aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

आजको आवश्यकता - कृषिमा प्रविधिको अपरिहार्यता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
Reliance life insurance
आजको आवश्यकता - कृषिमा प्रविधिको अपरिहार्यता
LBEF

विषय प्रवेश
कुल क्षेत्रफलको करिब ३०९१ हजार हेक्टर जमिनमा गरिएको परम्परागत उत्पादन प्रणालीबाट उत्पादित कृषिको उत्पादन दिनप्रतिदिन घट्दै गएको तथ्याङ्क कृषि विकास मन्त्रालयबाट प्रकाशित वार्षिक प्रतिवेदनमा  प्रस्ट देखिन्छ । उता केन्द्रीय तथ्याङ्क विभागले जनसङ्ख्या बृदिदर कायमै रहेको देखाएको छ । कुल ग्राहस्थ उत्पादनमा एकतिहाई योगदान गर्दै करिब ६२ प्रतिशत नेपालीलाई रोजगारको अवसर प्रदान गर्ने कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड हो  । तर, कृषि उत्पादन र उत्पादकत्व हरेक वर्ष खुम्चँदै गएको छ ।

यसरी बढ्दै गएको जनसङ्ख्या र घट्दै गएको कृषिको उत्पादन बिचको दुरीले राज्यमा खाद्य अभावको समस्या देखिन थालेको छ जसको परिणाम स्वरूप राज्यले ठुलो परिमाणमा छिमेकी मुलुकबाट खाद्यान्न आयात गर्दै आएको  छ ।

खेती योग्य जमिनको पूर्ण सदुपयोग गरी माटो सुहाउँदा खेती गर्न नसक्नु, गरिबी र रोजगारीको अभावका कारण राम्रो अवसरको खोजीमा देशको युवा शक्ति विदेश पलायन हुनु, परम्परागत उत्पादन प्रविधि, अत्याधुनिक औजार, मल, बीउको अभाव, तथा उपलब्ध साधन र स्रोतको पूर्ण प्रयोग हुन नसक्नु, तालिम तथा कृषि शिक्षाको अभाव, सिँचाई सुविधाको अपर्याप्तताले उत्पादनमा ह्रास आइरहेको छ । उत्पादित बस्तुको सञ्चय गर्न भण्डारको व्यवस्था नहुनु, बजारीकरण हुन नसक्नु तथा सामुदायिक कृषि प्रणाली लागू हुन नसक्नु आदिले गर्दा हरेक वर्ष कृषिको उत्पादन घट्दै गएको देखिन्छ ।

कृषिको तात्कालिक आवश्यकता  
घट्दै गएको कृषिको उत्पादनको असर राज्यको हरेक क्षेत्रले भोग्दै आएको छ । कोरोना महामारी र परिवर्तित सन्दर्भमा राष्ट्रिय अर्थतन्त्रको विकासलाई एउटा उचाइमा पुर्‍याउन कृषिमा प्रविधिको प्रयोग आजको समयको माग हो । परम्परागत रूपमा जीविकोपार्जनका लागि गरिने निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक, सघन, प्रतिस्पर्धी एवं व्यवसायीमूखी बनाउन कृषिमा प्रविधिको हस्तान्तरण आवश्यक छ ।

आधुनिक पूर्वाधार सहितको बजारको विस्तार तथा प्रवर्द्धन गर्न, आन्तरिक बजार तथा निर्यातप्रवद्र्धनमा योगदान पुर्‍याउन र ग्रामीण क्षेत्रमा गरिबी घटाउनका लागि कृषिमा समयसापेक्ष प्रविधिको खाँचो छ । कृषि क्षेत्रको आधुनिकीकरणको लागि आवश्यक तथ्याङ्क र भौगोलिक सूचना सम्बन्धी अनुसन्धानात्मक कार्य गरी दक्ष जनशक्तिद्वारा परम्परागत कृषि व्यवस्थालाई आधुनिक कृषि प्रणालीमा परिवर्तन गरी उत्पादकत्वमा वृद्धि ल्याउन कृषिमा आधुनिक प्रविधिको आवश्यक छ ।

