शीर्षकहरू

उद्योगमा लगानी प्रतिबद्धता उत्साहजनक, १५१ वटा विदेशी लगानी स्वीकृत

उद्योगमा लगानी प्रतिबद्धता उत्साहजनक, १५१ वटा विदेशी लगानी स्वीकृत

काठमाडौं । कोरोना महामारी कै बिचमा पनि नेपालको उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता उत्साहजनक देखिएको छ । चालू आर्थिक वर्षको १० महिनामा कुल १ खर्ब ४३ अर्ब ४७ करोड ३९ लाख ७० हजार रुपैयाँ लगानीका उद्योग दर्ता भएका छन् ।

 यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो । गत वर्षको दश महिनामा १ खर्ब ३९ अर्ब ६७ करोड ६४ लाख ६० हजार रुपैयाँबराबर लगानीका उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार वैशाख मसान्तसम्ममा कुल १७६ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमा ३६ वटा ठूला, ४२ वटा मझौला र ९८ वटा साना उद्योग रहेका छन् । दर्ता भएका उद्योगले १० हजार ३६९ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका छन् । 

यो कोरोना महामारीकै बीचमा पनि नेपालमा उद्योगमा आउने लगानी राम्रो नै देखिएको उद्योग विभागका महानिर्देशक जिवलाल भुसालले बताए । लविद्युत्, होटेल, रेस्टुरा, कार्गो, सफ्टवेयरलगायतका क्षेत्रमा उद्योग दर्ता भएको भुसालले आर्थिकन्युज डटकमलाई जानकारी दिए । ‘यस्तो महामारीकै बीच पनि उद्योगमा आउने लगानी सुरुवातीका महिनाहरुतिर बढेको थियो भने अहिले यो निषेधाज्ञाले केही लगानी घटेको छ तर पनि यसलाई उत्साहप्रद रूपमा लिनुपर्छ,’ उनले भने, ‘महामारी नआएको भए गत बर्ष भन्दा यो बर्ष थप लगानी आउने अवस्था रहन्थ्यो ।’ भने जेठमा एक वटा पनि उद्योग दर्ता नभएको विभागका महानिर्देशक भुसालले बताए । 

लगानी बढ्यो उद्योग दर्ताको संख्या भने घट्यो
मूल्यमा लगानी बढे पनि उद्योग दर्ताको संख्या भने केही कम देखिएको छ । गत आवको तुलनामा यस वर्षको जेठ २० सम्ममा १७६ वटा उद्योग दर्ता १ खर्ब ४३ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता जनाएको छ । जसमा गत बर्ष अवधि सम्म २४९ वटा उद्योग दर्ता भएकोमा १ खर्ब ३९ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भित्रिएको थियो । चालु आवमा गतको तुलनामा ७३ उद्योग कम दर्ता भएका हुन भने लगानी ३ अर्ब ७९ करोड रुपैयाँले बढेको छ 

१५१ वटा विदेशी लगानी स्वीकृत
कोरोना महामारीकै बीच नेपालमा विदेशी लगानीको प्रतिबद्धता  देखिएको छ । वैशाख मसान्तसम्ममा उद्योग विभागले विदेशी लगानीका १५१ वटा उद्योगलाई लगानीको स्वीकृति दिएको छ । लगानी स्वीकृति भएका विदेशी लगानीका उद्योगमा ३ ठूलो, ३ मझौला र १४५ वटा साना रहेका छन् । वैशाखसम्ममा विभागमा २७ अर्ब ३ करोड १३ लाख ५० रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

 गत आवको वैशाख मसान्तसम्ममा उद्योग विभागमार्फत २९ अर्ब ९२ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको थियो । महामारीकै बीच नेपालमा विदेशी लगानीको प्रतिबद्धता भने घटेको विभागका महानिर्देशक भुसालले बताए । असोजसम्ममा ब्रिटिस, भर्जिनिया, आइसल्यान्ड, चीन, भारत, मेक्सीको र बेलायत आदिबाट विदेशी लगानीको प्रतिबद्धता आएको छ ।