शीर्षकहरू

ज्याला नपाएपछि आंशिक प्राध्यापकले पढाउन छाडे

ज्याला  नपाएपछि आंशिक प्राध्यापकले पढाउन छाडे

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंशिक प्राध्यापकले बन्दाबन्दीका बेलामा अध्यापन गरेको ज्याला नपाएपछि पठनपाठन बन्द गर्ने निर्णय गरेका  छन । त्रिविका आंशिक प्राध्यापकहरूको बाँकी ज्याला तथा बन्दाबन्दीको समयावधिभरका लागि शैक्षिक भत्ता तत्काल उपलब्ध गराउनुपर्ने माग राखेर अध्यापन बन्द गरेका हुन । 

विगत १४ वर्षदेखि त्रि.वि.वि.अन्तर्गत आंगिक क्याम्पसहरूमा आंशिक प्राध्यापकहरू प्राध्यापनरत रहेका छन् । विश्वव्यापी महामारीका कारण बन्दाबन्दी शुरु हुनुभन्दा अगाडि चैत ६ गतेसम्म आफ्नो पठनपाठनको दायित्व आंशिक प्राध्यापकहरूले पूरा गरिरहेको बताएका छन । 

बन्दाबन्दीको केही समय लगत्तै वर्क फ्रम होम अन्तर्गत अनलाइन कक्षा समेत सञ्चालन गर्दै आएको उनीहरुले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । तर, हाल विश्वविद्यालयमा सञ्चालनमा रहेका शैक्षिक कार्यक्रमहरू प्राध्यापन गरेवापतको ज्याला नपाएको उनीहरुले गुनासो गरेका छन् । 

आंशिक प्राध्यापकहरूको दीर्घकालीन व्यवस्थापनका लागि त्रि.वि.वि.ले माग गरेको १४२० दरबन्दीलाई २०७४ मंसिर ८ गते तत्कालीन मन्त्रीपरिषद्ले स्वीकृत गरेको थियो । लगत्तै नवगठित मन्त्रीमण्डलका अर्थमन्त्री डा. युवराज खतिवडाले जारी गरेको श्वेतपत्रमा अघिल्लो मन्त्रीपरिषद्ले गरेको उक्त निर्णयको पनि उल्लेख गरिएको उनीहरुले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

बन्दाबन्दीले हातमुख जोर्न समस्या पर्न थालेपछि विश्वविद्यालयलाई औपचारिक रूपमा  २०७७ बैशाख १९ गते नेपाल आंशिक प्राध्यापक संघले ज्ञापनपत्र बुझाएको थियो । बैशाख मसान्तसम्ममा समस्याको हल दिन आग्रह गरिएको उक्त समय अवधिभर वि.वि. मौन बसेको उनीहरुको आरोप लगाएका छन । वि.वि.का उपकुलपतिले अनौपचारिक रूपमा एक साताको समय मागेकोमा उक्त समय पनि सकिइसकेको यतिका समय बितिसक्दा पनि न विश्वविद्यालय न राज्य कतैबाट पनि हाम्रो समस्या समाधानका लागि कुनै पहल भएको छैन ।