शीर्षकहरू

सरकारले नै प्रयोग गर्दैन स्वदेशी औषधि, बजारमा विदेशीको दबदबा

सरकारले नै प्रयोग गर्दैन स्वदेशी औषधि, बजारमा विदेशीको दबदबा

काठमाडौं । हालको महामारीमा सर्वाधिक चर्चाको विषय हो, औषधी। कहिले गुणस्तरको कुरा त कहिले अभावको समाचार औषधी सधैँ प्रमुख चासोको विषय बन्यो। पछिल्लो समय मुलुकको हरेक तह र तप्कामा यसबारे महत्त्वपूर्ण बहस हुन थालेको छ । 

औषधीको गुणस्तर पहिचान गर्दै राज्यको तर्फबाट मूल्य तोक्ने सवालमा हेलचेक्र्याइँ भएको गुनासो एकातिर छ भने नेपाल मै उत्पादन हुने औषधीको आयातमा रोक लगाएर स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्ने ब्यवाशयिको माग अर्को तिर छ। उता औषधीमा व्यापारीले गरेको कालोबजारी र अत्यधिक नाफा लिएर उपभोक्ता ठगेको गुनासो र आरोप आम नागरिकले लगाइरहेका छन्। जे होस्, औषधी र यसको गुणस्तर लगायतका यावत पक्षमा हुने बहसलाई स्वाभाविक र आवश्यक मान्नुपर्छ। 

नेपाल औषधी उत्पादक सङ्घ र औषधी उद्योगहरूले पटक पटक नेपालमा उत्पादन भइरहेका औषधीहरूको आयातमा रोक गरेको आग्रह अनुरूप क्याबिनेटबाट पास भएको निर्णय कार्यान्वयन प्रधानमन्त्री कार्यालयबाट रोकिएको भन्दै आक्रोशित बनेका छन् । मुलुक औषधिमा आत्मनिर्भर हुनु एकदमै राम्रो पक्ष रहेको तर्क उनीहरूको छ। नेपालमा सस्तोमा पाइरहेको औषधि बन्द गरेर महँगो मूल्यका औषधी बाहिरी देशबाट आयात गरिरहेको कारण स्वदेशी औषधिले बजार नपाइरहेको नेपाल औषधी उत्पादक सङ्घका अध्यक्ष नारायण क्षेत्रीले बताए । नेपाल औषधी उत्पादक सङ्घको सुझावको आधारमा काम गर्ने हो भने ८० प्रतिशत औषधीमा नेपाल आत्मनिर्भर हुन सक्ने उनको दाबी छ। 

नेपालमा प्रशस्त उत्पादन हुने औषधी बाहिरी देशबाट आयात हुँदै गरेकोमा त्यसमा पूर्ण रोक लगाउनु पर्ने उनको माग छ। आयातित औषधीले बजार पाएको तर स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने गरिएको कारण उद्योगहरू कमजोर हुँदै गएको उनको भनाई छ। उद्योगले थप नयाँ पूर्वाधार विकास गर्न नसक्नुको मुलकारण यही रहेको क्षेत्रीले बताए । उनले थप्दै भने, 'आयातित औषधीलाई प्रतिबन्ध लगाए मात्र हामिहरु बजार पाउनेमा ढुक्क हुन्छौ।' यसै गरी मुलुकले औषधी आयातमा नै जोड दिने हो भने स्वदेशी उत्पादन गर्ने उद्योग डुब्नेमा निश्चित रहेको उनले ठोकुवा नै गरे । 

सरकारले विदेशी आयातित औषधी कुनै कारणवश रोकिए मात्र स्वदेशी उत्पादनको माग गर्ने गरेको उनले बताए। सरकारी निकायहरूले नै आयातित औषधीलाई नै बढवा दिएको र सरकारको त्यस्तो नीतिले गर्दा औषधी उद्योगीहरूले करौडौं रकम गुमाउनु परेको उनले बताए । लगभग ६० करोड लगानी गरेर सञ्चालनमा ल्याएका उद्योगलाई प्रोत्साहन गर्नुको साटो निरुत्साहित गरिरहेको प्रति उनले आपत्ति जनाएका छन् ।  

