शीर्षकहरू

रोजगारीका लागी नेपाल आउँछन् ६८ देशका श्रमिक

रोजगारीका लागी नेपाल आउँछन् ६८ देशका श्रमिक

काठमाडौं । नेपालबाट कामको खोजीमा दैनिक हजारौँ युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । तर, पछिल्लो समय नेपालमा रोजगारीका लागि विदेशी कामदार आउने क्रम पनि बढ्दो छ भन्दा अचम्म लाग्ला । रोजगारीका लागि विगत १० वर्षमा लगभग साढे ६ हजार विदेशी कामदारले नेपालमा श्रम इजाजत लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । 

चालु आर्थिक वर्ष सकिन दुई दिन बाँकी रहँदा असार २८ गतेसम्म मात्रै १ हजार ६८ जनाले विदेशी कामदार श्रम इजाजत लिएर नेपाल काम गर्न आएका छन् । श्रम इजाजत लिएर काम गर्न ६८ देशबाट १ हजार ६८ जना कामदार नेपाल आएको विभागले जानकारी दिएको छ । नेपालमा चीन, भुटान, बङ्गलादेश, फ्रान्स, जर्मनी, अफ्रिका, नर्वे, अमेरिका, भारत, जापान, दक्षिण कोरिया, क्यानडा, मलेसिया, नेदरल्यान्ड लगायत ६८ देशबाट रोजगारीका लागि कामदार आउने गरेका छन् । 

यो अवधिमा सबैभन्दा धेरै चिनियाँ कामदारले श्रम इजाजत लिएका हुन् । विभागका अनुसार ८ सय १२ जना चिनियाँ नागरिकले श्रम इजाजत लिएका मध्ये ७८० जना पुरुष  र ३२ जना महिला  रहेका छन् । यस बाहेक चालु आव मै ९०३ जनाले श्रम इजाजत नवीकरण गरेका छन् । 

यसै वर्ष मात्र २७ जना भारतीय नागरिकले नयाँ श्रम इजाजत लिए भने ४६ जनाले नवीकरण गरेका विभागले जानकारी दिएको छ । त्यस्तै जापान , कोरिया, अस्ट्रेलिया पनि धेरैले श्रम इजाजत लिएका छन् ।  

विभागको तथ्यांक अनुसार गत आव २०७६/०७७ मा मात्रै दुई हजार ५० जना विदेशी कामदार श्रम इजाजत लिएर नेपालमा काम गर्न आएका थिए । तर, आव २०६९/०७० देखि २०७५/०७६ सम्म भने एक हजार ९ सय ८१ जना मात्र आएको तथ्याकंले देखाएको छ । उत्पादन, सेवामूलक, निर्माण र अन्य क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई श्रम इजाजत जारी गरिएको विभागले जनाएको छ । 

चिकित्सक, इन्जिनियर, पाइलट, प्राध्यापक, निर्माण क्षेत्र, वस्तुकला, सूचना प्रविधि लगायत क्षेत्रमा काम गर्न आउने विदेशी कामदारलाई श्रम स्वीकृति जारी गर्ने गरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका सूचना अधिकारी दीपक के.सीले बताए । नेपालमा हावापानी राम्रो भएकाले विदेशी कामदारले कामका लागि आउन रुचाउने गरेका छन् । कम जोखिम, प्राकृतिक वातावरण र सुरक्षाका कारण पनि नेपालको श्रम बजार विदेशी कामदारको आकर्षणमा पर्दै गएको हुन सक्ने उनको अनुमान छ । प्रायः राष्ट्रिय गौरवका ठुला आयोजनामा धेरै विदेशी कामदारले काम गरिरहेको विभागले जनाएको छ । 

इजाजत बिनै काममा छन्, धेरै विदेशी कामदार 

सामान्य कामका लागि नेपाली युवा विदेश गइरहेको अवस्थामा त्यही काम गर्न समेत विदेशी कामदार नेपाल आउने गरेका छन् । मेलम्ची खानेपानी, तामाकोसी, मध्य भोटेकोसी, माथिल्लो मादी, मर्स्याङ्दी, त्रिशूली, चमेलिया जलविद्युत, ठुला सडक आदि निर्माणमा धेरै चिनियाँ, भारतीय, बङ्गलादेशी र भुटानी कामदारले काम गर्न श्रम इजाजत लिएका थिए । 

