शीर्षकहरू

सोमवार कुल कारोबारमा जलविद्युत समूहको ३६.४० प्रतिशत हिस्सा

सोमवार कुल कारोबारमा जलविद्युत समूहको ३६.४० प्रतिशत हिस्सा

काठमाडौं । धितोपत्र दोस्रो बजारमा जलविद्युत समूहको शेयरप्रतिनै पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ । कम मूल्यका यी समूहका कम्पनीहरुको शेयर खरिदमा लगानीकर्ताहरुको उच्च सक्रिएता देखिएको हो । 

सोमवारकै कारोबारको अवस्थालाई हेर्दा समूहगत परिसूचक पनि जलविद्युतकै सर्वाधिक बढेको छ भने कारोबार रकम पनि सर्वाधिक रहेको छ । १ दशमलव ६१ प्रतिशत परिसूचक बढ्दा जलविद्युत समूह अन्तर्गतको मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन सर्वाधिक मूल्य बढ्ने दश धितोपत्रभित्र ६ जलविद्युत कम्पनीहरुकै धितोपत्र परेको छ । 

कारोबारमा आएका १३ समूहमध्य सोमवार जलविद्युत समूहको सर्वाधिक  २ अर्ब ८७ करोड ६५ लाख ९३ हजार बराबरको ५६ लाख ६ हजार १८१ कित्ता शेयर कारोबार भएको छ । यस दिन सर्वाधिक रकमको शेयर कारोबार यसै समूह अन्तर्गतको अरुण भ्याली हाइड्रोपावरको भएको छ । 

सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीहरुमध्य पाँच जलविद्युत कम्पनीहरु रहेका छन् । पछिल्लो समय जलविद्युत कम्पनीहरुले आकर्षक लाभांशसँगै हकप्रद शेयर निष्कासनमा पनि जोड दिएकाले यो क्षेत्रको शेयर  खरिदमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । 

यस वर्ष वार्षिक साधारण सभा सम्पन्न गरिसकेका धेरै जसो जलविद्युत कम्पनीहरुले लाभांशसँगै हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि पारित गरिसकेका छन् । यसर्थ उक्त हकप्रद शेयर प्रकृयामा जान साथ शेयरमूल्यमा गति लिने विश्वासले पनि यो क्षेत्रका कम्पनीहरुको शेयर खरिदमा लगानीकर्ता सक्रिय भएको जानकारहरु बताउँछन् ।