काठमाडौं । गणतन्त्र घोषणा भएको १३ वर्ष बित्न लाग्दा पनि गणतन्त्र स्तम्भको निर्माण भने अझै अन्योलमा छ । २०६५ जेठ १५ गते नेपाल सघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएकोमा सरकारले गणतन्त्रको प्रतीक स्वरूप स्तम्भ निर्माण गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्बाट २०६६, २०६७ र २०६९ मा गरी तीन पटक निर्णय गरेर दुई जना प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईले शिलान्यास गरेका स्तम्भ सरकारको प्राथमिकतामा परेको देखिन्छ तर निर्माण कहिले हुन्छ भन्नेमा चाहिँ स्तम्भ निर्माणको जिम्मेवारी पाएका सहरी विकास मन्त्रालयका अधिकारी नै अनभिज्ञ छन् । यसको अर्थ प्राथमिकता खस्केको भन्ने पनि हो ।
पहिलो पटक २०६६ जेठ ११ गतेको मन्त्रिपरिषद् बैठकले गणतन्त्र स्तम्भ स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री नेपालले राजधानीको रत्नपार्कमा सो स्तम्भ निर्माणका लागि शिलान्यास गरेका थिए । त्यसपछि २०६७ असार २ गतेको मन्त्रिपरिषद् निर्णयले रत्नपार्कमा सो स्तम्भको निर्माण साँघुरो हुन्छ भनी ललितपुरको गुँसीगालस्थित यूएन पार्कमा सो स्तम्भ बनाउने निर्णय गरेको थियो ।