शीर्षकहरू

काठमाडौं प्लाजा नेपाल ट्रष्टलाई घाँडो, जताततै मुद्दाको खात

काठमाडौं प्लाजा नेपाल ट्रष्टलाई घाँडो, जताततै मुद्दाको खात

काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजाको भाडा विवाद नेपाल ट्रष्टलाई निकै महँगो साबित भएको छ। कन्सेप्ट डेभलपर्सले २७ वर्षदेखि सो भवन लिजमा लिएर सञ्चालन गर्दै आएकोमा २०७७ असार २ गते देखि उसको लिज अवधि सकिएको थियो । तर, ट्रष्टले भाडामा लाउन भने पाएको छैन। 

कन्सेप्ट डेभलपर्सको लिज अवधि सकिएपछि मन्त्रिपरिषद्को बैठकले सो भवन काठमाडौँ महानगरपालिकालाई भाडामा दिने निर्णय गरेको थियो । सुरुको पाँच वर्षसम्म मासिक ६० लाख ५० हजार तथा त्यसपछि हरेक वर्ष १० प्रतिशतका दरले भाडा बढाउने गरी भाडामा दिने निर्णय भए पनि यो विषय अदालतमा पुगेपछि अन्तरिम आदेशद्वारा निर्णय कार्यान्वयनमा रोक लागेको छ। 

त्यसो त अटेर गरी बसेका पसल तथा कार्यालयलाई सम्झौता अवधि सकिएको झन्डै ९ महिनापछि कन्सेप्ट डेभलेपमेन्ट प्रालिले काठमाडौं प्लाजाबाट अधिकांश पसल हटाएको छ । तर, नेपाल ट्रस्टको सम्पत्ति रहेको काठमाडौं प्लाजा काठमाडौं महानगरपालिकालाई  लिजमा दिने प्रक्रिया सर्वोच्च र उच्च अदालतले रोकेको हो । 

यसबाहेक चितवनमा भाडामा दिएको भवन तथा जग्गाको पनि पैसा ट्रष्टको कोषमा आएको छैन। त्यहाँ पनि विवाद मुद्दामा गएको छ । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेकोले स्वीकृत विना गर्न दिएको छैन । त्यस्तै पोखराको होटेल पनि भाडामा दिएकोमा त्यो पनि मुद्दामा गएको छ । त्यहाँ ट्रष्टले पनि भाडा नपाएको भनी मुद्दा हालेको हो। 

कोषमा जम्मा भो झन्डै २ अर्व 

यति हुँदाहुँदै पनि नेपाल ट्रष्टको कोषमा २०७७/०७८ को अन्त्यसम्ममा झन्डै २ अर्ब रकम जम्मा भएको छ । २०७८ असारसम्ममा नेपाल ट्रष्टको कोषमा १ अर्ब १ करोड ८३ लाख ९८ हजार ८ सय २८ रुपैयाँ जम्मा भएको छ । कोषमा अघिल्लो आर्थिक वर्षमा मात्र १४ करोड ९४ लाख ४३ हजार ३०१ रुपैयाँ थप भएको हो। 

यो रकम घर भाडा र लिज, शेयर लाभांश, वैदेशिक मुद्रा निक्षेपबाट प्राप्त ब्याजबाट कोषमा प्राप्त आम्दानी भएको नेपाल ट्रष्ट कार्यालयले जानकारी दिएको छ  । जसमा घर भाडा र लिजको आम्दानी ८ करोड ७२ लाख १ हजार ३८० रुपैयाँ , बैंक ब्याज ६ करोड ९० लाख ६५ हजार ३६१ रुपैयाँ, शेयर लाभांश आम्दानी १० लाख ५१ हजार १३१ रुपैयाँ र वैदेशिक मुद्रा (स्ट्रलिङ पाउण्ड) निक्षेपबाट ब्याज प्राप्त ५०८ स्ट्रलिङ पाउण्ड, वैदेशिक मुद्रा (अमेरिकी डलर) मा ब्याज प्राप्त ३ हजार ७७२ डलर कोषमा थपिएको हो । 

त्यस्तै चल सम्पत्ति १ लाख ५३ हजार ८८३ अमेरिकी डलर, ५१ हजार २५९ पाउन्ड स्ट्रलिङ रकम बैंकमा मौज्दात छ । नबिल बैंक लिमिटेडमा ७ लाख ९७ हजार २०७ कित्ता, होटेल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता, नेपाल औद्योगिक विकास निगममा ६ हजार ७५० सेयर ट्रष्टको स्वामित्वमा रहेको छ। आ.व. २०७७/७८ मा धरौटी आम्दानी ६ लाख १८ हजार ३२० रुपैयाँ प्राप्त भएको छ । 

