शीर्षकहरू

चियाघरमा घूसको मोलमोलाई, कर्मचारीलाई घुस नखुवाउनेको कामै नहुने

चियाघरमा घूसको मोलमोलाई, कर्मचारीलाई घुस नखुवाउनेको कामै नहुने

बुटवल । मालपोत कार्यालय अनलाइन प्रणालीमा जानु सेवा प्रवाह सजिलो बनाउनु हो। तर बुटवल मालपोतका गतिविधि देख्दा त्यसको उल्टो लाग्छ। अनलाइनकै नाममा सर्वसाधारणले एक सातासम्म मालपोत धाउनुपर्ने बाध्यता त छँदै छ, कर्मचारीलाई घूस लिनसमेत सजिलो भएको छ।

‘पाँच हजार तिरेपछि फास्ट ट्र्याकमा काम हुन्छ’, मालपोतका एजेन्टहरू सेवाग्राहीलाई सुझाव दिन्छन्। सधैं लेखनदासले घेरिने मालपोतमा घूस दिन नसक्नेहरू सात दिनसम्म धाउनुपर्छ। केही समयअघि भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले दलाललाई मालपोतको गेटभित्र पस्न नदिने घोषणा गरेकी थिइन्। बुटवलको मालपोतमा भने तिनै दलाल सरकारी काम गरिरहेका भेटिन्छन्।

कागपत्रमा छाप लगाउने, ढड्डा खोज्ने, लेख्ने, मिलाउने काम कर्मचारीले गरिरहनुपर्दैन। उनीहरूले त टेबलको घर्रा खोलेर ‘घूस’ थापिदिए पुग्छ। मालपोतमा पचास–सय रुपैयाँ घूस सामान्य छ। अहिले अनलाइन प्रणालीको विकास भएपछि त्यो दर कम्तीमा पाँच हजार पुगेको छ। एजेन्टहरूले सेवाग्राहीबाट लिएको रकममध्ये ३ हजारदेखि ३५ सयसम्म कर्मचारीलाई दिएर काम गराउँछन्।

यी कुरालाई मालपोत अधिकृत सामान्य मान्छन्। ‘कर्मचारी कम भएको बेलामा उहाँहरूले सहयोग गर्नुभएको छ’, एक जना मालपोत अधिकृतले भने, ‘मालपोतमा अलिअलि लेनदेन भन्ने कुरा सामान्य नै भयो।’

सोमबार कार्यालय खुल्नुभन्दा आधा घण्टाअगाडि नै अन्नपूर्णको टोली पुग्दा बुटवल दीपनगरस्थित मालपोत कार्यालयमा सेवाग्राहीको भीड थियो। राजस्व लिने स्थानमा खुला शौचालयको दुर्गन्धले बस्नै सक्ने अवस्था थिएन। तर पनि सेवाग्राही नाक थुनेरै लामबद्ध थिए। सात दिनदेखि मालपोत धाइरहेका सेवाग्राही बिहानैदेखि लाइनमा पालो कुरिरहेका थिए। बुटवलको गर्मी, टिनमुनिको सेवा। वृद्धवृद्धाहरूलाई अझ सकस थियो। ७० नाघेका वृद्धवृद्धा पनि लाइनमै देखिन्थे।  अन्नपूर्ण पोस्टबाट ।