शीर्षकहरू

साना व्यवसायीको टिठलाग्दो बयान : बजार खुल्यो तर व्यापार खुलेन, कहिल्यै नलागेको ऋण लाग्यो

साना व्यवसायीको टिठलाग्दो बयान : बजार खुल्यो तर व्यापार खुलेन, कहिल्यै नलागेको ऋण लाग्यो

काठमाडौं । धापासी टिलिङ्गटार स्कुल नजिकै एउटा सटर छ । जसको बाहिर लेखिएको छ, चालिसे खाजा घर । निषेध आदेशका कारण बजार र यातायातका साधन बन्द थिए । दिर्घ कुमारी रेग्मी चालिसेले पनि महिना दिन त त्यो खाजा घर बन्द गरिन् । तर, अरूको भोक मेट्ने खाजा घर बन्द गरेर बस्दा आफू नै भोकै हुनु परेको अनुभव छ, उनमा ।

त्यसमाथि बाध्यतामा परेर खाजा घर चलाउँदा मृत सपनाहरूले सधैँ पिरोली रहन्छन्, दिर्घ कुमारीलाई।  उनी भन्छिन्, "भाग्यले पनि कतै गरी खान दिएन, हेर्नु । मलाइ जागिर त सरकारी खान मन थियो । तर, नाम निकाल्न जति मिहेनत गर्दा पनि सकिन् ।" सरकारी जागिर नभएपछि स्नातकसम्मको अध्ययन सकेकी उनले स्कुलमा पढाउने समेत प्रयत्न गरिन्। त्यो इच्छा पनि पुरा भएन। "त्यसपछि मैले होटेल चलाउने सुर गरेकी हुँ । प्राइभेटमा जागिर खानु भन्दा त कुनै आफ्नै व्यवसाय सुरु गरूँ भन्ने लागेर यो गरेकी। पोहोर साल पनि कोरोनाले बन्द नै भयो। यसपालि पनि देखि हाल्नु भयो।"

उनले व्यक्तिगत लगानीमा सानो खाजा घर सञ्चालन गरेकी हुन् । जसबाट ५ जनाको परिवार पालिहेरेकी थिइन् । सामान्य अवस्थामा चाउमिन र समोसा खान आउनेलाई दिन भ्याई नभ्याई हुने चालिसे अहिले भने खानेकुरा पकाएर ग्राहक कुरेर बसिरहेकी हुन्छिन् । त्यसैले उनको मुहारमा निराशा स्पष्ट देखिन्छ। बजारमा बढेको महँगीका कारण पनि उनको निराशा बढेको हो। उनी भन्छिन्, , "सामान महँगो भयो हेर्नु न मैले पनि समोसाको मूल्य १० रुपैयाँबाट बढाएर १५ रुपैयाँ पुर्‍याएकी छु ।"

कोरोनाले बेहाल बनाएका मानिसहरूलाई बजारले झन् थला पारेको उनी विश्लेषण गर्छिन्। सामान्य अवस्थामा विद्यालय खुलेको र बजार चहल पहल भइरहेको बेला चालिसेको दैनिक १० हजार सम्मको व्यापार हुन्थ्यो । अहिले त्यसको २० प्रतिशत जति मात्र व्यापार छ।

बन्दको बेला भोक टार्न बाध्य भएर उनले निषेधाज्ञा तोडिन् । खाजा घर बाहिर बसेर एक महिना अघि देखि नै सेल रोटी पकाएर बेचेको उनी बताउँछिन् । बन्दको बेला त्यही आम्दानीले घर खर्च चलाएँ । एक हप्ता जति भयो अहिले सटर नै खोल्न थालेको ।

उनको खाजा घरमा मजदुरी गर्ने ज्यामीहरू र विद्यार्थीहरू बढी खान आउँथे तर अहिले शैक्षिक संस्था बन्द र निर्माणको काम ठप्प हुँदा उनका ग्राहक नै छैनन् । "बन्दमा ज्यामीको काम कसैले नदिए पछि उनीहरू घरतिर गए । स्कुल पनि बन्द भए । मेरो त व्यवसाय नै सुक्यो ।" उनी भन्छिन् ।

धापासि हाइटमा नै वर्कसप चलाएर बसेका आलमको अनुहारमा  पनि निराशपन नै देखियो ।गत वर्ष ५/६ महिना बन्द भयो । यो वर्ष पनि २ महिना भयो। अहिले बजार खुलेसँगै उनले पनि आलम मोटरसाइकल वर्कसप खोले । उनी एक हप्ताको अनुभव सुनाउँछन्, "पाँच दिन भइसक्यो पहिलाको तुलना व्यापारको तुलना गर्ने हो भने शून्य नै छ ।" गत वर्ष ८ महिनाको भाडा व्यापार नगरी घरबेटीलाई बुझाए, उनले । तर, अझै आशावादी छन्, "दुःख त लाग्छ तर बजार खुलेपछिको आस बढेको छ ।"

सडकमा मोटरसाइकल गुड्न थालेपछि आफ्नो व्यवसाय चल्नेमा ढुक्क रहेको बताउँदै उनले व्यवसाय प्रतिको मोह पनि पोखे । उनले भने, "यो समस्या मलाई मात्र नभई अरू व्यवसायी लगायत सर्वसाधारणमा पनि परेको छ । अब खुल्यो, मेरो पनि व्यापार चल्ला नि । गाडी बिग्रिएपछि बनाउने त अईहाल्छ्न् नि ।"

