शीर्षकहरू

नेपाल–पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको जोड

नेपाल–पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि राजदुत शेद हैदर शाह समक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजिकरणका लागि काठमाडौं कराँचीबीच सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा चेम्बरले जोड दिएको हो । 

नेपालका लागि पाकिस्तानी राजदुत साहसंग चेम्बर भवन जमलमा सोमबार भएको भेटवार्तामा अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदान प्रदान एवं अन्य आर्थिक गतिविधी विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।  

हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र नीजि क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदुत शाहसंग आग्रह गरे । अध्यक्ष मल्लले भने, ‘नेपाल र पाकिस्तानबीच हवाई दुरी जम्मा तीन घण्टाको छ । यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि गर्न सकिन्छ । पर्यटन विस्तार गर्न सकिन्छ । सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधी वढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन् ।’

नेपाल चेम्बर अफ कमर्स र पाकिस्तान चेम्बर अफ कमर्सबीच थुप्रै क्षेत्रमा व्यापारिक सहकार्यको सम्भावना रहेकाले उच्चस्तरीय भेटवार्ताका लागि आफुहरु तयार रहेको अध्यक्ष मल्लले बताए । निजी क्षेत्रबीचको सहकार्य मार्फत, हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा लगानी बढाएर दुवै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको अध्यक्ष मल्लले बताए ।  

पाकिस्ताबाट नेपालले अहिले छोकडा, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी बस्तु, जुत्ता, चप्पल लगायतका वस्तु आयत गर्दै आएको भने मह, कफि, चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, उनी धागो लगायतका वस्तु निर्यात गर्ने गरेको छ ।

नेपालले पाकिस्तानबाट वार्षिक १ अर्व १४ करोड १९ लाख रुपैयाँ बराबरको बस्तु आयत गर्ने गरेको छ भने निर्यात १० करोड ४ लाख  रुपैयाँ बराबर गर्ने गरेको छ । काठमाडौं कराँचीबीच सिधा हवाई सेवा सञ्चालन गर्न सकिए व्यापार सहजीकरण हुने र व्यापार घाटा पनि कम गर्न सकिने अध्यक्ष मल्लले बताए । यस्तै पर्यटन गतिविधी वढाउन पनि सहज हुने अध्यक्ष मल्लको विश्वास छ । 

छलफल कार्यक्रममा चेम्बरका पदाधिकारीहरुले सार्क सदस्य राष्ट्रभएर पनि नेपाल पाकिस्तानबीच व्यापार गतिविधी वढ्न नसकेको बताएका थिए । हवाई सेवा नियमित गर्न सकिए दुवै देशले महत्वपुर्ण आर्थिक लाभ लिन सक्ने उनिहरुको भनाई छ ।  

नेपालका लागि पाकिस्तानी राजदुत शाहाले हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताए । नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाईदा हुनेगरि आर्थिक सम्भावनाका क्षेत्रहरुको पहिचान गर्नुपर्नेमा जोड दिए । यसका लागि प्राथमिकताका क्षेत्रहरु पहिचान हुनुपर्ने शाहाको भनाई छ । दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधी विस्तारका लागि आफुले पहल गर्ने राजदुत शाहाले प्रतिवद्धता जनाए ।