किसानहरूलाई विभिन्न तालिमद्वारा सक्षम बनाई उत्पादन क्षमतामा वृद्धि ल्याउनको लागि माटो सुहाउँदो आधुनिक उन्नत जातको मल बिउको व्यवस्थापनको साथै सिचाईं सुविधाको विकास तथा कृषि ऋणको व्यवस्थापनद्वारा कृषिको उत्पादनमा काया पल्टाउने हरित क्रान्तिको पहल आजको समयको माग हो । जसको लागि प्रविधिले आधार स्तम्भको रूपमा कार्य गर्छ ।

कृषिमा प्रविधिको रूपान्तरणले स्थानीय सम्भाव्यता तथा तुलनात्मक लाभको आधारमा बाली तथा बस्तु विशेषका पकेट क्षेत्रहरूको पहिचान गरी सम्भाव्य बाली तथा वस्तुको उत्पादन बढाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । आफ्नै देशमा केही गर्ने भावना बोकेर कोरोना महामारीको कारण देश भित्रिएका नेपालीहरूले विदेशमा सिकेको सिपको कम लागतमा नयाँ प्रविधिको सदुपयोग गर्ने मौका छ ।

प्रविधि उपयोग विधि
कोरोनाले विश्व अर्थतन्त्रलाई थला पारेको यस विषम परिस्थितिमा कृषि मात्र एउटा यस्तो उपाय हो जसको माध्यमबाट राज्यको अर्थतन्त्रले उन्मुक्ति पाउन सक्छ । त्यसैले प्रविधिको माध्यमद्वारा कृषि सहकारीको लागि राज्यका तिनै तहहरू मिलेर स्थानीय तह तथा सार्वजनिक, निजी साझेदारी अवधारणको विकास गरी निजी, सहकारी, सरकारी, गैह्र सरकारी तथा सामुदायिक संघ संस्थाहरूलाई साझेदारी निकायको रूपमा समेटी कृषि बस्तुको बढ्दो आन्तरिक तथा बाह्य माग परिपूर्ति गर्न सकिन्छ ।

जसको लागि स्थानीय सरकारले आफ्नो क्षेत्रमा खेती योग्य जमिन कति छ भनी माटो सुहाउँदो उन्नत जातको बीउबीजन तथा प्रविधिको उपयोगको लागि सर्भे गरी रोष्टर तयार गर्नु पर्छ । साथै सार्वजनिक – निजी साझेदारी अवधारणा अनुरूप बजार सूचना प्रवाह एवं पुर्वाधारहरुको विकास गरी उत्पादित कृषिजन्य उपजहरूको बजारीकरणमा टेवा पुर्‍याउन तथा सहुलियतपूर्ण कृषि ऋण एवं बाली बीमाको व्यवस्था र कृषि जन्य उद्योग तथा व्यापारमा कर सुविधा समेतको व्यवस्था गर्नुपर्छ । यसो भएमा कृषि जन्य उत्पादनमा वृद्धि भई एकातिर राज्यको व्यापार घाटा कम हुन जान्छ भने अर्कोतिर विप्रेषणमा निर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बन्न टेवा पुग्छ ।

यस वर्षको बजेटमा क्षेत्रगत हिसाबमा हेर्ने हो भने कृषि सरकारको प्राथमिकतामा परेको छ फलस्वरूप कूल बजेटको रु ६८  अर्ब बजेट यो सरकारले कृषिको लागि विनियोजन गरेको पाइन्छ तर कार्यान्वयन पक्षमा फेरि पनि इतिहास दोहोरियो भने किसानहरूको लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै हुन जान्छ । कृषिमा आधारित उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थहरूको अभावको कारण समग्र उत्पादन र उत्पादकत्वमा कमी आई कृषिमा आधारित उद्योग बन्द हुने स्थिति आउँछ । जसको ज्वलन्त जसको उदाहरणको रूपमा नेपालको पहिलो ठुलो उद्योग विराटनगरको रघुपति जुट मिललाई लिन सकिन्छ ।  त्यसैले समय सापेक्ष मितव्ययी प्रविधिको प्रयोगमा गरी कृषिको उत्पादन बढाउन जरुरी छ ।

