काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालले करिब ५८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेकोे छ । विदेशी लगानीकर्ताले साउनदेखि चैतसम्म विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ५५ अर्ब ७ करोड तथा स्वचालित प्रणालीबाट २ अर्ब ८९ करोड गरी कुल ५७ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग विभागका अनुसार ४८० उद्योगका लागि यो लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ९ महिनामा २५६ उद्योगका लागि ५५ अर्ब ७ करोड ७४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट २२४ उद्योगका लागि २ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
चालु आवको ९ महिनाको अवधिमा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोे छ । यस्तै, ५१ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ ।
उद्योग विभागका अनुसार ९ महिनाको अवधिमा ४६८ वटा साना उद्योग, ८ वटा मध्यम र ४ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । ९ महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १२ हजार ४३५ जनाले रोजगारी पाउनेछन् ।
चैतमा ५३ उद्योगका लागि १३ अर्ब ३१ करोडको प्रतिबद्धता
चालु आर्थिक वर्षको चैत महिनामा मात्रै ५३ उद्योगका लागि १३ अर्ब ३१ करोड ५१ लाखरुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट २३ उद्योगका लागि १३ अर्ब १७ करोड ४० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, स्वचालित प्रणालीबाट ३० उद्योगका लागि १४ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।
चैत महिनामा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत कुनै पनि लगानी प्रतिबद्धता आएकोे छैन् । यस्तै ५ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ । चैत महिनाको प्रतिबद्धता अनुसार मात्रै १ हजार १८३ जनाले थप रोजगारी पाउनेछन् । चैतमा मात्रै ५३ वटा साना उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । यो महिनामा मध्यम र ठूला उद्योगका लागि कुनै लगानी प्रतिबद्धता प्राप्त भएको छैन् ।
सेवामुलुक क्षेत्रमा उच्च लगानी
विभागका अनुसार ९ महिनाको अवधिमा रकमको हिसाबमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता भने सेवा क्षेत्रमा प्राप्त भएको छ । यसले विदेशी लगानीकर्ताहरु नेपालको सेवामुलक क्षेत्रमा लगानी गर्न धेरै आकर्षित रहेको बुझिन्छ ।
चालु आवको ९ महिनामा आएको कुल लगानी प्रतिबद्धतामध्ये सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड ७७ लाख प्राप्त भएको छ । यो क्षेत्रका ६३ वटा उद्योगका लागि यो प्रतिबद्धता आएको हो । यस्तै पर्यटन क्षेत्रका १८९ वटा उद्योगहरुका लागि १८ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।
यस्तै, उत्पादनमुलुक क्षेत्रका ३४ उद्योगका लागि २ अर्ब ७४ करोड २० लाख, सूचना प्रविधि क्षेत्रका १८५ वटा उद्योगका लागि १ अर्ब ११ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार उर्जा क्षेत्रमा २५ करोड ५० लाख, कृषिमा ७६ करोड १० लाख तथा पूर्वाधार क्षेत्रका उद्योगमा २ करोड बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
पर्यटन र सूचना प्रविधि क्षेत्र विदेशीको रोजाईमा
विभागका अनुसार चालु आवको ९ महिनामा प्राप्त लगानी प्रतिवद्धता अनुसार संख्यात्मक हिसाबमा सबैभन्दा धेरै पर्यटन क्षेत्रका उद्योगका लागि आएको छ । यो क्षेत्रका १८९ उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । जुन कुल उद्योगहरुमा आएको प्रतिबद्धताको ३९.३७ प्रतिशत हो । सूचना प्रविधि क्षेत्रका १८५ उद्योगका लागि प्रतिबद्धता आएको छ । यो कुल प्रतिबद्धताको ३९ प्रतिशत हो । यस्तै सेवा क्षेत्रका ६३ वटा अर्थात १३ प्रतिशत, उत्पादन क्षेत्रका ३४ वटा अर्थात ७ प्रतिशत, कृषिका ७ वटा अर्थात २ प्रतिशत वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार हालसम्म ६ हजार ८७८ उद्योगका लागि कुल ५ खर्ब ७७ अर्ब ३१ करोड ७९ लाख ७० हजार रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । हालसम्म स्वचालित प्रणालीबाट ३६३ उद्योगका लागि ११ अर्ब १ करोड ४२ लाख रुपैयाँ तथा स्वीकृति प्रणालीबाट ६ हजार ५१५ उद्योगका लागि ५ खर्ब ६६ अर्ब ७० करोड ३७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता अनुसारको लगानी भएमा ३ लाख ४० हजार ५८२ रोजगारी सिर्जना हुने विभागको भनाइ छ ।
बिजनेस भिसा लिने लगानीकर्ता बढे
विभागको सार्वजनिक तथ्यांक अनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी बढेका छन् । ताजा तथ्यांक अनुसार ९ महिनामा २ हजार ५५५ जना लगानीकर्ताले यस्तो बिजनेस भिसाको सिफारिस मागेका छन् । अघिल्लो आवको सोही अवधिमा १ हजार ७२० सय जनाले यस्तो भिसा माग गरेका थिए । चैत महिनामा मात्रै १४८ लगानीकर्ताले बिजनेस भिसा लिएका छन् ।
त्यसैगरी, विदेशी लगाीकर्ताका प्रतिनिधि पनि यो अवधिमा बढेका छन् । ९ महिनामा २९७ जनाले बिजनेस प्रतिनिधि भिसा मागेका छन् । अघिल्लो वर्ष यही अवधिमा २५६ जनाले लिएका थिए । चैत महिनामा मात्रै २६ जनाले विदेशी लगाीकर्ताका प्रतिनिधिले विजनेस भिसा लिएका छन् । पछिल्लो ९ महिनामा ७७७ जनाले डिपेन्डेन्ट भिसा मागेका छन् । गत आवको यसै अवधिमा ७३३ जनाले डिपेन्डेन्ट भिसा लिएका थिए । चैत महिनामा मात्रै ८४ जनाले डिपेन्डेन्ट भिसा लिएका छन् । यस्तै ९ महिनाको अवधिमा विज्ञापनको लागि ६३ तथा टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) को लागि १५ लगानीकर्ताले भिसा लिएका छन् ।
लाभांश बापत साढे ९ अर्ब फिर्ता
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा वैदेशिक लगानीकर्ताले लाभांश बापत ९ अर्ब ४९ करोड ९६ लाख ९५ हजार रुपैयाँ बराबर फिर्ता लगेका छन् । गतवर्षको सोही अवधिमा ९ अर्ब १ करोड ८४ लाख ४७ हजार रुपैयाँ बराबरको रकम लाभांश बापत फिर्ता लगेका थिए । यो चैतमा मात्रै ४८ करोड १३ लाख रुपैयाँ लाभांश लगेको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार ९ महिनामा १ अर्ब ४७ करोड २० लाख नेपाली रुपैयाँ, ९३ लाख २४ हजार अमेरिकन डलर, ३८ करोड ३५ लाख भारतीय रुपैयाँ तथा ६१ हजार ४३१ युरो रोयल्टीबापत फिर्ता लगेका छन् ।