शीर्षकहरू

अन्य सूचक सकारात्मक तर आर्थिक वृद्धिको  लक्ष भेटाउन मुस्किल

अन्य सूचक सकारात्मक तर आर्थिक वृद्धिको  लक्ष भेटाउन मुस्किल

काठमाडौं । चालू वर्षमा आर्थिक वृद्धिदरबाहेक अर्थतन्त्रका अन्य सूचक सकारात्मक रहे पनि संशोधित लक्ष्य भेटाउन चुनौतीपूर्ण देखिएको छ । अर्थमन्त्री विष्णुु पौडेलले शुक्रबार जारी गरेकोे आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार कोभिड दोस्रो लहरका कारण अर्थतन्त्रमा प्रभाव पर्दा संशोधित आर्थिक वृद्धिसमेत हासिल हुन सक्ने अवस्था देखिएन ।

अर्थमन्त्री पौडेलले महामारीबाट उत्पन्न आर्थिक संकटका बाबजुत नेपालको मुद्रास्फीति सञ्चिति सीमाभित्र रहेको, शोधानान्तर स्थिति तथा विदेशी विनिमय सञ्चिति सुविधाजनक रहेको, वित्तीय क्षेत्र सबल र जुन निर्माण प्रगति र मानव विकास क्षेत्र विस्तारका कारण आगामी दिन आर्थिक स्थिति सबल हुँदै अर्थतन्त्रमा ‘भी’ आकारको आर्थिक वृद्धि हुने अनुमान रहेको उल्लेख गरे ।सरकारले चालू वर्ष २०७७/७८ मा ४।०१ प्रतिशत आर्थिक वृद्धि हुने संशोधित अनुमान गरेको थियो । गत वर्ष जारी बजेटमा आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत प्रक्षेपण गरिएको थियो ।

आव २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक रहेको अवस्थामा सरकारले महत्वाकांक्षी रूपमा आर्थिक वृद्धि हुने जिकिर गरे पनि संशोधित लक्ष्यसमेत भेटाउन मुस्किल छ ।अर्थ सचिव शिशिरकुमार ढुंगानाले चालू खाता घाटा पहिलेभन्दा केही संकुचित भए पनि त्यो नियन्त्रित सीमाभित्रै रहेकाले ‘रिभाइबल’ कार्यक्रम सञ्चालन गर्न असर गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे ।

७ प्रतिशतको आर्थिक वृद्धिबाहेक अर्थतन्त्रका अन्य सूचकमा सबल रहेको उनले औंल्याए । शोधानान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, मुद्रास्फीति नियन्त्रित, आयात निर्यात अनुपात र वैशाखसम्मको अवस्थामा राजस्व संकलन स्थितिलगायत अर्थतन्त्रको समष्टिगत सूचक सकारात्मक रहेको उनले जनाए ।

अर्थमन्त्री पौडेलले ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न गाह्रो भएको जानकारी दिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधनमा ‘७ प्रतिशतले नेपाली जनताको आर्थिक वृद्धिदर रहेको’ उल्लेख गरेका छन् । चालू आर्थिक वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमशः २।६, ५।० र ४।४ प्रतिशतले वृद्धि हुने अनुमान छ ।