पछिल्लो समय चीन, भारत, दक्षिण कोरिया लगायतका देशले नेपालमा उद्योग, होटेल, रेस्टुरेन्ट र अन्य आयोजनामा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ । यसरी लगानी गरिएका उद्योग, आयोजना, होटेल–रेस्टुरेन्टमा पनि धेरै विदेशीले नै काम गर्ने गरेका छन् । तर, यसरी काम गर्ने कामदारलाई श्रमको इजाजतको दायरामा ल्याउन नसकिएको विभागको भनाइ छ । श्रम इजाजत नलिईकन भारत लगायतका धेरै कामदारले काम गरिरहेको विभागको बुझाइ छ ।

रोजगारीका लागि विदेशबाट आएका कामदारले अर्को पटक पनि श्रम इजाजत लिने गरेको विभागले जनाएको छ । विदेशी कामदारका हकमा विभागले एक वर्षका लागि श्रम स्वीकृति जारी गर्ने गरेको छ । त्यस्ता विदेशी कामदारले पुनः श्रम इजाजत लिएको विभाग जानकारी दिएको छ । श्रम इजाजतको तथ्याकं गत वर्ष देखि डिजिटल रूपमा राख्न थालिएको विभागका सूचना अधिकारी के.सीले जानकारी दिए ।  

अहिले पनि धेरै विदेशी कामदारले पुनः श्रम इजाजत नलिई कन  काम गरिरहेका छन्। तर, त्यस्ता कामदारलाई अहिलेसम्म कानुनी दायरामा ल्याएर जरिवाना गराएको प्रमाण भने आफूहरूसँग नरहेको विभागले जानकारी दियो । विभागको तथ्याकं अनुसार १० वर्षको हाराहारीमा ४ हजार ७ सय १७ जना विदेशी कामदारले श्रम इजाजत नवीकरण गरेर पुनः नेपालमा नै कामको थालनी गरेको देखाउँछ । जसमा चालु आवमा मात्रै १२ सय ८५ जना विदेशी नागरिकले श्रम इजाजत नवीकरण गरेको छ । तिनीहरू मध्ये पुरुष १ हजार १०३ र महिला १८२ जना रहेका छन् । 

यस्तो छ कानुनी व्यवस्था 

कुनै विदेशी नागरिकलाई श्रमिकको रूपमा काममा लगाउन श्रम इजाजत वा श्रम स्वीकृति दिँदा सामान्यतया त्यस्तो विदेशी नागरिकको सम्बन्धमा गृह मन्त्रालयबाट जारी भएको कार्य सहमतिको अवधि भन्दा बढी नहुने गरी एक पटकमा एक वर्ष अवधिमा नबढ्ने गरी श्रम इजाजत दिइने व्यवस्था छ । श्रम इजाजत दिँदा विशिष्ट दक्ष प्राविधिक विदेशी श्रमिकलाई पटक पटक गरी बढीमा तीन बर्ससम्मको लागि श्रम इजाजत दिन सकिने छ । 

त्यस्तै, कुनै विदेशी नागरिक विशिष्ट दक्ष प्राविधिक हो अथवा होइन भन्ने सम्बन्धमा श्रम इजाजत सिफारिस गर्ने सम्बन्धित मन्त्रालय अर्थात् निकायले स्पष्ट गरी सिफारिस गरेको पत्र पेस गर्नु पर्ने हुन्छ । तर विशेष परिस्थितिमा देशको शैक्षिक, सामाजिक, विज्ञान प्रविधि र गैर नाफामूलक सङ्घ, संस्था जस्ता क्षेत्रमा विशेष योगदान गरेका, राष्ट्र हित र जनकल्याणमा उल्लेखनीय योगदान गरेका विदेशी श्रमिकलाई मन्त्रालयले स्वीकृत लिई बढीमा २ वर्षसम्म विभागले श्रम इजाजतको अवधि थप गर्न सक्ने व्यवस्था रहेको छ।