ट्रष्टले ६ वटा कम्पनीलाई आफ्नो जग्गा लिजमा दिएको छ भने सरकारी कार्यालय र विद्यालय गरी ४ वटा भवन भाडामा दिइएको छ । गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्ट, लाजिम्पाटस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड रहेका भवन, टेकुस्थित बिजनेस पार्क, दरबारमार्ग स्थित कम्प्लेक्स, ताहाचलस्थित सोल्टी आउटर कम्प्लेक्स, कमलादीस्थित काठमाडौं प्लाजाको भवन लिजमा दिइएको छ। छोटो अवधिको लागि ताहाचल रेडक्रस मार्गस्थित ट्रष्टको स्वामित्वको भवन सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, गरिबी निवारण कोष, वैदेशिक रोजगार विभाग र धनकुटाको चुलीवनस्थित निजामती आवासीय विद्यालयलाई भाडामा दिएको छ ।

यस्तो छ भाडादर 

नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गा छोटो अवधिको भाडामा दिने कार्यविधि, २०७६ बमोजिम ट्रष्टको स्वामित्वको कुनै जग्गा (निर्मित संरचना भए सो समेत) आवश्यकता अनुसार मेला, प्रदर्शनी वा यस्तै अन्य प्रयोजनको लागि कार्यालयले भाडामा दिँदा भाडा रकमको व्यवस्था गरेको छ । जसमा १ देखि ५ रोपनीसम्म धार्मिक एवं सांस्कृतिक प्रयोजनको लागि काठमाडौं उपत्यका भित्र दैनिक दर ३ हजार रुपैयाँ र उपत्यका बाहिर २ हजार रुपैयाँ, सामाजिक क्रियाकलापको लागि काठमाडौं उपत्यका भित्र दैनिक ५ हजार रुपैयाँ र काठमाडौं उपत्यका बाहिर ४ हजार रुपैयाँ र व्यावसायिक मेला प्रदर्शनी काठमाडौं उपत्यका भित्र दैनिक २० हजार रुपैयाँ र काठमाडौं उपत्यका बाहिर १० हजार रुपैयाँ भाडा रकम तोकेको छ । 

त्यस्तै, ६ देखि १० रोपनीसम्म धार्मिक एवं सांस्कृतिक प्रयोजनको लागि काठमाडौं उपत्यका भित्र दैनिक ५ हजार रुपैयाँ र उपत्यका बाहिर ३ हजार रुपैयाँ, सामाजिक क्रियाकलापको लागि काठमाडौं उपत्यका भित्र दैनिक ८ हजार रुपैयाँ र काठमाडौं उपत्यका बाहिर ६ हजार रुपैयाँ, व्यावसायिक मेला प्रदर्शनी काठमाडौं उपत्यका भित्र दैनिक ३० हजार रुपैयाँ र काठमाडौं उपत्यका बाहिर २० हजार रुपैयाँ भाडा रकम तोकेको छ । 

त्यसै गरी, १० देखि २० रोपनीसम्म धार्मिक एवं सांस्कृतिक प्रयोजनको लागि काठमाडौं उपत्यका भित्र दैनिक ८ हजार रुपैयाँ र उपत्यका बाहिर ५ हजार रुपैयाँ, सामाजिक क्रियाकलापको लागि काठमाडौं उपत्यका भित्र दैनिक १५ हजार रुपैयाँ र काठमाडौं उपत्यका बाहिर १२ हजार रुपैयाँ, व्यावसायिक मेला प्रदर्शनी काठमाडौं उपत्यका भित्र दैनिक ४० हजार रुपैयाँ र काठमाडौं उपत्यका बाहिर २५ हजार रुपैयाँ भाडा रकम तोकेको छ । 

 १२ जिल्लामा ट्रष्टको जग्गा 

देशभरका १२ जिल्लामा ट्रष्टको नाममा अचल सम्पत्ति २१ हजार ५६२ रोपनी ४ आना २ पैसा १ दाम जग्गा रहेको छ। धादिङमा सबैभन्दा धेरै ७० प्रतिशत अर्थात् १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम जग्गा रहेको छ । 

त्यस्तै, काठमाडौंमा ४ हजार ४४२ रोपनी ३ दाम, भक्तपुरमा ११३ रोपनी २ आना ३ पैसा, ललितपुरमा ८ रोपनी १० आना ३ पैसा, नुवाकोटमा २४० रोपनी ६ आना जग्गा छ । यसै गरी धनकुटामा १९४ रोपनी, मकवानपुरमा २६ रोपनी १ आना ६ दाम, काभ्रेपलान्चोकमा ९ रोपनी १५ आना ३ पैसा १ दाम, सिन्धुपाल्चोकमा २७ रोपनी १३ आना १ पैसा १ दाम, सुर्खेतमा ४५७ रोपनी ७ आना २ पैसा, कास्कीमा १७४ रोपनी ४ आना २ पैसा, चितवनमा ७६७ रोपनी ११ आना १ पैसा १ दाम जग्गा छ ।

नेपाल ट्रस्ट कार्यालयका सूचना अधिकारी रेवती रमन शर्माले अझै पनि ट्रष्टको सम्पत्तिको खोजी कार्य जारी रहेको बताएका छन्। उनका अनुसार त्यसमा अधिकांश जङ्गल र राष्ट्रिय निकुञ्जहरू रहेका छन् । अबका दिनमा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानी गर्ने दिशामा ट्रस्ट अगाडि बढिरहेको समेत उनले बताए ।