शीर्षकहरू

नेतृत्वको मूल्य : बीमा कम्पनीका सीईओको तलब भत्ता कति ?

नेतृत्वको मूल्य : बीमा कम्पनीका सीईओको तलब भत्ता कति ?

काठमाडौं । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरूले वार्षिक करोडौं रुपैयाँ तलब भत्ता बुझ्ने गरेका छन् । आकर्षक सेवा सुविधा सहितको पारिश्रमिक कतिपय अवस्थामा कम्पनीको मुनाफाभन्दा पनि बढी देखिन्छ । बीमितलाई आर्थिक सुरक्षाको भरोसा दिने भन्दै दाबी भुक्तानीमा वर्षौ अलमल गराउने कम्पनीहरूका सिईओहरूको प्राप्त गर्ने सुविधा भने आम नागरिकको कल्पनाभन्दा बाहिरको छ । 

कम्पनीहरुले सार्वजनिक गरेको बार्षिक वित्तीय विवरण अनुसार २४ वटा जीवन बीमा कम्पनीका सिईओहरुले वार्षिक ३२ करोड ६६ लाख रुपैयाँ तबल भत्ता बुझेका छन् । जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै तलब भत्ता प्राप्त गर्नेमा मुख्य पाँच सिईओहरुमा प्रवीण रमण पराजुली (नेपाल लाइफ), सुरेश कुमार खत्री (नेशनल लाइफ), नारायण बाबु लोहनी (रिलायबल लाइफ), प्रनय कुमार (एलआईसी नेपाल) हुन् । 

त्यस्तै, निर्जीवन बीमा कम्पनीमा धेरै तलब भत्ता प्राप्त गर्ने मुख्य पाँच सिईओहरु अशोक कुमार खड्का (नेको इन्स्योरेन्स), दीप प्रकाश पाण्डे (शिखर इन्स्योरेन्स), चंकी क्षेत्री (सगरमाथा लुम्बिनी), विजय बहादुर शाह (हिमालयन एभरेष्ट) र वीरेन्द्र बैदावर (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) हुन्। 

हामीले यो रिपोर्ट तयार पार्दासम्म राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । त्यस्तै, मेट लाइफ इन्स्योरेन्स कम्पनीले भने सिईओको पारिश्रमिक र तलब भत्ताको विवरण उपलब्ध नै गराएन । 

कम्पनीको वेबसाइटमा सार्वजनिक भएका २४ वटा बीमा कम्पनीमध्ये युनाइटेड अजोड इन्स्योरेन्सले आव २०८०/८१ को विवरण सार्वजनिक गरेको छैन । आव २०७९/८० कै वित्तीय विवरणबाट नै सिईओले तलब भत्ताको विवरण लिइएको हो । त्यस्तै, सात वटा जीवन बीमा कम्पनीको पनि गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । 

धेरै तलब भत्ता प्राप्त गर्ने जीवन बीमा कम्पनीका मुख्य पाँच सिईओहरु 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले वार्षिक दुई करोड २० लाख ९५ हजार रुपैयाँ वार्षिक पारिश्रमिक लिने गरेका छन् । उनी जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै तलब भत्ता लिनेमा पर्छन् । कम्पनीको २०८०/८१ को वित्तीय विवरण अनुसार उनले कर्मचारी बोनस बापत ६७ लाख ५६ हजार, अन्य सुविधा बापत १० लाख २९ हजार बुझेका छन् । आव २०७९/८० मा उनले एक करोड ४२ लाख ७५ हजार रुपैयाँ पारिश्रमिक लिएका थिए ।  

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले वार्षिक दुई करोड १ लाख ६२ हजार रुपैयाँ पारिश्रमिक लिएका छन् । उनी धेरै तलब भत्ता लिनेमा दोस्रोमा सूचीमा पर्छन्  । कम्पनीको २०७९/८० को वार्षिक वित्तीय विवरण अनुसार उनले कर्मचारी बोनस बापत ७९ लाख ८९ हजार रुपैयाँ बुझेका छन् । आव २०७८/७९ मा उनले एक करोड ४६ लाख ७७ हजार रुपैयाँ पारिश्रमिक बुझेका थिए । 

रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण लोहनीले वार्षिक एक करोड ६२ लाख ६६  हजार रुपैयाँ पारिश्रमिक बुझ्ने गरेका छन् । कम्पनीको २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार उनले कर्मचारी बोनस बापत २९ लाख ३४ हजार र अन्य सुविधा बापत ५५ लाख ७ हजार रुपैयाँ बुझेका छन् । आव २०७८/७९ मा उनले एक करोड ३४ लाख ७१ हजार रुपैयाँ पारिश्रमिक बुझेका थिए । 

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले वार्षिक एक करोड २४ लाख ६१ हजार रुपैयाँ पारिश्रमिक बुझने गरेका छन् । कम्पनीको कम्पनीको २०८०/८१ को वित्तीय विवरण अनुसार उनले सो आवमा कर्मचारी बोनस बापत १० लाख २४ हजार, अन्य सुविधा बापत तीन लाख ९३ हजार, दुर्घटना बापत ९ हजार ४५५ र स्वास्थ्य बीमा बापत ५ हजार रुपैया बुझेका छन् । आव २०७९/८० मा उनले ७१ लाख १४ हजार पारिश्रमिक बुझेको तथ्यांक छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका प्रमुख कार्यकारी अधिकृत प्रनय कुमारले एक करोड १४ लाख २२ हजार रुपैयाँ वार्षिक पारिश्रमिक लिएका छन्  । कम्पनीको २०७९/८० को वित्तीय विवरण अनुसार उनले अन्य कुनै सुविधा लिएका छैनन् । आव २०७८/७९ मा उनले एक करोड ५९ लाख ३१ हजार रुपैयाँ वार्षिक पारिश्रमिक लिएका थिए ।

धेरै तलब भत्ता प्राप्त गर्ने निर्जीवन बीमा कम्पनीका मुख्य पाँच सिईओहरु 

नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले वार्षिक तीन करोड २२ लाख ७ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् । आव २०८०/८१ मा उनले कर्मचारी बोनस बापत ५१ लाख ७० हजार रुपैयाँ बुझेका छन् । इन्सेन्टिभ बापत एक करोड १२ लाख रुपैयाँ बुझेका छन् । दुर्घटना बापत ६२ हजार र स्वास्थ्य बीमाको १९ हजार पनि प्राप्त गरेका छन । खड्काले आव २०७९/८० मा दुई करोड ९९ लाख ३७ हजार पारिश्रमिक मात्रै बुझेको तथ्यांक छ ।

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले वार्षिक दुई करोड ५८ लाख ४० हजार रुपैयाँ पारिश्रमिक बुझने गरेका छन् । गत आव २०८०/८१ मा कर्मचारी बोनस बापत एक करोड २८ लाख ९३ हजार, जीवन बीमा बापत ४ लाख ६१ हजार, दुर्घटना बीमा बापत ३ हजार ९०० र स्वास्थ्य बीमा बापत ८ हजार ४०० रुपैयाँ बुझेका छन् । आव २०७९/८० मा उनले दुई करोड ३१ लाख ५२ हजार पारिश्रमिक बुझेका थिए ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रले भने वार्षिक एक करोड ६६ लाख रुपैयाँ बुझ्दै आएका छन् । गत आव २०८०/८१ मा उनले कर्मचारी बोनस बापत २१ लाख ५० हजार, अन्य सुविधा बापत १४ लाख १३ हजार, दुर्घटना बापत १५ हजार ८१३ र स्वास्थ्य बीमा बापत २३ हजार ४०० प्राप्त गरेका छन् । आव २०७९/८० मा भने उनले एक करोड ६ लाख  पारिश्रमिक लिएका थिए ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको वार्षिक पारिश्रमिक एक करोड ४९ लाख २२ हजार ५६४ बुझ्थे । आव २०८०/८१ मा प्रमुख कार्यकारी अधिकृत शाहले कर्मचारी बोनस बापत १८ लाख ९ हजार, इन्सेन्टिभ २९ लाख र स्वास्थ्य बीमा बापत ६४ हजार बुझेका छन् । तर, शाहले २०८१ असार देखि कम्पनी छाडेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अहिले अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । आव २०७९/८० मा उनले एक करोड २० लाख रुपैयाँ पारिश्रमिक मात्रै बुझेको तथ्यांक छ ।

