शीर्षकहरू

माण्डु हाइड्रोमा  करिब ९ करोडको क्षति

माण्डु हाइड्रोमा  करिब ९ करोडको क्षति

हेटौंडा , मकवानपुरको भीमफेदी–८, कोगटे दोभानमा रहेको माण्डु हाइड्रोलाई बाढीले ६ करोडभन्दा बढीको क्षति भएको छ । साथै विद्युत् उत्पादन नहुँदा करिब तीन करोड रुपैयाँ घाटा लागिसकेको छ । २२ मेगावाटको माण्डु हाइड्रोमा उत्पादित बिजुली कुलेखानी पहिलोमार्फत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।
    बाढीका कारण उद्योगको सिलटिङ बेसिनको इनलेट गेटमा क्षति पुगेको छ भने पावरहाउसतर्फ पेनस्टक पाइप पुरेको माटो बगाएर ढलानमा क्षति भएको छ । बागमती खोलाको बाढीले जलविद्युत् गृहको टेलरेसमा ढुंगा, गिट्टी, बालुवा र माटोले भरिएकाले उद्योगलाई क्षति भएको हाइड्रोका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिए ।
    बाढीका कारण खहरे आएर पावरहाउसको सिलटिङ बेसिनमा गिट्टी, बालुवा, माटो पुरेर क्षति भएको हो । असार २३ गतेबाट परेको पानीका कारण २४ गते राति दक्षिणतर्फको खहरे खोलाको पानी निकास हुने ठाउँमा क्षति भएको थियो ।
    माण्डु नेपाली लगानीकर्ताको ५१ प्रतिशत र चिनियाँको ४९ प्रतिशत गरी ४ अर्ब २५ करोड संयुक्त लगानीमा निर्मित जलविद्युत् योजना हो ।