गन्तव्य जतिसुकै टाढा किन नहोस् । जतिसुकै कठिनाइ आएपनि हिड्ने साहस र आट राख्यो भने गन्तव्यमा अवस्य पुग्न सकिन्छ । संङघर्ष र आत्मविश्वासका साथ सफलताका लागि कहिल्यै हिम्मत नहारेका एक पात्र हु्न् आकाश वाडे ।
मससुरुम सिड नेपाल एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक आकाश वाडे सानै उमेरदेखि कृषि खेतीमा रमाउने गर्थे । कृषि क्षेत्रमा नै उनको रुची थियो । उनले सुरुवाती दिनहरुमा साग र गाँजरको खेती गरे । तर उनी साग र गाँजर खेतीमा मात्रै रमाउन सकेनन् । उनलाई सधै एउटै खेती होइन फरक फरक खेती गर्न मन पथ्र्यो ।
उनले फरक खेती गर्ने सोचमा साग र अर्ग्यानिक गाँजरपछि च्याउ खेती गर्ने सोच बनाए । उनको यो सोच चाँडै पुरा गर्न खोज्नुमा अर्को एउटा कारण पनि छ, त्यो हो साग र गाँजरको बिक्री नहुनु । ती दिनहरु सम्झिदै आकाश वाडे भन्छन्, ‘भक्तपुरबाट साग र अर्ग्यानिक गाँजर बेच्नका लागि ठमेल, असन, इन्द्रचोक लगायतका क्षेत्रपाटीसम्म जान्थे । तर अर्ग्यानिक गाँजर बिक्री हुँदैनथ्यो । यसले गर्दा पनि मैले अब च्याउ खेती गर्छु भनेर कस्सिए ।’
नभन्दै, वाडेले वि.सं २०५४ सालमा खुमलटारमा तीन वटा बोटलमा च्याउको खेती गरे । त्यसबाट उनले सफलता भने पाएनन् । सफलता नपाएपनि बादेले हिम्मत भने हारेनन् । वि.सं २०६२ सालमा साथीहरुसँग मिलेर फेरि च्याउ खेती सुरु गरे ।
‘म सहित तीन जना साथीहरु मिलेर १७ वटा पोकामा च्याउ खेतीको सुरुवात गर्यौ । त्यसबाट पनि राम्रो भएन । दोस्रो पटक १०५ वटा पोकामा च्याउको खेती गर्यौ । यसपटकको च्याउ पनि सबै बिग्रियो । च्याउ सबै बिग्रेकाले सबै साथीहरु निरास भएर छाडेर गए । फेरि म एक्लै भए’, उनले सुनाए ।
पटक पटकको असफलता पछि च्याउ खेतीमा प्राविधिक ज्ञानको कमी भयो भन्ने उनलाई महसुस भएको सुनाउँछन् । साथीहरुले छोडर गएपनि उनले भने च्याउ खेतीबाट पछि हट्ने सोच बनाएनन् । बरु एक्लैैले फेरि व्यवसाय सुरु गर्न लागे । र उनले सुरुमा ४ सय पोका बनाएर च्याउ खेती सुरु गरे । यसपटक भने उनलाई यो खेतीले निरास बनाएन । विस्तारै उनले हजार पोका गर्दै एकै चोटी २० हजार पोकासम्म बनाएर च्याउ खेती विस्तार गरे ।
च्याउ खेती गर्ने क्रममा सुरुवाती चरणमा थोरै लगानीबाट सुरु गरे पनि व्यावसायीक रुपमा यसको खेत गर्नका लागि ५ लाख रुपैयाँ सहकारीबाट ऋण लिएको उनी सुनाउँछन् । ‘कुनै खेती सुरु गर्ने बित्तिकै सफल भइदैन भन्ने मेरो अनुभव छ । ५ लाख रुपैयाँमा लगानी गरेको च्याउ खेतीबाट धेरैजसो घाटामा नै गयो । व्यवसायिक रुपमा च्याउ खेतीबाट पनि सफलता पाउँन सकिन । ५ लाख रुपैयाँको ऋणको ब्याज थपिएर ९ लाख रुपैयाँसम्म पुग्यो ।’ उनी भन्छन्, ‘त्यसपछि च्याउ खेती मात्र गरेर सफल भएदैन भनेर ठानेर बिऊ पनि उत्पादन गर्न लागे । त्यसपछि प्राविधिक रुपमा तालिम पनि लिए । ज्ञान, अनुभव र तालिम सँगै च्याउ खेतीमा पनि सुधार हँदै गयो । विस्तारै ऋण पनि तिरिसके ।’
विभिन्न समस्याहरुसँग जुझ्दै गएपछि उनलाई समाधानका उपायहरु पनि आउन थाले । प्राविधिक ज्ञानसँगै अनुभव पनि बढ्दै गयो । च्याउ खेतीबाट विस्तारै सफलता पनि हासिल हुँदै गयो । उनले च्याउको व्यवसायिक खेती गर्दा प्राविधिक ज्ञानको कमि थियो । च्याउ खेतीको विषयमा आवश्यक तालिम दिने ठाउँ पनि थिएन ।
