शीर्षकहरू

प्रमुख प्रशासकीय अधिकृत सारुसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रमुख प्रशासकीय अधिकृत सारुसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

आयोगका अनुसार प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इन्जिनियर, सव–इन्जिनियर तथा उपभोक्ता समितिका अध्यक्ष र मालपोत कार्यालय टोखा सरस्वती काठमाडौंमा कार्यरत खरिदार विनोद तिवारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । तिवारीले घुस तथा रिसवत लिई भ्रष्टाचार गरेका हुन् भने अन्य पाँच जनाले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ । 

मुगुको छायाँनाथ रारा नगरपालिकाले वडा नं. २ मा पर्ने पैदल बाटोमा पक्की सिंढी निर्माण गर्ने गरी आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन भएको रकम हिनामिना गरेको भन्ने उजुरी आयोगका परेको थियो । निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त निर्माणको कार्यमा सब–इन्जिनियर तथा इन्जिनियरले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई तयार पारेको पुष्टि भएको आयोगले जनाएको छ । 

जसमा नापी किताबमा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुले सही गरी नापीको विवरणमा सहमति जनाएका थिए । प्रतिवादीद्वय असिस्टेन्ट सव–इञ्जिनियर हस्त बहादुर मल्ल र इञ्जिनियर महेश सिंह कठायतले फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्यांकन गरी झुठ्ठा नापजाँच विवरण चढाई गलत सिफारिस गरेका थिए । जहाँ २९ लाख ७७ हजार ८२१ रुपैयाँ सरकारी हानिनोक्सानी पुयाई भ्रष्टाचार भएको हो । उनीहरुविरुद्ध आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । 

त्यस्तै, मालपोत कार्यालय टोखाका  मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई अख्तियारले घुससहित नियन्त्रणका लिएको थियो । उनले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २० हजार घुस लिएका हुन् । तिवारी विरुद्ध पनि आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।