aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

२२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

  • रासस
    रासस
  • शुक्रबार, १७ साउन २०७६
himalayanlife
२२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो
DHI
NIBL

पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ बाट यस आयोजनाको परीक्षण उत्पादन भइरहेको छ ।

यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रसारण लाइनमा धमाधम प्रवाह भइरहेको छ । २२.१ मेगावाट लक्ष्यको तल्लो हेवाको अहिलेको वास्तविक उत्पादन २२.३४ मेगावाट रहेको प्राविधिकहरुको भनाइ छ ।

आयोजना निर्माण सम्पन्न भएर आम्दानी गर्ने अवस्थामा पुगेपछि आफूहरु हर्षित भएको आयोजना निर्देशक दीपेन्द्र आङबोले बताए । परीक्षणको १५ दिनपछि उत्पादित विद्युत् बिक्री गर्न थालिने भएको छ ।

फिदिमस्थित थापाटारको कावेली कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको सवस्टेशनबाट तल्लो हेवाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा पठाउन थालिएको हो ।

यस आयोजनाबाट जेठ र मङ्सिरबीचको छ महीनासम्म २२.३४ मेगावाट विद्युत् उत्पादन हुने सिनियर इलेक्ट्रिकल इञ्जीनियर नामेश्वर यादवले बताए ।

यादवका अनुसार खोलाको पानी घट्ने ‘सिजन’ मङ्सिर–वैशाखको छ महिनाबीचमा १० देखि १२ मेगावाटसम्म उत्पादन हुनेछ ।

यहाँका हेवा र फेमे दुई खोलाको पानी जोडेर तल्लो हेवा जलविद्युत् आयोजना निर्माण भएको हो ।

प्रतिसेकेण्ड १६ मिटर क्युविक अर्थात् १७ हजार लिटर प्रवाह हुने पानीको प्रवाहबाट २२.३४ मेगावाट विद्युत् उत्पादन भइरहेको हो । अहिले तल्लो हेवाबाट २४ मेगावाटसम्म उत्पादन गर्न सकिने पानी उपलब्ध रहेको इञ्जीनियर यादवले बताए।

नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौताअनुसार २२.३४ मेगावाट मात्र विद्युत् उत्पादन गरिएको यादवको भनाइ छ।

यहाँबाट प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट विद्युत्बाट २२ लाख रूपैयाँसम्म आम्दानी हुने आयोजनाले जनाएको छ ।

जलविद्युत् कम्पनीहरुबाट नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट वर्षायामको चार रुपैयाँ ८० पैसा र सुक्खायामको आठ रुपैयाँ ४० पैसामा विद्युत् खरीद गर्दै आएको छ ।

तल्लो हेवा आयोजना माउन्टेन हाइड्रोपावर लिमिडेटले निर्माण गरेको हो । विभिन्न व्यवधानका कारण तल्लो हेवाको काम ढिलो सम्पन्न भएको हो ।

यसको पाँच हजार ३०० मिटर दूरीको सुरुङ र ६०० मिटर पेनस्टक बनाइएको छ । हेवातिरको इन्टेक फिदिम नगरपालिका–११ नांगिन सेजेपा र हिलिहाङ गाउँपालिका–७ भारपाको सीमामा बनेको छ ।

विद्युत्गृह फिदिम–४ को सारन्तामा छ । तीन अर्ब ६६ करोड रूपैयाँमा सक्ने गरी बनाउन थालिएको तल्लो हेवाको लागत ७० करोड रूपैयाँले बढेको जनाइएको छ ।

नाकाबन्दी, भूकम्प, आन्तरिक विवादले बीच–बीचमा काम रोकिँदा लागत बढेको आयोजना प्रमुख गणेश सुब्बाले बताए।

बैंक ऋणको ब्याजले लागत बढाएको उनको भनाइ छ । विसं २०७४ असारमा सक्ने सम्झौतामा २०७० मङ्सिरदेखि तल्लो हेवाको निर्माण थालिएको थियो ।

यो आयोजना निर्माणमा १२ राष्ट्रिय वाणिज्य बैंकहरुको ७० प्रतिशत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस