शीर्षकहरू

स्टार्टअपको स्पष्ट परिभाषा तय गर्न छलफल

स्टार्टअपको स्पष्ट परिभाषा तय गर्न छलफल

काठमाडौं । नेपालको सन्दर्भमा स्टार्टअप व्यवसायको परिभाषा तय गरी नीति निर्माणमा सहजीकरण गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघअन्तर्गतको स्टार्टअप अभियान समितिले छलफल कार्यक्रम आयोजना गरेको छ ।

 सरकारले स्टार्टअप व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चलान गर्न लागे पनि यसको अहिलेसम्म स्पष्ट परिभाषासहित कार्यविधि तयार भएको छैन । नीति तर्जुमामा सहयोग पु¥याउने उद्देश्यले परिसंघले छलफल कार्यक्रम आयोजना गरेको हो । 

सरकारले गत वर्षदेखि नै बजेटमा स्टार्टअपको प्रवद्र्धनका लागि बीऊ पुँजी उपलब्ध गराउने घोषणा गरेको छ । तर कार्यविधि नबन्दा अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयन गरी नवीन सोच भएका युवा उद्यमीको प्रवद्र्धन गर्नुपर्नेमा परिसंघको जोड रहेको छ । 

छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले नवीन सोचको प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताए । उनले नवीन सोच र प्रविधिको प्रयोग गरी अघि बढ्ने यस्ता व्यवसायका लागि आवश्यक सहुलियत र सुविधा दिने विषयमा उदार भएर सोच्नुपर्नेमा पनि जोड दिए ।
 
‘कतिपय अवस्थामा हाम्रो बुझाइमा समस्या हुन सक्छ, स्टार्टअपलाई कसरी परिभाषित गर्ने भन्ने सम्बन्धमा पनि फरक सोच हुन सक्छ,’ उनले भने, ‘तपाईंहरू, जो व्यवसायमा नै संलग्न हुनुहुन्छ, अझै फराकिलो हिसाबले सोच्नुस् । सबै व्यवसाय समेट्ने गरी परिभाषित गर्नेतर्फ सोच राख्नुस् ।’

यसैगरी नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरिले स्टार्टअप व्यवसायको प्रवद्र्धनको विषयमा सरकारले खुला सोच राख्नुपर्ने बताए । ‘नियन्त्रणमुखी सोचले स्टार्टअप व्यवसायको प्रवद्र्धन हुन सक्दैन, खुला सोच राखेर उनीहरूको प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने । यसैगरी अर्थ मन्त्रालयका उपसचिव गगनबहादुर बिकले निजी क्षेत्रबाट प्राप्त हुने सुझावले नीति तर्जुमामा सहयोग गर्ने उल्लेख गरे ।
 
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले औद्योगिक वातावरण निर्माण गर्नुका साथै उद्यमशीलता प्रवद्र्धनको उद्देश्य राखेर काम गरिरहेको जानकारी गराए । उनले स्टार्टअपको प्रवद्र्धनका लागि नीति निर्मातासँग निरन्तर संवाद गरी उद्यमशीलता विकास गर्न पहल गर्ने पनि उल्लेख गरे । अध्यक्ष अग्रवालले व्यवसाय सुरु गर्नुभन्दा व्यवसायको निरन्तरता चुनौतिपूर्ण हुने भन्दै स्टार्टअप व्यवसाय सुरु गर्ने उद्यमीलाई आफ्नो व्यवसायमा निरन्तर सक्रिय रहने गरी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए । 

‘उद्यमशीलता प्रवद्र्धनका लागि अनुकूल वातावरण सिर्जना हुनुपर्छ,’ उनले भने, ‘अहिले धेरै नेपाली युवाले विदेशमा अध्ययन गरिरहेका छन् । उनीहरूलाई आकर्षित गर्ने वातावरण तयार हुनुपर्छ । उनीहरूको सोचलाई परिपक्व बनाउन सहज तरिकाबाट बीऊ पुँजी उपलब्ध गराइनुपर्छ ।’

परिसंघका उपाध्यक्ष रोहित गुप्ताले स्टार्टअप व्यवसायको प्रवद्र्धन नेपाली समाजको आवश्यकता भएको उल्लेख गरे । परिसंघले यसलाई अभियानकै रूपमा अघि बढाएर सबैसँग सहकार्य गर्ने  बताए । 
 
परिसंघअन्तर्गतको स्टार्टअप अभियान समितिकी सभापति आयुषी केसीले नेपालमा स्टार्टअप व्यवसायका सन्दर्भमा स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताउनुभयो । उहाँले छलफलका क्रममा प्राप्त सुझाव सरकारसमक्ष प्रस्तुत गर्ने पनि जानकारी गराए ।
 
कार्यक्रममा नवीन सोच र प्रविधि प्रयोग गरी व्यवसाय गरिरहनु भएका २५ जना व्यवसायीहरूले स्टार्टअपको अवधारणामा स्पष्टता आवश्यक रहेको सुझाव दिए । उनहरूले साना व्यवसाय र स्टार्टअपलाई एउटै हिसाबले बुझ्ने गरिएको भन्दै त्यसमा फरक छुट्टिने गरी परिभाषित गर्न सरकारलाई सुझाव दिए । यसैगरी स्टार्टअप व्यवसायको नियमनमा प्रष्टता हुनुपर्ने, सरल वित्तीय पहुँच हुनुपर्ने, स्टार्टअप व्यवसायका चरणहरूबारे स्पष्ट हुनुपर्ने र नीतिगत सुविधा हुनुपर्नेमा उहाँहरूको जोड छ । 

नेपालमा कम्पनी दर्ताबाट नै समस्या सुरु हुने भन्दै उहाँहरूले युवाहरूलाई प्रोत्साहन गर्न झन्झटरहित कार्यसम्पादनको वातावरण बनाउनुपर्ने उल्लेख गरे । समितिले छलफलमा प्राप्त सुझावका आधारमा राष्ट्रिय योजना आयोगलाई आफ्ना सुझाव प्रस्तुत गर्नेछ ।