शीर्षकहरू

सौखिनहरू घटे, बिक्न छाड्यो सुन

सौखिनहरू घटे, बिक्न छाड्यो सुन

काठमाडौं । जस्तोसुकै संकटमा पनि आफ्नो मूल्य जोगाएर राखेको मूल्यवान् धातु हो सुन । विगत पाँच हजार वर्षयता मानिसको स्थायी सम्पत्तिको रूपमा स्थापित यो धातुको बहु उपयोग हुँदै आएको छ । जसमध्ये सर्वाधिक उपयोगको स्वरूप हो, गहना । कोरोना महामारीले आम मानिसकै जनजीवनमा गम्भीर असर पार्दा गहनाको रूपमा हुँदै आएको सुनको व्यापार नराम्ररी खस्किएको छ । 

त्यसो त, सुनको गहना किनेर लगाउने भनेको सम्पत्ति भएका सौखिनहरूले नै हो । भलै, नेपाल र समग्र दक्षिण एसियामा नै सुनका गहना बनाउने प्रचलन यति व्यापक छ की अत्यन्तै निम्न आर्थिक अवस्था भएको मानिसले समेत कुनै न कुनै गहना लगाएको हुन्छ ।  

लोकसंस्कृति रीतिरिवाज अनुसार विवाह, व्रतबन्ध र वाध्यात्मक संस्कारमा नभई नहुने बाहेक अन्य सोखिनहरूले सुन नकिनेका कारण सुन व्यवसाय घटेको हो । अहिले सुन किन्न आउने ग्राहक एक प्रतिशत मै झरेको विशाल बजारको रिद्धिसिद्धि ज्वलेर्सका नरेन्द्र गुप्ता बताउँछन् । 

विवाहका लागि सिजन नै मानिने महिना हो, असार । तर यस महिना सुनको व्यापार ५० प्रतिशतले गिरावट आएको गुप्ताले बताए । ‘साउन लागे यता २५ प्रतिशत मात्र सुनको व्यापार भइरहेको छ’ उनले भने, ‘गत वर्षहरूको तुलनामा यस वर्ष सौखिन ग्राहकहरू घटेका छन् । सायद कोरोनाको महामारी सँगै सुनको मूल्य नै महगिंएर हुन सक्छ ।’  

व्यापार घटेको बताउँदै गुप्ता भन्छन्, ‘ग्राहकहरू बेरोजगारी बस्नु पर्ने अवस्थामा भएको बेला गरगहना लगाएर सजिन सक्ने अवस्था छैन । विवाहको सिजन नभएको बेला सोखिनहरूले हाम्रो व्यवसायलाई लेबलमा ल्याएको हुन्थ्यो । तर, अहिले त्यो अवस्था छैन । सुनचाँदी व्यवसाय नराम्ररी थलिएको छ ।’ 

यस वर्ष तीजमा पनि त्यति राम्रो सुनको व्यापारको नहुने गुप्ताको भनाई छ । कोरोनाको तेस्रो लहरको सम्भावनाले अहिलेसम्म कुनै उत्साह उमङ्ग नै नदेखिएकाले व्यापार नहुने गुप्ताले अनुमान गरेका छन् । तर उनी मङ्सिरमा व्यवसाय फस्टाउनेमा भने आसमा छन् । 

यता, भन्सार विभागको तथ्याकं अनुसार २०७७÷७८ मा २७ अर्ब ४८ करोड ६० लाख ७२ हजार रुपैयाँ बराबरको सुनसँग सम्बन्धित साम्रगीहरु आयात भएका छन् । सो अवधिमा सबै भन्दा बढी टर्की, युनाइटेड अरब इमिरेडबाट सुन आयात गरिएको विभागको तथ्याकं उल्लेख गरेको छ । त्यस्तै जर्मनी, हङकङ, भारत लगायतका अन्य देशबाट पनि सुन आयात भएको छ ।  

चुरा पोतेको व्यापारमा पनि कमी 

बजारमा सुनको गरगहनासँगै चुरा, पोतेको व्यापारमा कमी आएको छ । चुरा पोतेको व्यापार धेरै हुने साउन महिनामा पनि यसको व्यापारमा गतको वर्षहरूको तुलना कमी आएको व्यावसायीहरु बताउँछन् । अरू बेला साउन महिनामा महिलाहरूको सबै भन्दा बढी भिडभाड हुने काठमाडौंको इन्द्रचोक र असन बजार यस वर्ष भने सुनसान जस्तै छ । यस पटक कोरोनाका कारण चुरा पोतेको व्यापार हुन नसकेको व्यापारीहरू बताउँछन् । 

लकडाउन खुले पनि कोरोनाको डरले गर्दा मानिस घर मै थुनिन बाध्य भएकाले व्यापार सन्तोषजनक हुन नसकेको राजु लामिछानेले बताए । साउनको पहिलो साता बितिसक्दा पनि गत वर्षको तुलनामा ८ प्रतिशत मात्र चुरा पोतेको व्यापार भएको उनले जानकारी दिए । 

सबैलाई कोभिड विरुद्धको भ्याक्सिन लगाउन सके व्यापार आशा गरे जसो हुने लामिछानेको विश्वास छ । उनी भन्छन्, ‘लकडाउन त खुलेको छ तर त्यति धेरै व्यापार छैन । मान्छे दुई महिना कोठा भित्र बसे कमाइ छैन । फेरी अहिले सुन राखेर पोते बनाउने सिजन होइन ।’ रातो, हरियो र पहेँलो शिवजीको प्रतीक स्वरूप महिलाहरूले लगाउने मात्र हो ।’