शीर्षकहरू

गैरआवासीय नेपालीलाई चुनावको रन्को

गैरआवासीय नेपालीलाई चुनावको रन्को

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन नजिकिँदै गर्दा राष्ट्रिय समन्वय परिषद (एनसिसी) को अधिवेशनमा तीब्रता आएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को आगामी असोज २६ देखि २९ गतेसम्म काठमाडौंमा नवौं महाधिवेशन हुँदैछ । आईसीसीको सम्मेलनअघि सम्पन्न गर्नुपर्ने एनसिसीको अधिवेशन र चुनाव यतिखेर धमाधम भइरहेको छ । ८० वटा एनसिसी रहेको एनआरएनएको अधिवेशन विश्वभर तीब्र गतिमा भइरहेको छ ।

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था एनआरएनएले हरेक दुई वर्षमा अधिवेशन गर्दै आएको छ । विधानतः दुई/दुई वर्षमा अधिवेशनमार्फत् नेतृत्व चयन गर्ने प्रक्रिया छ । सोही प्रक्रिया अनुसार एनआरएनएका विश्वभर रहेका एनसिसीहरुले अधिवेशन र चुनावमार्फत नेतृत्व चयन गरिरहेका छन् । एनआरएनए आईसिसीले तोकेको अक्टोबरको सम्मेलन अगावै सम्पूर्ण एनसिसीको अधिवेशन तथा नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने प्रावधान छ।

एनआरएनएको सबैभन्दा ठूलो अर्थात् धेरै पञ्जीकृत सदस्यता रहेको अष्ट्रेलियाले आफ्नो अधिवेशनसँगै नयाँ नेतृत्व चयन गरिसकेको छ । केहि दिन अघिमात्र अष्ट्रेलियाले नयाँ नेतृत्व चयन गरेको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचित भएका छन् । अष्ट्रेलियामा एनआरएनएका पञ्जीकृत सदस्यता संख्या ११ हजार ६ सय १७ छन् । यसपटक अमेरिकालाई उछिन्दै अष्ट्रेलिया सबैभन्दा ठूलो एनसिसी बनेको छ ।

अष्ट्रेलियापछिको दोस्रो ठूलो एनसिसी अमेरिकाले पनि अधिवेशन र निर्वाचन सम्पन्न गरिसकेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा सुनिल साह निर्वाचित भएका छन् । साहको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिले पदभार समेत सम्हालिसकेको छ ।

अमेरिकापछिको ठूलो मानिने एनआरएनएको पहिलो एनसिसीको रुपमा चिनिएको यूकेले नयाँ सदस्यता आह्वान अझै जारी राखेको छ । एनआरएन यूकेको अधिवेशन आगामी अगष्ट १० मा गर्ने निर्णय भइसकेको छ । यथापी अहिले सदस्यता अभियान जारी रहेकाले अमेरिका र अष्ट्रेलियासँग दाँज्न मिल्ने अवस्था छैन । एनआरएन यूके भने यतिखेर चुनावी माहौलमै छ ।

एनसिसी अष्ट्रेलिया, अमेरिका र यूकेलाई निकै अर्थपूर्ण र निर्वाचनको हिसाबले समेत महत्वपूर्ण एनसिसी मानिन्छ । आईसिसीमा हुने निर्वाचनमा यहाँबाट आउने आइसिसी सदस्यको महत्वपूर्ण हात हुने गर्छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् युगान्डाको अधिवेशन सम्पन्न भइसकेको छ । युगान्डामा विनोद थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । गैरआवासीय नेपाली सोसल क्लब एनआरएनए एनसीसी ओमानको पाँचौं अधिवेशन पनि सम्पन्न भएको छ ।

ओमानमा क्याप्टेन सेवन्त पुर्जा पुनको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । एनआरएनका विभिन्न अन्य एनसिसीले पनि अधिवेशन मिती घोषणा गर्दै तयारी गरिरहेका छन् । एनआरएनए क्यानाडाको १० औं अधिवेशन अगष्ट १७ तारिखमा गर्ने निर्णयअनुरुप नयाँ सदस्यता खुला गरिएको छ ।

मध्यपूर्वका कतार, दुवई, कुवेत, साउदी अरवलगायतका एनसिसीले पनि अधिवेशन र चुनावमा जुटिरहेका छन् । एनआरएनए कतारको अधिवेशन तथा नयाँ नेतृत्व चयनको निर्वाचन साउन २३ गते हुँदैछ । एनआरएनए युएईको १६ अगष्टमा हुँदैछ भने कुवेतको छैटौ अधिवेशन आगामी जुलाई २६ मा गर्ने गर्ने निर्णय भएको छ ।

यता अफ्रिका क्षेत्रमा युगान्डाको अधिवेशन सम्पन्न भएसँगै यतिखेर नाइजेरिया अधिवेशनको तयारीमा जुटेको छ । नाइजेरियाको सातौं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अन्य सक्रिय एनसिसीले पनि अधिवेशनको तयारी गरिहेका छन् ।
एनआरएन एसिया प्यासिफिकको भर्खरै क्षेत्रीय बैठक सम्पन्न भएको छ । क्षेत्रीय बैठकअघि हालसम्म यो क्षेत्रमा कसैले पनि एनसिसीको अधिवेशन तथा निर्वाचन गरेका छैनन् ।

एसिया प्यासिकभित्र गैरआवासीय नेपाली संघ हङकङको सातौं अधिवेशन जुलाई २८ मा गर्ने घोषणा गरिएको छ भने कोरियाको सातौ अधिवेशन सेक्टेम्बरमा गर्न लागिको छ । एनआरएनए जापानको नवौं अधिवेशन अगष्टमा गर्ने घोषणा गरिए पनि मिति भने तोकिएको छैन । चीन, मकाउ, मलेसियालगायतका एनसिसी पनि अधिवेशनको तयारीमा लागेका छन् ।

यता यूरोप क्षेत्रमा पनि क्षेत्रीय स्तरको बैठकलगत्तै एनसिसीको अधिवेशन र निर्वाचन कार्यक्रम राखिएको छ । आगामी अगष्ट ३ र ४ तारिखको दिन इटालीको रोममा क्षेत्रीय सम्मेलन आयोजना गर्न लागिएको छ । सम्मेलन अगावै अहिलेसम्म नर्वेको अधिवेशन सम्पन्न भएपनि नयाँ नेतृत्व भने चयन भएको छैन ।