शीर्षकहरू

खाने तेलको मूल्य घट्न थाल्यो, यस्तो छ नयाँ मूल्य

खाने तेलको मूल्य घट्न थाल्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं । बजारमा खाने तेलको मूल्य लिटरमा १५ देखि २० रुपैयाँ घटेको छ । लामो समयदेखि बढ्दै गएको तेलको मूल्य अहिले आएर घट्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको व्यवसायीको भनाइ छ ।

तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य घटेपछि बजारमा उद्योगीले समेत घटाउन थालेको उनीहरूले बताएका छन् । नेपाल वनस्पति घिउ उत्पादक संघका महासचिव अमित मोरले भटमास र सनफ्लावरको तेलको फ्याक्ट्री मूल्य लिटरमा १५ देखि २० रुपैयाँमा घटेको जानकारी दिए । “एक सातादेखि अन्तर्राष्ट्रिय बजारमा भटमासको १५ र सनफ्लावरको कच्चा पदार्थमा २० प्रतिशत मूल्य घटेको छ,” उनले भने, “उद्योगीले तेलमा अधिकतम खुद्रा मूल्य (एमआरपी) घटाएर पठाइसकेका छन् ।”

संघका अनुसार यसअघि प्रतिलिटर २ सय २५ रुपैयाँ रहेको भटमासको तेलको फ्याक्ट्री मूल्य घटेर २ सय १५ रुपैयाँमा झरेको छ । यस्तै यसअघि प्रतिलिटर २ सय ४५ रुपैयाँ रहेको सनफ्लावरको तेलको मूल्य २ सय २५ देखि २ सय ३० रुपैयाँमा झरेको छ ।” उद्योगीले मूल्य घटाए पनि बजारमा अझै खुद्रा मूल्य घट्न नसकेको उपभोक्ताको गुनासो छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएकाले सूर्यमुखी र भटमासको तेलमा उद्योगीले प्रतिकार्टु्न ५० रुपैयाँ घटाएका छन् ।

निषेधाज्ञाको अवधिमा बजारमा सबैभन्दा बढी मूल्यवृद्धि खाने तेलमा भएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धिको कारण देखाउँदै सातामै दुई पटकसम्म तेलको मूल्य बढाएकोमा हाल मूल्य केही घट्दा उपभोक्तालाई थोरै भए पनि राहत मिलेको छ ।

पहिले सूर्यमुखी र भटमासको तेल कार्टुनमा १ सय ५० रुपैयाँसम्म बढाएकोमा हाल प्रतिकार्टुन ५० रुपैयाँ घटेको उद्योगीको भनाइ छ । प्रतिकार्टुन २५ सय रहेको सूर्यमुखी तेल अहिले २४ सय ५० रुपैयाँ भएको छ । प्रतिकार्टुन २४ सय रहेको भटमासको तेल हाल प्रतिकार्टुन २३ सय ५० रुपैयाँ रहेको छ ।

उद्योगीले तेलमा मूल्य घटाए पनि खुद्रा व्यापारीसमक्ष घटेको मूल्य आइनसकेको खुद्रा व्यापारीले बताए । नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्यले उद्योगीले मूल्य घटाए पनि आफूकहाँ तेलको मूल्य घटेर नआएको बताए । “अहिलेसम्म पुरानै सामान आएको छ,” उनले भने, “मूल्य घटेको भए केही दिनमा बजारमा आउला ।”

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईले निरन्तर रूपमा बजार अनुगमन गरेर मूल्य घट्न सफल भएको बताए । “हामीले तेल उद्योगको फ्याक्ट्रीमा गएर गहन रूपमा अध्ययन गरेर तेलको मूल्य घटिसकेको पाइएका छन्,” उनले भने, “उद्योगीले तेलको मूल्य घटाइसकेकाले खुद्रा व्यवसायीले सोहीअनुसार मूल्य नघटाए कारबाही गर्छौं ।”

अन्तर्राष्ट्रिय बजारमा कच्चा सोया तेल र कच्चा सूर्यमुखीको तेलमा एक हप्तामा प्रतिटन ३ सय डलर हाराहारीमा मूल्यमा ह्रास आएपछि नेपालका तेल उद्योगले मूल्य घटाएका हुन् । मुलुकमा सबैभन्दा धेरै भटमास र सनफ्लावर तेलको खपत धेरै हुने गर्छ ।

मुलुकमा आयात नहुँदा शतप्रतिशत बाहिरी मुलुकबाट आयात हुने गर्छ । संघका अनुसार मुलुकमा वार्षिक ३ लाख टन भटमास र सूर्यमुखी तेल खपत हुने गर्छ । तोरीको मूल्य नघटेका कारण हाल बजारमा तोरीको तेल प्रतिलिटर २ सय १५ रुपैयाँमा बिक्री भइरहेको छ । तोरीको उत्पादन पर्याप्त नहुँदा ९० प्रतिशत आयात हुने गर्छ ।