शीर्षकहरू

महिला उद्यमशीलता र नवप्रवर्तनकारी व्यवसायको प्रवर्द्धन गर्न बेलायती राजदूत तयार

महिला उद्यमशीलता र नवप्रवर्तनकारी व्यवसायको प्रवर्द्धन गर्न बेलायती राजदूत तयार

काठमाडौं ।  नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा महिला उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसायको विकासका लागि सहकार्य गर्न तयार रहेको बताएकी छिन।

नेपाल उद्योग परिसंघअन्तर्गतको वुमन लिडरसिप फोरमले नेपालमा नवप्रवर्तनकारी व्यवसाय र महिला उद्यमशीलता प्रवर्द्धनका विषयमा गरेको छलफल कार्यक्रममा राजदूत पोलिटले नेपालको निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको उल्लेख गरेकी हुन।
 
उनले महिला उद्यमीले अन्य महिलालाई उद्यमशील बनाउन प्रेरित गर्ने भएकाले महिलालाई उद्यमी बन्न अभिप्रेरित गर्नुपर्ने बताइन । महिला उद्यमीले नेपालमा मात्रै नभइ बेलायतमा पनि समस्या व्यहोरिरहेको भन्दै  उनले कोभिड १९ ले थप संकट थपेको उल्लेख गरिन  ।  राजदूत पोलिटले महिला उद्यमी र नवप्रवर्तन व्यवसायको प्रवर्द्धनका लागि मेन्टरसिप आवश्यक पर्ने पनि बताइन । 

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा महिला उद्यमीहरूले सफलतापूर्वक काम गरिरहेको भए पनि उनीहरूमा अझै पनि वित्तीय पहुँचको ठूलो समस्या रहेको बताए। उनले महिलालाई व्यवसायमा जोड्न अझै पनि परिवारकै तहबाट समस्या रहेको पनि उल्लेख गरे। अध्यक्ष अग्रवलालले सरकारले नवप्रवर्तन व्यवसाय प्रवर्द्धनका लागि १ अर्ब रूपैयाँ बराबरको च्यालेन्ज फन्डको व्यवस्था गरेको भए पनि कार्यविधि तयार नभएका कारण कार्यान्वयन नभएको उल्लेख गरे। 

परिसंघ अन्तर्गतको वुनम लिडरसिप फोरमकी सभापति छाँया शर्माले नेपालमा गरिबी उन्मूनलका लागि महिला सशक्तिकरण आवश्यक रहेको उल्लेख गरिन । सभापति शर्माले परिसंघले नेपालमा महिला उद्यमीको विकास र सशक्तिकरणका लागि परिसंघले काम गरिरहेको जानकारी पनि गराइन।