सिद्धार्थ प्रिमियरका इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदावर क्षेत्रीले वार्षिक एक करोड ४५ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् । आव २०८०/८१ मा उनले कर्मचारी बोनस बापत ८७ लाख २ हजार र प्रचलित अन्य सुविधा बापत २१ लाख ३० हजार प्राप्त गरेका छन् । आव २०७९/८० मा उनले ६७ लाख ६० हजार वार्षिक पारिश्रमिक लिएका थिए।

तलब, भत्ता तथा अन्य सुविधा सहित चार प्रकार सुविधा प्राप्त गर्छन बीमकहरुले 

नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शनले बीमा कम्पनीका सिईओलाई चार प्रकारका सुविधा लिन सक्ने व्यवस्था गरेको छ । मार्गदर्शन अनुसार सिईओहरुले निश्चित वार्षिक तलब तथा भत्ताहरु, कार्यसम्पादनमा आधारित पारिश्रमिक, बीमा सम्बन्धी सुविधाहरु र अन्य आर्थिक सुविधाहरु लिन पाउँछन।

अजोड युनाइटेड इन्स्योरेन्स कम्पनीका सिईओ श्रवण रावलले वार्षिक ५८ लाख ६६ हजार पारिश्रमिक बझुेका छन् । कम्पनीको २०७९/८० को बार्षिक वित्तीय विवरण उनले १३ लाख २८ हजार कर्मचारी बोनस र १४ लाख ७९ हजार इन्सेन्टिभ बुझेका छन् ।

आईजिआई प्रडुन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त वादे श्रेष्ठले वार्षिक एक करोड १८ लाख ३६ हजार पारिश्रमिक बुझछन् । आव २०८०/८१ मा कर्मचारी बोनस बापत उनले १३ लाख ४५ हजार रुपैयाँ बुझेका छन् । कम्पनीको वार्षिक वित्तीय विवरण अनुसार आव २०७९/८० मा उनले एक करोड ११ लाख ६६ हजार ८५८ रुपैयाँ पारिश्रमिक मात्रै बुझेका छन् ।

नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बीर कृष्ण महर्जनले आव २०८०/८१ मा एक करोड ३१ लाख ९६ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् । पारिश्रमिक बाहेक उनले कर्मचारी बोनस बापत ३८ लाख ४८ हजार ४९६ रुपैयाँ प्राप्त गरेका छन् । स्वास्थ्य बीमा बापत ३ हजार बुझेका छन् । आव २०७९/८० मा उनले एक करोड ०८ लाख ९८ हजार पारिश्रमिक मात्रै बुझेको तथ्यांक छ ।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले ९२ लाख २२ हजार रुपैयाँ वार्षिक पारिश्रमिक बुझेका छन् । आव २०८०/८१ मा उनले कर्मचारी बोनस बापत ९ लाख ७३ हजार रुपैयाँ बुझेका छन् । आव २०७९/८० मा उनले ८३ लाख रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले वार्षिक ८१ लाख ४३ हजार पारिश्रमिक छ  । आव २०८०/८१ मा उनले कर्मचारी बोनस बापत १४ लाख ३६ हजार रुपैयाँ र स्वास्थ्य बीमा बापत ७ हजार ५०० रुपैया प्राप्त गरेका छन् । आव २०७९/८० मा उनले ८९ लाख १९ हजार नै वार्षिक पारिश्रमिक पाएका थिए । 

सानिमा जिआईसीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले वार्षिक एक करोड १४ लाख रुपैयाँ पारिश्रमिक बुझछन् । उनले गत आव २०८०/८१ मा कर्मचारी बोनस बापत १८ लाख २६ हजार, प्रचलित सुविधा बापत १२ लाख ३५ हजार ७८६ र जीवन बीमा बापत ३ लाख रुपैयाँ प्राप्त गरेका छन् । आव २०७९/८० मा उनले ९८ लाख ५२ हजार पारिश्रमिक बुझेका थिए ।

ओरिण्यटल इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत भिवि घाटेले एक करोड २० लाख रुपैयाँ वार्षिक पारिश्रमिक बुझेका छन् । कम्पनीको आव २०७९/८० को तथ्यांक अनुसार उनले सो आवमा कर्मचारी बोनस बापत ४१ लाख ७४ हजार र प्रचलित अन्य सुविधा बापत ११ लाख १९ हजार प्राप्त गरेका छन् । आव २०७८/७९ मा भने उनले ७३ लाख ९ हजार पारिश्रमिक लिएका थिए । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अहिले श्री टोटन चक्रवती नियुक्त भएका छन् । 

null

एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले वार्षिक एक करोड १२ लाख ४ हजार पारिश्रमिक बुझने गरेका छन् । कम्पनीको २०७९/८० सालको वार्षिक वित्तीय विवरण अनुसार उनले कर्मचारी बोनस बापत २१ लाख ४३ हजार, अन्य सुविधा बापत ५ लाख ४९ हजार र जीवन बीमा सुविधा बापत ७२ हजार रुपैयाँ प्राप्त गरेका छन् । श्रेष्ठले आव २०७८/७९ मा ८८ लाख ६२ हजार रुपैयाँ पारिश्रमिक लिएका थिए ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले वार्षिक ९० लाख ६८ हजार रुपैयाँ पारिश्रमिक बुझने गरेका छन् । कम्पनीको आव २०८०/८१ को वार्षिक वित्तीय विवरण अनुसार उनले कर्मचारी बोनस बापत ५ लाख ५९ हजार ७९१, दुर्घटना बीमा बापत २५ हजार र स्वास्थ्य बीमा बापतको ६ हजार ७५० रुपैयाँ बुझेका छन् । आव २०७९/८० मा भने उनले एक करोड १६ लाख  रुपैयाँ पारिश्रमिक बुझेका थिए । 

हिमालयन जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले वार्षिक एक करोड एक लाख ८ हजार रुपैयाँ वार्षिक पारिश्रमिक बुझछ्न । कम्पनीको २०७९/८० को वित्तीय विवरण अनुसार उनले सुविधा बापत ५ लाख ५४ हजार ४५२ र जीवन बीमा बापत उनले एक लाख १३ हजार ८८४ रुपैयाँ बुझेका छन् । आव २०७८/७९ मा उनले एक करोड १७ लाख ६९ हजार रुपैयाँ पारिश्रमिक लिएका थिए ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले वार्षिक एक करोड ४ लाख ८० हजार रुपैयाँ वार्षिक पारिश्रमिक बुझने गरी सम्झौता भएको थियो । तर, उनले २०८१ को कार्तिकमा राजीनामा दिए  । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार २०८०/८१ मा उनले कर्मचारी बोनस ११ लाख ४८ हजार ६६७ र स्वास्थ्य बीमा बापत ६ हजार रुपैयाँ प्राप्त गरेका छन् । आव २०७९/८० मा उनले ८८ लाख ५८ हजार वार्षिक पारिश्रमिक लिएका थिए । अहिले कम्पनीमा पवन खड्का प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले वार्षिक ८३ लाख ८२ हजार रुपैयाँ वार्षिक पारिश्रमिक लिएका छन् । कम्पनीको २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार उनले सो आवमा कुनै सुविधा लिएका छैनन् । आव २०७८/७९ मा भने उनले ३७ लाख ६७ हजार वार्षिक पारिश्रमिक लिएका थिए । 

सानिमा रियलायन्स इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले वार्षिक ९३ लाख १२ हजार रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । कम्पनीको २०८०/८१ को वार्षिक वित्तीय विवरण अनुसार उनले जीवन बीमा बापत ४० हजार, दुर्घटना बापत २१ हजार र स्वास्थ्य बीमा सुविधा बापत १५ हजार रुपैयाँ बुझेका छन् । आव २०७९/८० मा उनले २४ लाख ६८ लाख रुपैयाँ मात्रै पारिश्रमिक लिएको तथ्यांकमा उल्लेख छ ।

सन नेपालमा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले वार्षिक एक करोड ५ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । कम्पनीको २०७९/८० को वार्षिक वित्तीय विवरण अनुसार उनले सो आवमा कर्मचारी बोनस बापत १६ लाख, अन्य सुविधा बापत दुई लाख ९३ हजार र दुर्घटना बीमा बापत ४० हजार रुपैयाँ बुझेका छन् । आव २०७८/७९ मा ८३ लाख ३८ हजार रुपैयाँ पारिश्रमिक बुझेका थिए । 

null