नेपालका स्वदेशी कम्पनीको दक्षता र क्षमतालाई नजर अन्दाज गर्दै देशको आवश्यकता पुरा गर्ने गरी औषधि उत्पादन गर्न सक्षम रहेका उद्योगलाई धराशायी बनाउने काम भइरहेको उनले आरोप लगाए । 

त्यस्तै, हाल नेपालमा सञ्चालन रहेका ६३ वटा औषधी उत्पादक कम्पनीका उत्पादनको आकंडा अनुरूप अहिले  धेरै औषधीमा मुलुक आत्मनिर्भर भइसक्दा पनि विदेशबाट औषधी आयात हुनु र सरकारको स्वदेशी र विदेशी कम्पनीलाई हेर्ने दृष्टिकोण नहुनुले नेपाली औषधीको बजार हिस्सा ४५ प्रतिशतबाट माथि बढ्न नसकेको अध्यक्ष क्षेत्रीको जिकिर छ ।

सरकारले अझै पनि पारासिटामोलको मूल्य निर्धारण नगर्ने हो भने एक महिना पछि पाउन नै मुस्किल हुन सक्ने उनले बताए । अहिले नेपालले विशेष गरी कोभिड, क्यान्सरको भ्याक्सिन लगायतका औषधीहरू आफूहरूले उत्पादन गर्न नसकेको बताए । 

इन्जेक्सनको लागि पनि अहिले नेपालमा चार वटा उद्योग खुलिसकेको जानकारी दिँदै आफूहरूले विगत पाँच वर्षयता पूर्वाधारमा झन्डै २ हजार करोड भन्दा बढी लगानी लगाई सकको उनको भनाई छ। अहिले क्यान्सरको औषधी उत्पादन गर्नको लागि बनेपामा उद्योग स्थापना भइसकेको छ जसलाई बनाउन ६४ करोड लगानी भारतले गरेको उनले जानकारी दिए । 

त्यस्तै, विगत ४७ वर्ष देखि देशका हरेक कुना काप्चामा औषधी पुर्‍याउँदै सेवा गरिरहेको नेपाल औषधी व्यवसायी सङ्घले औषधीमा राज्य आत्मनिर्भर हुनु सङ्घको लागि पनि गौरवको कुरा हुने बताएको छ । नेपालमा भौगोलिक र राजनीतिक अस्थिरताका कारण तत्काल औषधीमा आत्मनिर्भर हुन असम्भव देखिए पनि आफूहरू त्यो दिनको प्रतीक्षामा रहेको नेपाल औषधी व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्र मेयर श्रेष्ठले बताए। 

हालसम्म नेपालमा अस्पतालको बहिरङ्ग विभागमा (ओपिडी) प्रोडक्सहरु मात्र विशेष गरी नेपालमा उत्पादन भइरहेको छ। जसमा रुघाखोकी, सुगर, मुटुसम्बन्धी, स्किन मलम लगायतका अन्य औषधीहरू नेपालमा उत्पादन भइरहेको छ भने आयातितमा इन्जेक्सनहरू, भ्याक्सिन, आइसियु, सीसीयूमा प्रयोग हुने औषधी, मृगौला रोगसँग सम्बन्धित औषधी, मुटु र सुगर सम्बन्धीका औषधीहरू बाहिरबाट नै ल्याउने गरेको श्रेष्ठले बताए । 

नेपालमा इन्जेक्सन उत्पादन गर्ने थोरै कम्पनी मात्र रहेको र त्यसले सबै प्रोडेक्टहरु बनाउन नसक्ने अवस्था देखिएको उनले बताए। 'यी उद्योगले पर्याप्त मात्रा बनाउन सकिरहेका छैनन्,' उनले जानकारी दिए ।