यो व्यवसाय सुरु गर्दा घाटा भएपनि विस्तारै नाफा हुँदै गयो । उनले पुँजी पनि थप्दै गए । बादे भन्छन, ‘मसँग च्याउ खेती गर्न पर्याप्त ठाउँ पनि थिएन । उत्पादन भएको च्याउको लागि बजार पनि थिएन । त्यो समयमा धेरैजसो मानिसहरुमा च्याउ खाने बानी पनि थिएन । बजारमा च्याउ बेच्न लिएर जाँदा बिक्री हुँदैनथ्यो । कतिपयले यो च्याउ भनेको के हो, कसरी खाने भनेर सोध्ने गर्थे । त्यसपछि थाकेर च्याउ फर्काएर बसपार्क नजिकको जुत्ता पसल सँगैको तरकारी पसलमा छोडेर फर्कने गर्थे ।’
वाडेले अहिले कन्य, सितोके र रातो च्याउका ३२ वटा च्याउ फार्म सञ्चालन गरेका छन् । उनले उक्त च्याउ फार्मबाट वार्षिक रुपमा करिब ८० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । साथै ती फार्महरुमा उनले २२ जनालाई रोजगारी समेत दिएका छन् ।
उक्त फार्ममा उनले अहिले कन्य, सिइताके र रातो च्याउ तीन थरि च्याउको खेती गरेका छन् । यस बाहेक गोब्रे च्याउ, किङ वेस्टर, कोर्डिसेप्स मिलिटारिस, कोर्डिसेप्स एसपी, लायन्स मेन (हेरिकियम), इसारिया जापोनिका, इसारिया सिकादा, इनोकिताके, माइटाके र ’किङ ओएस्टर’जातका च्याउ लगायत यार्सागुम्बा च्याउको पनि खेती गर्ने गरेको उनले सुनाए ।
विशेषगरी नेपाली समाजमा मासु नखानेहरुले च्याउलाई प्रोटिनको रुपमा खाने गरेका छन् । मासुमा विभिन्न किसिममा अनावश्यक स्रोतहरु उत्पन्न हुने गर्छन् । तर च्याउ नियमित रुपमा खाने गर्नाले हाम्रो शरिरमा भएका अनावश्यक चिजहरु विस्तारै हराएर जाने गरेको उनी सुनाउँछन् ।
वाडे भन्छन्, ’च्याउको नियमित प्रयोगले हाम्रो शरिरमा भएका अनावश्यक विकारहरु दिशापिसाब र खकारको माध्यमबाट बाहिर जाने गर्छ । यसका साथै बुढ्यौलीपनलाई पनि नियन्त्रण गर्ने काम पनि गर्छ । च्याउमा प्रोटिन भिटामिन म्याग्नेसियम जस्ता विभिन्न तत्वहरु पाइने गर्छ ।’
उनका अनुसार नेपालमा कन्य, गोब्रे इटाली, सिताके र रातो च्याउलाई नै खेती योग्य च्याउका रुपमा लिइन्छ । नेपालमै उत्पादित च्याउहरुलाई खेती योग्य च्याउ बनाउनका लागि परिक्षण गरिरहेको समेत उनले सुनाए ।
उनी भन्छन्, ‘स्वदेशी च्याउहरुलाई पनि उत्पादिन मुखी बनाउन लागि रहेका छौ । नेपालमै उत्पादित च्याउहरुलाई खेती योग्य च्याउ बनाउनका लागि परिक्षण गरिरहेका थियौ । त्यसमा हामी सफल पनि भएका छौ ।’
उनका अनुसार सबै खालको च्याउको उत्पादलनका लागि फरक फरक हावापानी चाहिने गर्छ । उनले भने, ‘सबै च्याउहरु एकै किसिमको हावापानीमा उत्पादन गर्न सकिदैन । विभिन्न थरीका च्याउ खेतीका लागि भिन्न भिन्न प्रकारको हावापानी चाहिने हुन्छ । पहाडी क्षेत्रमा कन्य गोब्रे सिताके रातो च्याउ सबैको खेती गर्न मिल्छ ।’
‘तर तराई क्षेत्रमा भने कन्य च्याउको खेती गर्न गाह्रो हुने गर्छ । गोब्रे च्याउका हकमा भने फागुन महिनापछि तराई क्षेत्रमा यसको खेती गर्न सकिदैन । किङ वेस्टरको खेती गर्न पनि तराई क्षेत्रमा सम्भव छैन । तराई क्षेत्रमा भने खेतीका लागि दुधे च्याउ उपयुक्त हुन्छ’, उनले भने ।
उनका अनुसार नेपालमा केजीको १५ हजार रुपैयाँसम्म च्याउको मुल्य पर्ने गर्छ । ‘नेपालमा महंंगो च्याउ भनेको रातो च्याउ हो । केजीको १५ हजार रुपैयाँसम्म बेचिन्छ । महंगो च्याउ वार्षिक रुपमा दुई लाखसम्म बेच्ने गरेका छौ’, वाडेले सुनाए ।
