शीर्षकहरू

कर्णाली करिडोरः हुम्ला सडकखण्ड चैतभित्र तयार हुँदै

कर्णाली करिडोरः हुम्ला सडकखण्ड चैतभित्र तयार हुँदै

सिमकोट । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डमा चैतसम्ममा सवारी साधन सञ्चालन हुने भएको छ । नेपाली सेनाले जिम्मा लिएको सो खण्डको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

मेसिन र कामदारबाट सडक निर्माण भइरहेकाले आउँदो चैतसम्ममा यो सडकखण्डमा सवारी साधन सञ्चालन हुने नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख मिलन कार्कीले बताए । सेनाले निर्माण गरिरहेको बाजुरा र हुम्लाको सीमा कवाडीदेखि सर्केगाड र चँखेली गाउँपालिकाको सीमा सलिसल्लासम्म चैतसम्ममा सवारी साधन चलाउनयोग्य बनाउने उहाँले जानकारी दिए । 

कवाडीदेखि सलिसल्लासम्मको ३९ किलोमिटर सडकमध्ये ताँजाकोट गाउँपालिकाको कवाडीदेखि सर्केगाड गाउँपालिका–१, बालुकुनासम्मको २७ किलोमिटर सडक सवारी साधन चलाउन सकिने भएको छ । सवारी साधन सञ्चालन गर्न सिफारिससमेत भइसकेको छ । बालुकुनादेखि सर्केगाड–१, खच्चासम्मको साढे नौ किलोमिटर सडकमा सामान ढुवानी गर्ने र सेनाको गाडी चलिरहेका छन् ।

बाँकी साढे दुई किलोमिटर क्षेत्रमा मात्र सडक निर्माण पूरा भएको छैन । नेरघाट, पम्पडे र सलिसल्लाको चट्टानी भागको साढे दुई किलोमिटर भाग मात्र बाँकी रहेको सेनाको निर्माण दलले जनाएको छ । सो क्षेत्रमा पनि काम भइरहेको छ ।

सडक निर्माणमा दैनिक नेपाली सेनाका ९० जना र अन्य दुई सय जना कामदार संलग्न छन् । ग्याबिन लगाउने, माटो भर्ने, सिमेन्टको काम र विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाउने काम एकसाथ अगाडि बढिरहेको छ ।

नेपाली सेनाले कवाडी खोला, गल्फागाड खोलामा बेलिब्रिज निर्माण गरेका कारण निर्माण सामग्री ढुवानी सहज भएको छ । करिडोरको निर्माण कार्य कोरोना महामारीका बेला केही समय रोकिए पनि त्यसपछि नियमित रूपमा हुँदै आएको छ । हुम्ला खण्डको ताजाकोट र अदानचुली गाउँपालिका क्षेत्रको सडक खण्डमा सवारी साधन सञ्चालन भइरहेको ताँजाकोट गाउँपालिकाका जगतबहादुर शाहीले बताए । सो सडक निर्माण भएपछि दुवै गाउँपालिकाको केन्द्रसम्म सवारी साधन चल्न थालेको उनले जानकारी दिए । दक्षिणी हुम्ला पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए ।