शीर्षकहरू

राधी विद्युतले पनि १० प्रतिशत लाभांश दिने भयो

राधी विद्युतले पनि १० प्रतिशत लाभांश दिने भयो

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको वार्षिकको नाफाबाट १० प्रतिशत लाभांश दिने भएको छ । आइतबार १३ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १० प्रतिशत लाभांश दिने निर्णय गरको हो  । कम्पनीले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

गत वर्षपनि कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीको चुक्तापूँजी  ४५ करोड १० लाख ४ हजार रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस यहि पूँजीको आधारमा वितरण गर्न लागेको हो । 

यस आर्थिक वर्षको ९ महिनासम्मको वित्तीय विवरण अनुसार कम्पनीले  ११ करोड ४५ लाख ७७ हजार रुपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको छ । कम्पनीले लमजुङ जिल्लामा ४ दशमलव ४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सन्तोषजनक रुपमा संचालन गरिरहेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ के.भि प्रशारण लाइनमा जडान गरिएको छ । 

कम्पनीले ११ मेगावाट तल्लो खारे जलविद्युत आयोजना, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडद्धारा प्रवद्धित १२ मेगावाटको दोर्दी—१ जलविद्युत आयोजना, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडद्धारा प्रवद्धित ५ मेगावाटको रुकुम गाड जलविद्युत आयोजनामा पूँजी लगानी गरेको छ । साथै , कसुवा खोला हाइड्रो पावर कम्पनी लिमिटेडद्धारा प्रवद्धित ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने लक्ष्य समेत कम्पनीको छ ।