नेपालमा केही च्याउहरुलाई प्रतिवन्ध पनि गरिएको छ । क्यानडा र फिनल्याण्डमा जस्ता मुलुकहरुमा म्याजिक च्याउलाई औषधि उपचारको लागि प्रयोग गर्नेहरुले प्रयोग गर्ने भएकाले नेपालमा यसलाई प्रतिबन्ध गरिएको उनले सुनाए ।
उनी भन्छन्, ‘म्याजिक च्याउ खादा मात लाग्ने गर्छ । विश्वमा म्याजिक मसरुमलाई मन्द बुुद्धि र मानसिक समस्या भएकाहरुलाई औषधिको रुपमा खुवाइन्छ । धेरै जसो यो च्याउ औषधिमा प्रयोग हुने गरेको छ । यो औषधिय गुणयुक्त च्याउ हो । लागुऔषधि ड्रक्स बनाउनका लागि प्रयोग हुने गरेको छ । लागु औषध ड्रक्सको प्रयोग गर्नेहरुले उक्त च्याउको प्रयोग गर्ने भएकाले यसलाई प्रतिबन्धित गरेको हो ।’
‘नेपालमा भने औषधिको रुपमा प्रयोग गर्नका लागि यसको अनुसन्धानका गर्नका लागि लागिपरेका छौ । त्यसका लागि बिउ पनि तयार गरिसकेका छौ । नेपालमा कानुनी मान्यता पाउनुपर्यो । राज्यसँग पनि आवश्यक नीति बनाउन पहल गर्न लागिरहेका छौ । अनुसन्धानको प्रक्रियालाई पनि अगाडी बढाउने र खेती गर्नका लागि भने सम्बन्धि निकायमा यस विषयमा कुरा गरिरहेका छौ’, उनले सुनाए ।
उनका अनुसार नेपाल च्याउ खेतीमा आत्मनिर्भर बनेको छ । उनी भन्छन्, ‘नेपालमा आवश्यकता अनुसार जति पनि च्याउको खेती गर्न सक्छौ । तर नेपालमा उत्पादन लागत मुल्यमा भन्दा कम मुल्यमा भारत लगायत अन्य देशरुबाट च्याउ आयात हुने भएकाले हामीलाई बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छ ।’
‘भारतको तुलनामा नेपालमा च्याउको उत्पादन लागत महंगो हुने गर्छ । जसले गर्दा आयातित च्याउहरुसँग नेपालमा उत्पादित च्याउहरुले प्रतिस्पर्धा गर्न सक्दैन । लागत मुल्य अनुसार नेपालमा च्याउको बिक्री वितरण हुने हो,भने हामी च्याउमा आत्मनिर्भर छौ भन्न सक्छौ’, वाडेले भने ।
उनका अनुसार अरु तरकारीको तुलनामा केही च्याउहरु पनि कोल्डस्टोर गरेर पनि राख्न सकिन्छ । इटाली च्याउ १५ दिनसम्म कोल्ड स्टोर गर्न सकिन्छ भने केही च्याउहरु ३० दिनसम्म पनि कोल्ड स्टोर गर्न सकिन्छ । तर लामो समयसम्म राख्न नमिल्ने च्याउ टिप्ने बित्तिकै बजारमा पुर्याउने गरिन्छ ।
सरकारले कृषि खेतीलाई प्राथमिकतामा राखे पनि सरकारको प्राथमितामा च्याउ खेती नपरेको उनको गुनासो छ । उनी भन्छन्, ‘नेपालमा च्याउ खेतीमा सरकारको नजर पुग्न सकेको छैन । खर्बाै रुपैयाँ लगानीको च्याउ खेतीका कारण नेपालीहरु आत्मनिर्भर छन् । तर अहिलेसम्म पनि च्याउ खेतीका लागि सरकारको कुनै पनि नीति नियम भने बनाएको छैन । यो क्षेत्रलाई हुर्ने कुनै निकाय नभएसम्म सरकारको हेर्ने दृष्टिकोण पनि फरक देखिन्छ ।’
‘निजी क्षेत्रका सामान्य किसानहरुले नाफा र घाटा सबै व्यहोरेर च्याउ खेती गरेका छन् । च्याउ खेतीमा निजी क्षेत्रको ठुलो योगदान रहेको छ । तर सरकारको ध्यान पुग्न सकेको छैन । अहिले अनुदानको विषयमा स्वाथ्य बालीबाट च्याउलाई हटाएको छ’, उनले थपे ।
उनका अनुसार गत वर्षको तथ्याङक हेर्दा उपत्यका भित्र र बाहिर गरी १८ हजार मानिसहरु च्याउ खेतीमा आवद्ध रहेका छन् । उक्त क्षेत्रमा काम गर्ने कामदारहरु समेत गर्दा १ लाखभन्दा बढी मानिसहरुको संलग्न रहेका छन ।