शीर्षकहरू

मूल्यवृद्धिको मारमा उपभोक्ता, खाने तेलको मूल्य बढेको बढ्यै

मूल्यवृद्धिको मारमा उपभोक्ता, खाने तेलको मूल्य बढेको बढ्यै

काठमाडौं । सर्वसाधारणको भान्सामा दैनिक प्रयोग हुने खाने तेलको मूल्य पछिल्लो समय अस्वाभाविक रूपमा वृद्धि भइरहेको छ । खाने तेलको मूल्य अचाक्ली बढेसंगै उपभोक्ता मार्कामा परेका हुन् ।          

तेल मात्र होइन चामल, चिनी, लत्ता कपडालगायतका वस्तको मूल्यमा समेत निरन्तर वृद्धि भइरहेको छ । उपभोग्य वस्तुको मूल्यको उत्तारचढावले सबैभन्दा बढी उपभोक्तालाई पिरोल्ने गर्छ । दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा उपभोक्तालाई अझ बढी समस्या हुन्छ । 

दैनिक भान्सामा प्रयोग हुने खाने तेलको मूल्यमा निरन्तर वृद्धि भइरहेका कारण उपभोक्ताहरु मारमा परेका छन् । खानेतेलको मूल्यवृद्धिले अहिले उपभोक्तालाई हैरान बनाएको छ ।   

दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि हुनुमा सरकार नै दोषी रहेको उपभोक्ताहरु बताउँछन् । सरकारको लापरवाहिका कारण मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकिएको उनीहरुको भनाई छ ।  

व्यवसायीहरुले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको कारण देखाउँदै आफूखुसी सबै प्रकारका खाने तेलको मूल्य बढाएका छन् । गत वर्षदेखि अहिलेसम्मको अवधिमा सबै प्रकारका खाने तेलको मूल्य अस्वभाविकरुपमा बढेको देखिन्छ ।      

पछिल्लो एक वर्षको अवधिमा खाने तेलको मूल्यवृद्धि हेर्ने हो भने अस्वभाविक भएको देखिन्छ । एक वर्षअघिसम्म सनफ्लावर तेल प्रतिलिटर २ सय १० रुपैयाँ रहेको थियो । तर, अहिले बढेर सनफ्लावर तेलको मूल्य प्रतिलिटर ३ सय १० रुपैयाँ पुगेको छ । यससंगै तोरी भटमास लगायत सबैजसो खाने तेलको मूल्य  वृद्धि भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको कारण नेपाली बजारमा पनि तेलको मूल्यमा असर परेको नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुबोध कुमार गुप्ता बताउँछन् । उनी भन्छन्, ‘नेपालमा तेल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ विदेशबाट आयात गर्नु पर्ने बाध्यता छ । त्यसरी आयात गरिने कच्चा पदार्थको मूल्य निरन्तर बढिरहेका कारण तेलको मूल्य पनि बढेको हो । खाने तेल उत्पादन लागत बढेपछि मूल्य बढाउनु पर्ने बाध्यता हुन्छ ।’ 

उनका अनुसार उद्योगलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायतका देशहरूबाट आयात गर्नुपर्छ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरूप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गर्दछ । 

उनले नेपाल उत्पादन हुने सबै खाले खाने तेलका लागि कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाटै ल्याउनु पर्ने बाध्यता रहेको बताउँदै अध्यक्ष गुप्ताले भने, ‘तेलको मूल्यका सम्बन्ध भनेकै कच्चा तेलको भाउसँग मात्र छ । कच्चा पदार्थको भाउ बढ्दा नेपाली बजारमा तेलको मूल्यमा असर पर्छ । यसले गर्दा तेलको मूल्य वृद्धि हुनुमा उद्योगीको कुनै भूमिका रहदैन ।’