शीर्षकहरू

औषधि नबिक्दा उत्पादक चिन्तित, भन्छन् : कोरोनाले चौपट पार्‍यो

औषधि नबिक्दा उत्पादक चिन्तित, भन्छन् : कोरोनाले चौपट पार्‍यो

काठमाडौं । औषधिको व्यापारमा कोरोना महामारीले नराम्रो असर पुर्‍याएको देखिएको छ । विगत १५ महिना यता जुन मात्रामा म्याद सकिएका औषधीहरू फिर्ता भइरहेका छन्, त्यसले अपेक्षा विपरीत औषधि व्यापार समेत डामाडोल भएको देखाएको हो । 

औषधि उत्पादकहरूका अनुसार अत्यन्तै ठुलो परिमाणमा म्याद गुज्रिएका औषधिहरू कम्पनीमा फिर्ता भइसकेका छन् र यो क्रम जारी छ । महामारीको कारण औषधीको व्यापारमा कमी आएर म्याद सकिएका औषधीहरू साउनको १० गतेसम्म ४ करोड बराबरको औषधी बजारबाट कम्पनीमा फिर्ता आइसकेको काठमाडौँ, थानकोटमा अवस्थित मार्क फरमुलेसन प्रा.ली.का प्रमुख संयोजक अरुण अधिकारीले बताए । 

उनले भने, ‘अझै औषधी फिर्ता आउने क्रम जारी नै छ, गत बर्षहरू भन्दा यो बर्ष बजारबाट बढी औषधी फिर्ता भइरहेको छ ।’ यसरी ठुलो मात्रामा औषधि फिर्ता आउनुमा औषधीको कम खपत प्रमुख कारणका रहेको देखिन्छ। यसबिच कोरोना महामारीले देशका प्राय ठाउँमा लकडाउन र निषेधाज्ञा भयो जसले मानिसहरूको हिँडडुल कम हुँदा बिरामीको सङ्ख्या पनि घट्यो । 

त्यस्तै, रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल फरमुलेसन्स प्रा.ली.का जनरल म्यानेजर दामोदर पोखरेलले पनि गत वर्षको तुलनामा औषधीहरू कम्पनीमा बढी नै फिर्ता भइरहेको जानकारी दिए । बजारलाई हामीले प्राइमरी (थोक बिक्रेता) र सेकेन्डरी (थोक मार्फत खुद्रा बिक्रेता)रूपमा बिक्री गरिरहेका हुन्छौ । अहिले कम्पनीमा प्राइमरीबाट मात्र १५ प्रतिशत औषधीहरू फिर्ता आइसकेको छ । अझै आउने क्रम जारी नै छ। 

खुद्रा बिक्रेताबाट अझै बढी औषधीहरू कम्पनी आउँछ भन्ने अनुमान रहेको पोखरेलले सुनाए । खुद्रा बिक्रेताले त अझ धेरै मात्रामा लगभग २० प्रतिशतको हाराहारीमा औषधी फिर्ता गर्ने सम्भावना छ। उनले भने,"गत वर्ष औषधी कम बिक्री भएको हो तर अहिले जस्तो औषधी फिर्ता आएन । बजारबाट नशाका, भिटामिन, ग्यास्ट्रिक र छाला सम्बन्धी रोग लाग्ने औषधीहरू धेरै फिर्ता भइरहेका छन् ।’ कोभिडको बेला प्रयोग हुने औषधीहरू बजारबाट खासै म्याद सकियो भनेर आएको छैन ।  

अस्पतालहरूमा बहिरङ्ग विभाग (ओपिडी) नचलेका कारणले गर्दा औषधीको बजार ७० प्रतिशत डाउन भएको अवस्था छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले गरेको बन्दाबन्दीयता दीर्घ रोगमा प्रयोग हुने औषधी, प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन बाहेक अन्य औषधिको माग शून्य भएपछि उत्पादक कम्पनीहरू घाटामा गएको औषधी उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीले बताएका छन् ।

कोरोना महामारीका कारण सबै प्रकारका उद्योग धन्धा, व्यापार व्यवसायमा अकल्पनीय घाटा भयो । त्यस्तो नोक्सानीबाट औषधी उत्पादक कम्पनीहरू समेत अछुतो नरहेको अधिकारीले सुनाए । उनले भने, ‘भलै आम मानिसलाई लाग्न सक्छ, यो बेला टन्नै कमाउने भनेका औषधीवाला नै हुन्, तर ७० प्रतिशत घाटामा छौ । त्यसमा झन् बजारबाट म्याद सकिएका औषधी फिर्ता आउने क्रम बढी नै रहेको छ ।’

अहिले दिर्घरोगीका बिरामी र कोरोनाका बिरामीले ३० प्रतिशत व्यवसाय धानेको उनले जानकारी दिए । नेपालका औषधी कम्पनीहरुले ३ सय भन्दा बढी प्रकारका औषधी उत्पादन गर्दै आएका छन् तर कोरोना महामारीमा कोरोना सङ्क्रमितको बिरामीको प्रयोग हुने ५/६ वटा औषधीको मात्र बजारमा माग बढेको छ । तीन सय भन्दा बढी प्रकारका औषधी बनाउने कम्पनीले ५ प्रकारका औषधीको मात्र व्यापार हुँदा कति घाटा भएको होला त्यो अनुमान नै गर्न नसकिने अधिकारी बताउँछन् । 

अहिले बजारमा सामान्यतया प्यारासिटामोल, भिटामिन डी, भिटामिन सी र मल्टी भिटामिन जस्ता औषधी बढी खपत भइरहेको छ । ग्यास्ट्रोलोष्टि राम देव शाह भन्छन्, "कोभिड महामारीको बेला अन्य बिरामी घटेका छन् । सामान्य बिरामी अस्पताल आएनन् , कोभिड र दीर्घ रोगीहरूका बिरामी मात्र अस्पताल आए । बाहिरी वातावरण र प्रदूषणका कारण निम्तिने बिरामी निषेधाज्ञा र लकडाउनका कारण घटेका थिए । औषधीको व्यापार घट्यो ।"

उनका अनुसार त्यसले के बुझाउँछ भने आम मान्छेको स्वास्थ्य अहिले राम्रो रहेको छ । धेरै प्रयोगमा नआएका औषधीहरूको म्याद सकिदा हामीले कम्पनीलाई नै औषधी फिर्ता गर्नु पर्ने अवस्था आउँछ ।