शीर्षकहरू

चौधरी ग्रुपसँग आजित बीमा कम्पनी, उठ्न थाले अनेकौं आशंका

चौधरी ग्रुपसँग आजित बीमा कम्पनी, उठ्न थाले अनेकौं आशंका

काठमाडौँ। आखिर कानमा तेल हालेर सुत्ने अधिकार पनि शायद धन र बल भएकालाई मात्र नै छ। त्यसैले सार्वजनिक रूपमा प्रश्न उठ्दा समेत चौधरी ग्रुपले सुनेको नसुने झैँ गरेर सबै सरोकारवालालाई आजित पारिरहेको छ। 

प्रसङ्ग, जेठ १९ गते चौधरी ग्रुपको पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा रहेको  औद्योगिक ग्राममा रहेको सिजी ब्रुअरीमा आगलागी हुँदा भएको क्षतिको विवरण नपाएर आजित बीमा कम्पनीले पाएको दुखको हो। सो कम्पनीको गोदामको बीमा गरेको बीमक कम्पनी सिद्धार्थ इन्स्योरेन्सको दाबी भुक्तानी विभागका प्रमुख दीपक धुतले विगत दुई हप्तादेखि आफ्नो सर्भेयर क्षतिको विवरण सङ्कलनको लागि घटनास्थल नै गएकोमा अहिलेसम्म कुनै आधिकारिक  कागजात  नपाएर त्यसै बसिरहेको गुनासो गरे। 

उनले भने, "दाबी भुक्तानीको लागि गर्नुपर्ने प्रारम्भिक काम नै सर्भेयरले क्षति विवरण सङ्कलन गर्ने हो। तर, हामीले पठाएको सर्भेयरलाई यतिका दिनसम्म सो उद्योगले कुनै डकुमेन्ट नै दिएको छैन। अनि के को आधारमा काम सुरु गर्ने ? उनीहरूको असहयोगका कारण हाम्रो मान्छे दिक्दार मान्न थालिसक्यो।"

यसरी आगलागीबाट भएको क्षतिको दाबी भुक्तानीका क्रममा यसभन्दा अघि नै बदनाम भइसकेको कारण चौधरी समूहले पछिल्लो घटनामा कति भएको क्षति दाबी गर्छ भन्ने धेरैको चासो छ। तर, अहिलेसम्म घटनाको मुचुल्का उठाउनेसम्मको प्रक्रियामा यो समूह उदासीन बन्दा घटना नै रहस्यमय बन्ने सङ्केत देखिँदै छ। 

चौधरी समूहले बीमा दाबीको मामिलामा अहिले गरेको ढिलासुस्ती र २०६९ सालमा गुर्जुधारामा यही कम्पनीको अर्को गोदाममा आगो लाग्दा भएको क्षतिको बीमा दाबी भुक्तानीका बारेमा चलेको मुद्दा मामिलाका कारण बीमा कम्पनीहरू भित्र नै समेत अनेकौँ चर्चा चल्न थालेको छ। केही बीमा कम्पनीका कर्मचारीहरू कतै चौधरी समूहले उत्पादन गरेर बजारमा ल्याएको तर बियरका पारखीहरूले पहिलो घुट्कीमा नै 'रिजेक्ट' गरेको मुस्ताङ ब्रान्डको बियरको गोदाममा आगजनी भएको होइन भन्न थालेका छन्।

सो कम्पनीका व्यापार प्रतिनिधिले आफूलाई समेत सो बियर चाख्न दिएको तर एक ग्लास समेत आफूले पिउन नसकेको अनुभव सुनाउँदै ती बियर पारखी बीमा कर्मचारीले भने, "मेरो आशङ्का आधारविहीन होइन। त्यो बियर बजारले स्विकारेन। अब गर्ने के त ? बीमा दाबीले खर्च त उठाइहाल्छ। पैसा चिनेको बिजनेस ग्रुप हो, कुनै हालतमा घाटा बेहोर्दैनन्।"

यसमा आशंका थपिएको अर्को कारण के पनि हो भने घटना भएको दोस्रो दिन नै आर्थिक न्युजसँग कुरा गर्दै सिजी ब्रुअरीका म्यानेजर रामभक्त केसीले क्षतिको विवरण सङ्कलनका लागि बीमा कम्पनीको सर्भेयर समेत बुधवार नै फिल्डमा पुगेर विवरण तयार गर्नका लागि आवश्यक पर्ने तथ्याङ्कहरू सङ्कलन गरेर काठमाडौँ फर्किएको बताएका थिए । तर, अहिलेसम्म बीमा कम्पनीले कामै तोकेर पठाएको सर्भेयरले कुनै कागजात नपाएको बीमा गर्ने कम्पनीले बताइरहेको छ। 

उता घटना भएको उद्योग रहेको स्थानीय सरकार देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले अहिलेसम्म नगरपालिकालाई घटना भएको औपचारिक जानकारी समेत नआएको बताए।  उनले भने, "ठुलाबडा हुन्, हामीलाई जानकारी नै दिँदैनन् केही कुराको। यहाँ आएर भने पो थाहा हुन्छ।  चासो लियो भने यो माथि सङ्घीय सरकारले नै हेर्ने हो भन्छन्।"

यो पनि पढ्नुहोस् : किन गर्दैछ चौधरी ग्रुपले ठूलो बीमा दाबीमा ढिलासुस्ती ?