शीर्षकहरू

दक्ष शिक्षक पाउन कठिन

दक्ष शिक्षक पाउन कठिन

काठमाडौं । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउन थालेको छ । नयाँ पाठ्यक्रम लागू गरिए पनि शिक्षकले तालिम पाउन नसकेको, पुस्तक अभाव रहेको तथा सामाजिक अध्ययनमा दक्ष शिक्षकको समेत अभाव हुने स्थिति देखिएपछि गुनासो बढ्न थालेको छ ।

खासगरी सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाले धेरै विषय समेटेकाले यसको अध्यापन गराउन सक्ने दक्ष शिक्षकको अभाव देखिएको राजधानीको कङ्काली माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु पनेरूले बताए ।

इतिहास, भूगोल र धर्म संस्कृतिमा स्नातकोत्तर तह हासिल गरेको जनशक्तिले मात्र यो विषय राम्ररी पठनपाठन गर्न सक्ने अवस्था देखिएको भन्दै उनले शिक्षकलाई माथिल्लो कक्षा लिन लगाउँदैमा समस्या समाधान नहुने बताए ।

कक्षा १० मा विज्ञान एउटै शिक्षकले पढाए पनि कक्षा ११ मा फरक फरक विषयगत शिक्षकले पढाए जसरी नै सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षासमेत पढाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । तर यसका लागि शिक्षक अभाव देखिएको उनी बताउँछन् । सामाजिक जीवनका विविध पक्ष समेटेर विषयको दायरा निकै उच्च बनाइए पनि त्यसअनुसार शिक्षकको प्रबन्धमा भने ध्यान नदिइएको उनको भनाइ छ ।

राजधानीको पद्मोदय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतमले सामाजिक अध्ययनको पाठ्यक्रम निकै व्यापक भएको र पुस्तकसमेत नआएका कारण शिक्षकलाई अध्यापनमा समस्या देखिएको बताए । कक्षा ११ मा अध्यापनका लागि स्नातकोत्तर शैक्षिक योग्यता चाहिने तर सबै विद्यालयमा त्यस अनुसारको विषयगत शिक्षकको समस्या व्यवस्था गर्न कठिनाइ देखिएको उनी बताउँछन् ।

यसका साथै प्रविधि नजानेको शिक्षकलाई ११ कक्षा पढाउन समस्या हुने अवस्था रहेको उनको भनाइ छ । सामाजिक विषयका शिक्षक तथा पाठ्यपुस्तक लेखक गोविन्द भण्डारी विश्वविद्यालय तहसम्म जोडिने भएकाले कक्षा ११ र १२ को पाठ्यक्रम केही उच्च स्तरको रहेको तर शिक्षकलाई समयानुकूल तालिम नहुँदा अध्यापनमा समस्या भएको बताउँछन् ।

शिक्षण पेसामा शिक्षाशास्त्र अध्ययन गरेको व्यक्तिलाई मात्र ढोका खुला गरिएका कारण हाल आएर सामाजिक अध्ययन लगायतको विषय अध्यापनका लागि शिक्षक अभाव देखिएको उनको भनाइ छ ।

अब योग्यतामा व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न सके यस क्षेत्रमा अहिले देखिएको समस्या क्रमशः समाधान हुने लेखक भण्डारी बताउँछन् । समाजशास्त्रमा स्नातकोत्तर व्यक्तिलाई यसको शिक्षक बनाउन सकिए समस्या कम हुने​ उनको विश्लेषण छ ।

कक्षा ११ मा सामाजिक तथा जीवनोपयोगी शिक्षा अध्यापन गराउने शिक्षक माधव दाहाल सामाजिक अध्ययन व्यापक विषय भएको र यसले समाजका विविध आयाम समेटेकाले शिक्षकहरूले धेरै परिश्रम गर्नुपर्ने अवस्था रहेको बताउँछन् । यसका लागि शिक्षकको क्षमता अभिवृद्धि गरिनुपर्ने र शिक्षकले पनि यसमा ध्यान दिनुपर्ने आवश्यकता उनी औँल्याउँछन् ।

यसभित्र रहेको राजनीति, धर्म संस्कृति, इतिहास, भूगोललगायत विविध विषयवस्तु मेहनत गर्ने हो भने एक शिक्षकले अध्यापन गराउन सक्ने विश्वास उनले व्यक्त गरे । विश्वविद्यालयको शिक्षासित जोड्नुपर्ने भएकाले पनि कक्षा ९ र १० को तुलनामा यसको पाठ्यक्रम स्तरीय भएको र यो स्वाभाविक नै भएको उनको भनाइ छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहाल कक्षा ११ मा यसै वर्षबाट लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पठनपाठनका लागि शिक्षकलाई छिट्टै अभिमुखीकरण गरिने बताए । हालसम्म पुस्तकको तयारीका लागि केन्द्रले समय खर्च गरेको उल्लेख गर्दै उनले अब शिक्षक तालिम नै सरकारले मुख्य प्राथमिकतामा रहेको बताए ।