शीर्षकहरू

दार्चुलाको खलंगामा पुग्यो नेपालकै बिजुली, आवश्यक परे निर्यात गर्न सकिने

दार्चुलाको खलंगामा पुग्यो नेपालकै बिजुली, आवश्यक परे निर्यात गर्न सकिने

काठमाडौं, जेठ १ । दार्चुलाको सदरमुकाम खलंगामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत्को पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी उक्त लाइन बुधबारबाट संचालन (चार्च)मा ल्याएको हो । अब खलंगा नेपालकै विद्युत् प्रणालीमा आवद्ध भएको छ । 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रिडबाट विद्युत् आपूर्ति शुरु गर्नुु ठूलो उपलब्धि भएको बताए । 
‘अहिले त्यहाँ भारतको उत्तराखण्डबाट विद्युत् आयात गरी आपूर्ति गरिरहेका थियौं, अब हाम्रै राष्ट्रिय ग्रिड पुगेपछि त्यस क्षेत्रमा आपूर्तिका लागि भारतबाट विद्युत् ल्याउनु पर्दैन, त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् आपूर्ति गछौं जसबाट भोल्टेजमा सुधार भई उपभोक्ताले विश्वसनीय र गुणस्तरीय विद्युत् प्रयोग गर्न पाउने छन् ।’ उनले भने–‘आवश्यक परेको बेला खलंगाबाट भारततर्फ विद्युत् पठाउने पूर्वाधार पनि तयार भएको छ ।’ 
प्राधिकरणले खलंगामा विद्युत आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी विन्दुबाट ११ केभी लाइनमार्फत विद्युत् आयात गरिरहेको थियो । प्राधिकरणले विद्युत् आयात गरेवापत उत्तराखण्ड पावर कर्पोरेसन लिमिटेडलाई मासिक रुपमा करिब २५ लाख रुपैयाँ भुक्तानी गर्दै आएको थियो । खलंगा क्षेत्रमा करिब ८ हजार ग्राहक छन् ।