शीर्षकहरू

१० दिने पर्यटन काज बिदा अविलम्ब लागू गर्न होटल संघको माग

१० दिने पर्यटन काज बिदा अविलम्ब लागू गर्न होटल संघको माग

काठमाडौं । होटल संघ नेपालले  नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन पहल गर्न माग गरेको छ । संघको कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको भेटमा यस्तो माग गरेका हुन । उक्त  अवसरमा विशेष गरी कोभिड–१९ बाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको पुनरुत्थानका लागि महत्वपूर्ण भूमिका खेल्न विभागलाई आग्रह गरेको छ  ।

त्यस्तै, वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिन बाध्यकारी बनाइने गरी नियम लागू भएको प्रति संघले आपत्ति जनाएको छ । पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटलहरुलाई सान्दर्भिक नदेखिएकोले यो परिस्थितिमा यस प्रकारको नियम हटाउन माग समेत गरेको छ ।

 त्यस्तै, पर्यटन उद्योगलाई सहज र सरल बनाई प्राथमिकताको उद्योग बनाउन दर्ता कर, शूल्क, नविकरण आदिको लागि झन्झटिलो प्रक्रिया रहेको हुँदा यसलाई पर्यटनको तालुकदार निकाय पर्यटन विभागमार्फत गरिन सके दिगो पर्यटनलाई टेवा मिल्ने संघले आफ्नो मागपत्रमा उल्लेख गरेको छ । 

पर्यटन तथा होटल उद्योगका लागि बेला बेलामा संशोधन हुने नियम, कानुन तथा निर्देशिकाहरु सरोकारवाला निकायहरुसँग छलफल तथा समन्वय गरी कार्यान्वयनमा ल्याइँदा फलदायी हुने संघले बताएको छ । पर्यटनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचनाहरु पर्यटन विभागमार्फत सम्बन्धित निकायमा सम्प्रेषण हुँदा आधिकारिकता प्रस्तुत भई कार्यान्वयनमा सहज हुने संघको भनाइ रहेको छ । 

संघकी अध्यक्ष सृजना राणाले आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरु अझै कार्यान्वयनमा आउन नसकेको हुँदा विशेष अभिभावकीय भूमिका निर्वाह गरिदिन समेत माग गरेकी थिइन ।