शीर्षकहरू

डीडीसीको दूध पिउदै हुनुहुन्छ ? ल्यावबाट आएको खराब रिपोर्ट सस्थानबाट स्वीकार

डीडीसीको दूध पिउदै हुनुहुन्छ ? ल्यावबाट आएको खराब रिपोर्ट सस्थानबाट स्वीकार

काठमाडौं  । गत चैत अन्तिम साता दुग्ध विकास संस्थान (डीडीसी) को बालाजु प्लान्टबाट उत्पादित प्याकेट दूधमा गन्ध आएको भनेर सर्वत्र आलोचना भयो । खाद्यवस्तुको गुणस्तर हेर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक ईश्वर सुवेदीलाई पनि शंका लागेपछि उनले दूध परीक्षण गर्न ल्याब पठाए । झन्डै एक महिनापछि आएको रिपोर्टमा दूधमा फ्याटको मात्रा कम देखियो ।

खाद्य प्रविधि स्रोतका अनुसार डीडीसीले पानीमा समस्या भएको स्विकारेकाले क्लोरिनको परीक्षण भएन । ‘अनौपचारिक रूपमा परीक्षण गराइएको रिपोर्टमा फ्याटको मात्रा कम देखिएको छ,’ खाद्य प्रविधिका एक अधिकारीले भने, ‘अरू खराबी त डीडीसी स्वयंले स्विकारिसकेको छ ।’

– गत असोजमा काठमाडौं महानगरपालिकाको टोलीले डीडीसीकै बालाजु वितरण आयोजनामा अनुगमन गर्दा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर मौज्दातमध्ये अधिकांशको म्याद सकिएको फेला परेको थियो । केही प्याकेजिङमा उपभोगका लागि ८ महिनासम्म राम्रो उल्लेख भए पनि उत्पादन मिति नोभेम्बर २०१९ ९मंसिर, २०७६०, डिसेम्बर २०१९ (पुस, २०७६) मात्रै थियो ।

२५र२५ किलोको कार्टुनमा राखिएको बटरका प्रायः कार्टुनमा लेभल नै थिएन । लेभल भएकोमा म्याद सकिएको थियो । बटरको गुणस्तरमा पनि प्रश्न उठेको थियो । त्यसपछि खाद्य प्रविधिको टोलीले पुनः बालाजु प्लान्टमा अनुगमन गरेर नमुना संकलन गरेको थियो । अनुगमन टोलीले नमुना संकलन गरे पनि त्यसपछि त्यत्तिकै सेलायो ।

‘कार्टुनमा म्याद सकिएको उल्लेख भएकाले कानुनले परीक्षण गर्न मिल्दैन,’ स्रोतले भन्यो, ‘विभागले म्याद सकिएको बटर प्रयोग नगर्न मौखिक निर्देशन दिएको थियो । त्यसपछि पुनः फलोअप भएको छैन ।’ उल्लिखित दुई घटना उदाहरण मात्रै हुन् । डीडीसीका केही उत्पादनमा पटकपटक प्रश्न उठ्ने गरेको छ । समस्या समाधान गर्न समयसमयमा समिति पनि गठन हुने गरेका छन् । तर ती समिति निष्कर्षबिनै हराउने गरेको डीडीसीकै कर्मचारी बताउँछन् ।

‘दूध गन्हाएको आलोचना भएपछि पनि उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन भयो । चैत ३१ मा गठित समितिलाई एक साताभित्र प्रतिवेदन पेस गर्न निर्देशन थियो,’ डीडीसी स्रोतले भन्यो, ‘तर अहिलेसम्म छानबिन भएको छैन । संलग्न कर्मचारीलाई स्पष्टीकरण सोधिएको पनि छैन ।’ ती कर्मचारीका अनुसार डीडीसीको छलफलमा महानिर्देशक रुद्र पौडेलले पटकपटक प्रतिवेदनका कुरा निकाल्छन् । महानिर्देशकले चासो दिए पनि समितिले आलटाल गरिरहेको छ ।

यही विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि खाद्य प्रविधि विज्ञसहितको टोली बनाएर छलफल गरिरहेको छ । उसले पनि अहिलेसम्म निष्कर्ष निकाल्न सकेको छैन । ‘डीडीसी पानीको समस्या भनेर पन्छिएको छ । त्यसमा पाउडरको विषय पनि हुन सक्छ । बालाजु सबैभन्दा ठूलो प्लान्ट हो । फ्याटमा १र२ प्रतिशत हुँदा महिनामा लाखौं रुपैयाँ चलखेल गर्न सकिन्छ,’ डीडीसी स्रोतले भन्यो, ‘महानिर्देशक विभिन्न परिबन्धमा छन् । जसले गर्दा दोषी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सकेनन् । कर्मचारीको कमजोरी लुकाइएको छ ।’