काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण सोमबार(आज)पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त भएको छ ।
सरकारले विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सदनमा दर्ता गरेको शिक्षा विधेयक विरुद्ध बुधबारदेखि देशभरका शिक्षक काठमाडौंमा आन्दोलित भएका हुन् । जसका कारण काठमाडौंको भद्रकाली, बबरमहल, थापाथली, त्रिपुरेश्वर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वरलगायत ठाउँमा सवारी आवगमन अस्तव्यस्त भएको हो ।
आन्दोलनका कारण माइतीघरदेखि बानेश्वसम्म सवारी संचालन हुनै सकेका छैनन् भने अन्य स्थानमा ठूलो जाम भएको छ । जसकारण गन्तव्यमा हिँडेका यात्रुले हैरानी व्यहोर्नु परेको छ । मुख्य सडकमा सवारी आवगमन अवरुद्ध भएपछि नदी करिडोरमा चाप बढेको छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा भइरहेको आन्दोलमा शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वसम्म प्रदर्शन गरिरहेका छन् ।उनीहरु देशभरका सबै सामुदायिक विद्यालय नै बन्द गरेर आन्दोलनमा होमिँदा देशभरका लाखौं विद्यार्थी पढाइबाट बञ्चित भएका छन् भने काठमाडौंको सवारी आवगमन समेत प्रभावित बनेको छ ।
शिक्षकहरु प्रस्तावित विधेयमा गरिएका केही व्यवस्थाहरु खारेजसहित विभिन्न १८ बुँदे माग राख्दै आन्दोलमा उत्रिएका हुन् ।