शीर्षकहरू

प्रविधिमैत्री बन्दै स्थानीय तह

प्रविधिमैत्री बन्दै स्थानीय तह

काठमाडौं । सरकारले तीव्र रूपमा विस्तार गरेको सूचना प्रविधिको विकास र विस्तारसँगै स्थानीय तह क्रमिक रूपमा प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच र विस्तार बढ्दै गएपछि स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले दुर्गम स्थानीय तहमा पनि इन्टरनेटको पहुँच विस्तार भएसँगै अहिले स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएको जनाएको छ । विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले अहिले विभागले २१ वटा स्थानीय तहमा विद्युतीय माध्यमबाट कर भुक्तानी गर्न सकिने व्यवस्था गरेको जानकारी दिए ।  

उनका अनुसार काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिकासहित सुनसरीको इटहरी, मकवानपुरको हेटौँडा, रुपन्देहीको बुटवल उपमहानगरपालिकामा विद्युतीय भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । 

त्यस्तै काभ्रेको धुलिखेल, बनेपा, नमोबुद्ध नगरपालिका, काठमाडौँको कीर्तिपुर, गोकर्णेश्वर नगरपालिका, ललितपुरको गोदावरी, नवलपरासीको कावासोती, मध्यबिन्दु नगरपालिका, रुपन्देहीको तिलोत्तमा, कञ्चनपुरको बेलौरी, बर्दघाट, पुनर्वास, सिराहको धनगढीमाई, सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका र धनकुटाको छथर जोरपाटी गाउँपालिकामा विद्युतीय भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको हो । मोबाइलबाटै विवरण हेर्ने तथा भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राही र करदाताले सम्बन्धित स्थानीय तहबाट उपलब्ध गराएको प्रयोगकर्ता विवरण प्रयोग गर्नुपर्ने श्रेष्ठले बताए ।

“आगामी दिनमा अन्य स्थानीय तहसँग सम्बन्धित विभिन्न करको भुक्तानीका साथै अन्य सेवासमेत थप गर्न सकिने गरी विभागले काम तीव्र पारेको छ”, उनले भने, “सूचना र प्रविधिको विकासले स्थानीय तहमा सुशासन कायम गर्नसमेत थप सहज भएको छ ।” सूचना र प्रविधिको विकासले दुर्गम गाउँका बासिन्दाको स्थानीय तहमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकासलगायतका क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका साथै पहुँच वृद्धि भएको छ ।