शीर्षकहरू

एक हजार २ सय ५९ फर्मलाई जरिवाना

एक हजार २ सय ५९ फर्मलाई जरिवाना

काठमाडौं । राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा उपभोक्तामाथि ठगी हुनेक्रम बढिरहँदा त्यसलाई रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई सशक्त बनाउँदै आएको छ । कोभिड–१९ को संकटको समयमा समेत व्यापारीहरूले विभिन्न बहानामा दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्य वृद्धि गर्दै उपभोक्तालाई ठगी गर्न थालेपछि विभागले त्यस्तो विकृति रोक्न अनुगमनलाई प्रभावकारी र सशक्त बनाएको हो ।

विभागले चालू आिर्थक वर्ष २०७७/७८ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनामा देशभरमा गरी ४ हजार ४ सय ८३ वटा व्यापारिक फर्ममाथि अनुगमन गरेको छ । सो अनुगमनका क्रममा बद्मासी गर्ने १ हजार २ सय ५९ फर्मलाई जरिवाना गरिएको छ भने ४६ फर्मको कारोबार रोक्का गरिएको छ । जरिवानाका क्रममा ३ करोड ३ लाख ३३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । त्यसैगरी, १ हजार ५ सय ९५ कम्पनीमाथि विभिन्न किसिमका कारबाही गरिएको छ ।

विभागले दोस्रोपटकको निषेधाज्ञ अवधि २०७८ वैशाख देखि ३१ जेठसम्मको ढेड महिनाको अवधिमा मात्रै २ सय ३ वटा फर्ममाथि अनुगमन गरेको छ । अनुगमनका क्रममा ९७ वटा फर्मले बदमासी गरेको पाइएपछि तिनलाई जरिवाना गरिएको छ । सो अवधिमा एउटा कम्पनीको कारोबारसमेत रोक्का गरिएको विभागले जनाएको छ भने ६६ वटा फर्मलाई विभिन्न खाले थप कारबाही गरिएको छ । 

विभागले म्याद समाप्त भएका वस्तुको बिक्रीवितरण गर्नेमाथि समेत कारबाही गरी त्यस्ता वस्तु नष्ट गरेको छ । विभागका महानिर्देशक प्रकाश पौडेलले उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत अनुचित व्यापारिक क्रियाकलाप गर्नेमाथि विभागले आक्रामक कारबाही गरिरहेको बताए । महानिर्देशक पौडेलका अनुसार स्वच्छ बजार कायम गर्न तथा उपभोक्ता अधिकार संरक्षणका लागि गुनासो र उजुरीमा पहुँच बढाउन सामाजिक सञ्जाल तथा हटलाइन टोल फ्रि नम्बर ११३७, हेलो सरकारमार्फत प्राप्त हुने जुनसुकै गुनासो सकेसम्म सोही दिन वा भोलिपल्टसम्म सम्बोधन गरिँदै आएको छ ।