प्रविधि प्रयोगको लाभ
कृषिमा प्रविधिको प्रयोगले मनसुनमा निर्भर कृषि प्रणालीमा राज्यमा उपलब्ध जलश्रोतको पूर्ण सदुपयोग गर्दै वैज्ञानिक भू–उपयोगको माध्यमद्वारा बाली विविधिकरण तथा कृषि उत्पादनमा महत्त्वपूर्ण योगदान दिन्छ । प्रविधिले बढ्दो जनसंख्यासगैँ विभिन्न प्रयोजनको लागि बढ्दो भूमिको माग पूरा गर्न सहयोग गर्छ । एकातिर अनियन्त्रित तथा अव्यवस्थित रूपमा बढ्दै गएको सहरीकरणले जथाभाबी आवासको निर्माणले कृषिको उत्पादन घट्दै गएको छ भने अर्कोतिर कृषि विकास तथा वातावरण बिचमा असन्तुलन पैदा गरेको छ ।

अब विदेशबाट स्वदेश फर्कन लागेका ठुलो जनसमुदायलाई  व्यवस्थापन गरी कृषि विकास र वातावरण सङ्क्रमण बिच सन्तुलन कायम राखी दिगो विकासमा परेको नकारात्मक असरलाई कम गरी कम उर्वराशक्ति भएको जग्गालाई आवास तथा सामाजिक प्रयोजनको लागि उपयोग गर्न कृषि प्रविधि मैत्री हुन जरुरी छ । यसले वर्षैनी बढ्दै गएको खाद्यान्नको परनिर्भरतालाई कम गराउन सकिन्छ ।

कृषि शिक्षा, कृषि अनुसन्धान, कृषि प्रचारप्रसार बिच समन्वयात्मक रूपमा कार्यक्रम सञ्चालन गरी कृषि उत्पादन आपूर्तिमा राज्य भित्रको उत्पादनलाई आन्तरिक बजारको व्यवस्थापन, कृषि  विकास कार्यक्रमहरूलाई विश्वव्यापार सङ्गठन एवं क्षेत्रीय स्तरका व्यापार सम्झौताहरूबाट प्राप्त अवसरहरूको अधिकतम लाभ लिने तर्फ उन्मुख गराउन, परम्परागत कृषि पेसालाई वैदेशिक ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गरी कृषि वस्तुको आपूर्ति कम गर्दै बढ्दो मागलाई पूरा गर्न आम सञ्चारका माध्यमले पनि प्रविधिको रूपमा काम गर्न सक्छन् ।

कृषिले कुल उत्पादकत्व क्षमतामा वृद्धि ल्याई राज्यमा बढ्दो बेरोजगारी समस्याको समाधान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । जसको लागि आवश्यकता अनुसार छिमेकी मुलुकबाट प्राविधिक औजार तथा जनशक्ति ल्याएर तालिमको व्यवस्था गरी परम्परागत प्रविधिलाई आधुनिक कृषि प्रणालीमा मध्यस्थताको भूमिका सरकारले गर्नुपर्छ । यसरी कृषिमा प्रविधिको हस्तान्तरणले समग्र सर्वसाधारण जनताको जीवनस्तरमा सुधार ल्याई देशको दिगो विकासमा टेवा मिल्छ । (लेखिका अर्थशास्त्र विषयको प्राध्यापक हुन)

प्रतिक्रिया दिनुहोस