उता बसुन्धारामा कस्मेटिक चलाउँदै आएकी पसल्नी दिदीले बातचितको सुरुमै आक्रोश पोखिन् । "सरकारले सेवा सुविधा दिँदैन । तपाईँहरूलाई आफ्ना कुरा भनेर त्यो सरकारले  गर्छ र सुनाउनु ?" उनले आफ्नो नाम समेत बताउन मानिनन् । तर, अगाडी थपिन्, "हामीलाई यो अवस्थामा ल्याउन सरकारको नै हात छ ।"

सामान्य अवस्थामा यो बेला समान बेच्दा-बेच्दा थकाइ लाग्थ्यो । अहिले पसलमा ग्राहक कुर्दा कुर्दा अल्छी लाग्छ । “कति सराप्नु त्यो सरकारलाई” उनी रिसाउँदै भन्छिन्, "समय मै खोपको व्यवस्था गर्न सकेको भए हामी त्यति अफ्ठयारो हुँदैन थियो कि ।"
होलसेल बजारमा नयाँ समान नपाएको पनि आक्रोश छ, उनमा । "साउन महिना आउन थाल्यो पसलमा नयाँ समान राख्न पनि पाएको छैन ।" यो व्यथा नै व्यथाले भरिएको पिडा सुनाउँदै उनले कुरा टुङ्गाइन् ।

वरिपरि पुराना जुत्ता, जुत्ताका तुना, सोल र विभिन्न रङका पोलिस छरपस्ट छन् । बिचमा बसेका राधाराम मोची जुत्ता सिलाउन आउने ग्राहकको प्रतीक्षामा थिए । तर, ग्राहक नआएका कारण उनी व्यस्त थिएनन् । बसुन्धारा चोक नजिकै सडक पेटीमा बर्षौ देखि जुत्ता सिलाउने काममा रमाएका उनी आज भोलि निकै दुखी छन् । कोरोनाको दोस्रो लहर चलिरहेका बेला सङ्कटमा परेका कारण उनी निराश देखिन्छन् ।

‘बिहान–बेलुका छाक टार्ने सवाल छ,’ सप्तरी घर भएका राधाराम भन्छन् । उनले काठमाडौँका सडक पेटीमा बसेर अनेक आन्दोलन देखेका छन् । नेताका भाषण सुनेका छन् । पछिल्लो समय निषेधाज्ञा कारण उनको रोजीरोटी खाने बाटो नै बन्द भयो । अहिलेसम्म सरकारले बाटो छेउ जुत्ता सिलाउने भुईँ मान्छेको विषयमा बोलेको सुनेको छैन ।

यो निषेधाज्ञाले पसल भएकाहरूलाई मात्र समस्या भयो भन्ने कुरा सुन्छु । उनी गुनासो पोख्छन्, "हामी जस्तालाई को सोध्न आउँछ समस्या छ कि भनेर । सडकमा अर्काको जुत्ता सिलाएर खान कहाँ सजिलो हुन्छ । बुबाको मृत्यु पछि मैले पनि बर्षौ देखि बसुन्धारा चोकमा जुत्ता सिलाउने काम गरिरहेँ ।"

पहिले दैनिक लगभग १५ सय देखि २ हजारको हाराहारीमा जुत्ता सिलाएर पैसा कमाउँथे उनी। "अहिले १० दिन जति भयो, जुत्ता सिलाउन सुरु गरेको कहिले मरेर चार सय कमाइ हुन्छ ।" उनी भन्छन्, "बजार खुलेसँगै मेरा ग्राहक बिस्तारै आउँछन् ।"

कुरा गर्दै जाँदा उनले भने, "लगभग ६ वर्ष विदेश पनि बसेँ । अलि कमाई भएको थियो । ऋण  लागेको थिएन । तर, यसपालि त डेढ लाख ऋण पनि लागेको छ ।" उनी सरकारको निर्णय र घरबेटीले गरेको व्यवहारप्रति अचम्मित भएका छन् । यो निषेधाज्ञाको बेला कोठाको भाडा एक हजारले बढाएको छ घरबेटीले भन्ने गुनासो सुनाए । उनले पिडा पोखे, "त्यो भाडा नै तिर्नको लागि पनि कहिल्यै नगरेको ज्यामी काम गरेँ । अन्य केही सिप हातमा छैन के गर्नु ।"

उता गौशालामा कपडा पसल चलाउँदै आएका राज कुमार शाहको व्यथा पनि त्यस्तै छ । सामान्य अवस्थामा दैनिक ३० हजारको हाराहारीमा व्यवसाय हुने उनी अहिले पसल खोलेको पाँच दिनसम्म पनि बोहनी नै नभएको सुनाउँछन् । जनकपुरमा आमालाई एक्लै छोडेर आफू काठमाडौंको व्यवसाय सम्हालिरहेका राजु गत वर्षको बन्द र यसपालिको बन्दले आफूलाई ठुलो घाटा लागेको बताउँछन् ।