शीर्षकहरू

आयात-निर्यात व्यवसायीलाई खुसीको खबर, तीन महिनामा सुरु हुँदै छ सुक्खा बन्दरगाहबाट सेवा

आयात-निर्यात व्यवसायीलाई खुसीको खबर, तीन महिनामा सुरु हुँदै छ सुक्खा बन्दरगाहबाट सेवा

काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । कोरोना महामारीको समयमा पनि भौतिक निमार्णको काम नरोकिएको कारण अबको ३ महिनामा बन्दरगाह सञ्चालनको तयारीमा रहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताएका छन् । 

गजुरेलले हालसम्म परियोजनामा भौतिक निमार्णको काम सकिएको बताए । ‘वैशाख १५ अघि ५५ प्रतिशत हाराहारीमा मात्र काम सम्पन्न रहेको आयोजनाको भौतिक प्रगति निषेधाज्ञाकै बिचमा ३५ प्रतिशतले बढेको छ, अब ३ महिना भित्र सञ्चालन गर्न सकिने गरी अन्तिम चरणका सानातिना कामहरू गर्दैछौं,’ कार्यकारी निर्देशक गजुरेलले भने । 

हालसम्म बन्दरगाहको ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा चेकजाँच गर्ने भवन, पार्किङ लगायतका भौतिक निमार्ण सम्पन्न भएको उनले जानकारी दिए । त्यस्तै, भन्सारको पूर्वाधार, क्वारेन्टिन र प्रशासनिक भवनको निर्माण पनि सकिएको छ। तीनमध्ये दुई वटा गेट पनि बनिसकेका छन् । ट्रकको तौल जोख्ने मेशिन पनि जडान सकिएको उनको भनाइ छ । 

अहिलेसम्म निर्माण सकिएका भौतिक पूर्वाधारले मात्रै पनि बन्दरगाह सञ्चालन हुनसक्ने उनले जानकारी दिए। ‘हाल बन्दरगाहको ठुलो भौतिक संरचनामा फिनिसिङ र साना पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ, अहिलेको प्रगति हेर्दा भन्सार सञ्चालन गर्न हामीसँग पूर्वाधार पुग्ने अवस्थामा छ,’ कार्यकारी निर्देशक गजुरेलले बताए ।

साना तिना काम बाहेक भौतिक पूर्वाधार निर्माण सकिएसँगै बन्दरगाह सञ्चालन मोडालिटीबारे भन्सार विभागका अधिकारीहरूसँग छलफल अघि बढेको उनले बताए । कार्यकारी निर्देशक गजुरेलका अनुसार सीमा नाकाको भन्सारबाट भित्रिने मालवाहक सवारी साधनलाई काठमाडौँसम्म कसरी पठाउने भन्नेबारे भन्सार विभागसँग छलफल भइरहेको छ ।

काठमाडौं केन्द्रित भएर आउने कन्टेनरलाई बोर्डरमा झन्झटविना अतिरिक्त सिल लगाएर काठमाडौं ल्याउने र यतै भन्सार पास गर्ने मोडालिटीमा अहिले छलफल भइसकेको कार्यकारी निर्देशक गजुरेलले बताए । भन्सार विभाग र इन्टर मोडलको कार्यदलले अहिले सो विषयमा काम गरिरहेको छ ।

काठमाडौ उपत्यकाको लागि आवश्यक सामानको भन्सार क्लियर काठमाडौंबाट नै होस् भन्ने यसको उद्देश्य हो । भैरहवा, वीरगन्ज, विराटनगर जताबाट आए पनि त्यसको क्लियर भने काठमाडौंबाट नै हुने वातावरण बनाइएको उनले बताए । 

यो मोडालिटीमा सुक्खा बन्दरगाह सञ्चालनमा आउँदा तेस्रो मुलुकबाट आउने माल वस्तुको भन्सार जाँच पास सिधै काठमाडौं मै हुनेछ भने सीमा क्षेत्रका भन्सारमा हुने जाम तथा अन्य खर्चबाट व्यवसायीले उन्मुक्ति पाउने विश्वास गरिएको छ । सुक्खा बन्दरगाहको लागि १ अर्ब ८० करोड रुपैयाँ खर्च लाग्ने समितिले जनाएको छ । त्यसमध्ये हालसम्म ८१ प्रतिशत खर्च भइसकेको छ ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माणाधीन आयोजना १८ महिनामा सम्पन्न गर्ने गरी २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो । तर, वातावरण प्रदूषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयले गरेको अवरोधले ८ महिना पछि मात्रै आयोजनाको शिलान्यास भएको थियो । 

स्थानीयको अवरोध र कोभिडलाई कारण देखाउँदै १३ महिना व्यर्थमा समय गुजारेको आयोजनालाई काम सम्पन्न गर्न असार मसान्तसम्म अन्तिम पटक म्याद थप गरिएको थियो । अब भने निर्माणको ढिलाइले काम नरोकिने अवस्था बनेको हो। 

यो बन्दरगाह तयार भएपछि काठमाडौं मै भन्सार जाँच पासको काम सुरु हुनेछ । सो सुख्खा बन्दरगाह मै अध्यागमन, भन्सार, बैङ्क तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका अत्याधुनिक कार्यालय रहनेछन् । बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाउन लागिएको हो । 

यो बनेपछि सामान आयात–निर्यातमा सहज हुने कार्यकारी निर्देशक गजुरेल बताउँछन् । यहाँ चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधिसहितको बन्दरगाह निर्माण भएको छ। कोलकाता, विशाखापटनम र चीनको समुन्द्री बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनर सिधै यहाँ आएर जाँच पास गर्न सकिने व्यवस्था गर्न लागिएको हो । यसका लागि सीमा नाकामा प्रवेश गरेपछि कन्टेनरमा सरकारले विशेष ‘ताल्चा’ लगाउनेछ ।