शीर्षकहरू

होटेल व्यवसायलाई लयमा फर्काउने तयारी

होटेल व्यवसायलाई लयमा फर्काउने तयारी

काठमाडौं । कोरोना महामारी र बन्दाबन्दीले थलिएको मुलुकको होटेल व्यवसायलाई लयमा फर्काउन होटेल व्यवसायीले तयारी शुरू गरेका छन् । सरकारले औपचारिक रूपमै साउन १५ गतेदेखि होटेल तथा रेस्टुराँ व्यवसाय सञ्चालन गर्न स्वीकृति दिएसँगै व्यवसायी अहिले होटेल खोल्ने गृहकार्यमा जुटेका हुन् ।

विगत ४ महीनादेखि पूर्णरूपमा ठप्प रहेको होटेल व्यवसायलाई पुरानै लयमा फर्काउन समय लाग्ने भएकाले हाललाई न्यूनतम १० प्रतिशतसम्म सेवा सञ्चालन गर्नेगरी होटल सञ्चालनको तयारी हुँदै छ ।

काठमाडौंमा रहेको पाँचतारे होटेल सांग्रिलाले साउन १९ (जनैपूर्णिमा)देखि होटेल सञ्चालनमा ल्याउने तयारी गरेको छ भने अर्काे पाँचतारे होटेल र्‍याडिसनले भदौ पहिलो सातादेखि सञ्चालन गर्नेगरी गृहकार्य गरिरहेको छ । त्यस्तै, रेस्टुराँ तथा बार व्यवसायीले पनि आफ्नो सेवा सञ्चालनका लागि कर्मचारीलाई तालीम दिने, स्वास्थ्य मापदण्ड बनाउने लगायत काम शुरू गरेका छन् ।

अहिले ठूलाभन्दा पनि साना र मझौलास्तरका होटेल सञ्चालनको तयारी भइरहेको होटेल एशोसिएशन अफ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन् । सरकारी निर्णयसँगै होटेलहरू खुला गर्ने तयारी शुरू भइसकेको जानकारी दिँदै शाहले भने, ‘अहिले व्यापार तथा नाफाभन्दा पनि व्यवसायलाई लयमा फर्काउन र व्यवसाय गर्ने वातावरण सहज बनाउने सन्देश दिन मात्रै सञ्चालन शुरू गर्नेछौं ।’ एयरपोर्ट होटेलका कार्यकारी निर्देशकसमेत रहेका शाहले हालका लागि कुल क्षमताको १० प्रतिशतसम्म सेवा प्रवाह गर्नेगरी होटेल सञ्चालन गर्ने तयारी गरिएको बताए ।

जनैपूर्णिमादेखि होटेल सञ्चालन गरिने जानकारी दिँदै सांग्रिला होटेलका कार्यकारी निर्देशक प्रवीणबहादुर पाण्डेले अहिले कारोबार ठप्प र रूमहरू सबै खाली भए पनि मेन्टेनेन्सका लागि मात्रै भए पनि सञ्चालन गरिने बताए । ‘सभा–सम्मेलन, सामूहिक भोजजस्ता कार्य गर्न अझै पाइँदैन । तर व्यक्तिगत रूपमा केही ग्राहक आउने हुँदा कफी शप तथा रेस्टुराँ मात्र खुले पनि कुल कारोबारको २ देखि १० प्रतिशत व्यापार हुने अपेक्षा छ,’ पाण्डेले बताए, ‘यसका लागि १० प्रतिशत कर्मचारी परिचालन हुनेछन् ।’

सरकारले होटेल खोल्न अनुमति दिए पनि विदेशबाट आउने पर्यटक क्वारेन्टिनमा १४ दिन नै बस्नु पर्ने/नपर्ने अथवा पीपीआर रिपोर्ट नेगेटिभ भए मात्रै पुग्ने लगायत विषयमा अझै अन्योल कायम रहेको होटल व्यवसायीहरू बताउँछन् ।

विदेशी पर्यटक क्वारेन्टिनमा बस्न नेपाल नआउने बताउँदै पाण्डेले १४ दिन क्वारेन्टिनमा बस्ने प्रावधान रहे पर्यटक नआउने दाबी गरे । अहिले चिनियाँ पर्यटकले बुकिङ गर्ने केही सम्भावना भए पनि यही व्यवस्थाका कारण बुुकिङ अनिश्चित भएको भनाइ छ ।

मेरियट होटेल काठमाडौंका सञ्चालक शशिकान्त अग्रवालले होटेल खोल्न कुनै समस्या नभए पनि अतिथि कहाँबाट ल्याउने भन्ने समस्या भने रहेको औंल्याए । काठमाडौंमा आन्तरिक पर्यटक होटेलमा आउने सम्भावना नभएको भन्दै उनले अन्तरराष्ट्रिय उडान नहुँदा र पर्यटकको गतिविधि नबढ्दासम्म व्यवसायले गति लिन नसक्ने बताए ।

होटेल र्‍याडिसनका एक वरिष्ठ अधिकारीले भदौ पहिलो हप्तादेखि होटेल सञ्चालन गर्ने योजना रहेको बताए । सरकारले भन्नेबित्तिकै होटेल सञ्चालन गर्ने अवस्था नरहेको भन्दै उनले सञ्चालनका लागि सेड्युल बनाउँदै गरिएको जानकारी दिए । भारत, चीन र अमेरिकाबाट पर्यटकले बुकिङका लागि चासो दिएको उनको भनाइ छ ।

होटेल सञ्चालन भए पनि वा नभए पनि कर्मचारीलाई पारिश्रमिक दिने निर्णय गरेको हानले असार २८ गते श्रमिक संगठनहरूबीच गरेको सम्झौताअनुसार होटेलहरूले कर्मचारी परिचालन गर्नेछन् । होटेल सञ्चालन गर्न आवश्यकता बमोजिम व्यवस्थापनले चक्रीय प्रणालीअनुसार कर्मचारीलाई आलोपालो काममा लगाउनेछ । होटेल व्यवस्थापनले काममा बोलाएको अवस्थामा कर्मचारी काममा उपस्थिति हुनुपर्नेछ । रेस्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेबान)ले पनि व्यवसाय सञ्चालनका लागि आफ्ना सदस्यमध्ये २०० रेस्टुराँ तथा बारलाई तालीम दिइसकेको छ । रेबानका अध्यक्ष अरनिको राजभण्डारीले सुरक्षित सेवा प्रवाहका लागि रेबानले स्वास्थ्य मापदण्डसमेत जारी गरिसकिएको बताए । उनका अनुसार काठमाडौं, पोखरा र चितवन (सौराहा)का रेस्टुराँ तथा बारलाई यस्तो तालीम दिइएको छ । अहिले काठमाडौंमा रेस्टुराँहरू क्रमशः सञ्चालन आउन थालेको र करीब ३० प्रतिशत रेस्टुराँ खुलिसकेको जानकारी उनले दिए ।