्ता हरेक तालिम पश्चात पत्रकार जानकार मात्र होइन जिम्मेवार समेत बन्छ त्यसैले यस्ता तालिमको छुट्टै महत्व छ ।"

नाफिज र एनआईबि बीच आर्थिक पत्रकारहरुलाई नियमित तालिम दिनेगरि भएको सम्झौता अनुरुप तालिम संचलान थियो । सम्झौता अनुरुपका नियमित तालिमका अलावा आवश्यकता अनुसार तालिमको आयोजना गर्न आफुहरु तयार रहेको जानकारी एनबिआईका सीईओ सुब्बाले सो अवसरमा दिएका थिए। आर्थिक पत्रकार तथा बैक बिज्ञ राजु नेपालले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।