शीर्षकहरू

निषेधाज्ञामा ठगी गर्ने १२० व्यवसायी फर्मलाई कारबाही

निषेधाज्ञामा ठगी गर्ने १२० व्यवसायी फर्मलाई कारबाही

काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने १२० व्यवसायी फर्मलाई कारबाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ सय ४३ वटा व्यापारिक फर्म अनुगमन गर्दा १२० व्यवसायीले मापदण्ड विपरित कारोबार गरी उपभोक्ता ठगी गरेको भेटेको थियो । विभागले उक्त फर्मलाई कारबाही गरी १६ लाख ८१ हजार रुपैयाँ जरिवाना गरेको छ ।

बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीत कुनै व्यवसायी फर्मले कारोबार गरेको पाइएमा अनुगमन निरीक्षण अधिकृतले तत्काल ५ हजार देखि ३ लाख रुपैयाँ जरिवाना गर्न सक्ने ऐनमा व्यवस्था छ ।

विभागका अनुसार कारबाही पर्नेमा अधिकांश खाद्यान्न पसल र फार्मेसी तथा औषधी पसल रहेका छन । सरकारले दोस्रो लहरको कोरोना संक्रमण रोकथाम गर्न गत १६ बैशाख देखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा सुरु गरेको थियो । निषेधाज्ञा सुरु भएको देखि जेठ ३१ सम्ममा सरकारले खाद्यान्नका पसलहरु बिहान ९ बजेसम्म मात्र खुला गर्न अनुमति दिएको थियो । 

असार १ निषेधाज्ञाको समयमा खाद्यन्न पसलहरु बिहान ११ बजेसम्म खुला गर्न दिएको छ । अहिले लागु गरिएको स्मार्ट लकडाउन मोडिलाटी अनुसार सबै पसलहरू खुल्ने छ । तर, समय निर्धारण गरिएको छ ।  जस्तो खाद्यान्नलाई ९ बजेसम्म, लत्ताकपडा, इलेक्ट्रिक पसल १० देखि १२ बजेसम्म, हार्डवेयर पसल तथा अन्य पसलहरू १ देखि ४ बजेसम्म गरेर पसलको वर्गीकरण गरेर खोलिने व्यवस्था गरिएको छ । 

यसैगरी विभागले ३० हजार १५० रुपैयाँ बराबरको म्याद नाघेको सामान नष्ट गरिएको समेत गरेको जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईले उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत कारोबार गरी उपभोक्तालाई ठगी गर्ने एउटा पसलको कारोबार समेत रोक्का गरिएको बताए ।

 त्यस्तै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा २ (क) बमोजिमको कार्य गरी सोही ऐनको दफा ३८(ङ) अनुसार कसुर प्रमाणित भइ दफा ३९ को उपदफा १(ख) बमोजिम २ लाख जरिवाना गराई तत्काललाई बिक्री वितरण कार्य रोक्का गरि सो डिजेल पम्ममा सिलबन्दि गरिएको सेढाईले जानकारी दिए । 

उनले विभागले चालू आर्थिक वर्षको साउनदेखि असार महिनाको ८ गतेसम्म २ हजार ९ सय १४ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको बताए । प्रवक्ता सेढाईले साउन देखि असार ८ सम्ममा उपभोक्ता ठगी गरेको आरोपमा १ हजार ३ व्यवसायी फर्मलाई कारबाही गरी २ करोड ३१ लाख ७२ हजार रुपैयाँ जरिवाना गरिएको जानकारी दिए । यसैगरी उनले ३६ वटा व्यावसायिक फर्मको कारोबार रोक्का गरेको उनको भनाई छ । उनले म्याद नाघेका ३ करोड ७३ लाख ८४ हजार रुपैयाँ बराबरको समान नष्ट गरिएको जनाकारी दिए ।

प्रवक्ता सेढाईंले निषेधाज्ञामा अनुगमनलाई स्वास्थ्य सामग्री र खाद्यान्नमा केन्द्रित गरेको बताए । निषेधाज्ञामा स्वास्थ्य सामग्री र खाद्यान्नमा बढी कारोबार हुने भएकाले अनुमगन पनि त्यसमै केन्द्रित गरेको उनको भनाई रहेको छ । त्यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण अन्र्तगतका ५ कार्यालयहरुबाट चालु आवको श्रावण देखि जेठ महिनासम्म भने ४ हजार ४८३ व्यापारिक फर्म अनुगमन गरिएको छ । भने ४६ फर्मको कारोबार रोक्का गरिएको छ । 

जरिवाना गरिएको १२ सय ५९ व्यापारिक फर्मबाट ३ करोड ३ लाख ३३ हजार ५ सय जरिवाना गरिएको छ । त्यस्तै ३ करोड ९१ लाख २४ हजार ८८१ बराबरको म्याद समाप्त भई नष्ट गरिएको र अन्य १५ सय ९५ फर्मलाई कारवाही गरेको विभागको तथ्यांकले देखाएको छ ।