शीर्षकहरू

साउन १ गतेदेखि पनि नखुल्ने भयो लाइसेन्स परीक्षा

साउन १ गतेदेखि पनि नखुल्ने भयो लाइसेन्स परीक्षा

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लिखित र ट्रायल परीक्षा लिने कुरामा अझै अलमलमा रहेको जनाएको छ । आइतबार उपत्यकाका सिडिओको बैठकले थप निषेधाज्ञा गरेपछि विभाग अलमलमा परेको हो ।  

विभागले साउन १ गतेबाट लाइसेन्सको लिखित र ट्रायल परीक्षा लिने गरी तयारी गरिरहेको बेला सिसिएमसीको निर्णयले विभाग सो परीक्षा तत्कालै खोल्न नसक्ने अवस्था रहेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।   

घिमिरेले भने, ‘विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्ट कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली समेत बन्द गरेका थियौ । अनलाइन आवेदन मात्र खुल्ला गरेर भएन । लाइसेन्सको लिखित र ट्रायल परीक्षा २५ जना मात्र राखेर लिन सम्भव छैन, त्यसैले अझै पनि लम्बिन सक्छ ।’    

उनले अगाडी थपे, ‘लामो निषेधाज्ञाले गर्दा यसअघि अनलाइन फारम भरेका र ट्रायल दिने तयारी गरेर बसेका सेवाग्राहीले पनि आफ्नो परीक्षा दिन आएका छैनन् । ‘अब निषेधाज्ञा पूर्ण रूपमा खुल्ला भएसँगै लाइसेन्स परीक्षा सञ्चालनको तयारी गरेका छौँ । त्यसको लागि कस्तो अवस्था आउँछ त्यो हेर्नु बाहेक अर्को विकल्प छैन ।’  

विभागले त्यसको अलावा नयाँ भीआरएस साउन १ गतेबाट नै सात वटै प्रदेशको सहकार्यमा लागू गर्ने समय पनि पर धकिलिने अनुमान गरेका छन् । तर भीआरएसको काम प्रदेश २ मा सकिसकेको छ अन्य प्रदेशमा भीआरएसको काम भइरहेको उनले जानकारी दिए ।     

विभागले सवारी चालक अनुमति पत्र सम्बन्धी नयाँ निर्देशिका तयार गरिसकेकाले अब हुने लाइसेन्सको परीक्षामा विद्यार्थीले १०० पूर्णाङ्कमा ७० अंक ल्याउन सके पास हुने व्यवस्था गरेको छ । नयाँ निर्देशिका अनुसार परीक्षा र ट्रायल दिने धेरै विद्यार्थी उत्तीर्ण हुने विभागले विश्वास लिएको छ ।