सुर्खेत । नयाँ वर्ष २०८२ भित्रिएको छ । नयाँ बर्षमा कतै नयाँ ठाउँमा घुम्ने योजना बनाउनेहरुका लागि कर्णाली एक आकर्षक गन्तव्य हुनसक्छ । नयाँ बर्षको सदुपयोग गर्न धेरैले आफ्नो पायक पर्ने रमणीय स्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ ।
अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । तपाइले पनि नयाँ बर्षमा कर्णाली घुम्ने योजना बनाउनु भएको छ भने यी ठाउँहरु उपयुक्त हुन सक्छन् ।
कर्णालीका आकर्षण
कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका १ सय १ पर्यटकीय क्षेत्रहरु पहिचान गरी पर्यटन गन्तव्यका रुपमा घोषणा गरिसकेको छ । प्रदेश राजधानी सुर्खेतमै केही प्रसिद्ध पर्यटकीय स्थलहरु छन् ।
देउती बज्यै मन्दिर, बुलबुले ताल, दोस्रो लुम्बिनीको रुपमा चिनिएको देउती बज्यै, शहिद पार्कलगायतका स्थानहरु सुर्खेतको वीरेन्द्रनगरभित्रकै आकर्षण हुन् । त्यस्तै बराहताल, भाइरल रोड, गोठिकाँडा, जुर्बटालगायतका स्थानहरुले पनि सुर्खेतको पर्यटकीय पहिचान दिइरहेका छन् ।
यि गन्तव्यसँगै दैलेखको पञ्चकोशी, कालिकोटको पचालझरना, सल्यानको कुपिन्डे दह, रुकुमको स्यार्पुताल, जुम्लाको चन्दननाथ, हुम्लाको हिल्सा, लिमी, डोल्पाको से फोक्सुण्डो ताल लगायतका पर्यटकीय गन्तव्यहरुले कर्णालीको मात्र होइन मुलुककै पहिचान दिइरहेका छन् ।
त्यसका साथै कर्णालीका केही मानव निर्मित स्थानहरुले पनि कर्णालीको पर्यटकीय सम्भावना बोकेका छन् । ती मध्ये सुर्खेतको सहिद पार्क, गिरी पार्क, दैलेखको गुराँसेमा निर्माण गरिएको भ्यु टावर, दैलेखको जलजलस्थित पेट्रोलियम पदार्थ उत्खनन् स्थल, कालिकोटको पिली क्षेत्र (युद्ध पर्यटकीय स्थल) राष्ट्रगुरु योगीनाथको जन्मस्थान नरहरीनाथको लालु, कालिकोटको त्रिवेणीपाटन, रुडुबन्चुलगायतका क्षेत्रहरु कर्णालीका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु हुन् ।
कसरी जाने ?
कर्णालीका यी सबै पर्यटकीय गन्तव्यहरुमा पुग्न कर्णालीको राजधानी आउनै पर्छ । काठमाडौदेखि सुर्खेतसम्म हवाइजहाज र बसको यात्रा गर्न सकिन्छ । काठमाडौदेखि सुर्खेत हजाइ जहाजले १ घण्टा १० मिनेट र बसमा २४ घण्टा बढी समय लाग्ने गर्दछ । सुर्खेत पुगेपछि काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै र सहिद पार्कको घुमघामका एकै दिनमा सकिन्छ । अनि बाँकी अन्य जिल्लाहरुमा स्थल र हवाई मार्ग दुवै प्रयोग गर्न सकिन्छ । डोल्पा, जुम्ला, हुम्ला र मुगु जिल्लामा हवाई यात्राका लागि नेपालगन्ज भएर जान सकिन्छ ।
सुर्खेत पुगेपछि एक पटक धेरै पर्यटकीय स्थलहरुमा घुमघाम गर्न पाइन्छ । सुर्खेत आउने जोकोहीका लागि पनि बुलबुले ताल, काँक्रेविहार र देउती बज्यैको दर्शन प्रमुख आकर्षक मानिन्छ । कर्णाली प्रदेशको राजनधानी भएसंगै सुर्खेतका यी पर्यटकीय स्थानहरुले पर्यटकको आकर्षण बढाएका छन् ।
सुर्खेत कर्णाली प्रदेशको राजधानीसंगै यो प्रदेशको प्रदेशद्धार पनि हो । कर्णालीका थुप्रै पर्यटकीय स्थलहरु मध्येको सुर्खेतका यी स्थलहरुले पर्यटकहरुलाइई आकर्षण गरिरहेका छन् ।
देउती बज्यै
देउती बज्यै कर्णाली प्रदेशकै मुख्य धार्मिक पर्यटकीयस्थलका रुपमा चिनिएका छ । सुर्खेत पुग्ने वित्तिकै गंगामाला देउती बज्यैको मन्दिरको दर्शन गर्न पाइन्छ । रत्न राजमार्गको नेपालगन्ज–सुर्खेत खण्डको पिपिरादेखि दुई सय मिटर दक्षिणमा अवस्थित यो मन्दिर हिन्दु धर्मावम्वीहरुको प्रमूख आकर्षण पनि हो । गंगामाला देउती बज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोबास गरिरहेका पुरानो राजी जातिसँग जोडिएको छ । देउतीमाईका सात बहिनीमध्ये केशमाला सल्यान कालीकामाटी, रतनमाला सुर्खेत गोच्चे पोखरा, रुद्रमाला सुर्खेत सुबाघाट, चतुर्माला कल्याण सुर्खेत, चामामाला बबैगुठी बर्दिया, राममाला छिन्चु सुर्खेत र गंगामाला नयाँ गाउँ पिपिरा सुर्खेत रहेको भन्ने जनविश्वास छ । देउती बज्येको दर्शनले मनोकांक्षा पुरा हुने जनविश्वास रही आएको छ ।
बुलबुले ताल
सुर्खेतको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमूख पर्यटकीय आकर्षण हो । कर्णाली प्रदेशको स्थायी राजधानी भएसंगै बुलबुले तालमा आउने पर्यटकहरुको संख्यामा पनि बृद्धि भएको छ । जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर नै यसको नामाकरण बुलबुले ताल गरिएको हो ।
३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुलेल ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो । बुलबुलेमा गार्डेन, शान्ति पार्क, पिकनिक स्थलसहित एउटा पछिलले समय बोटिङ गर्न पाइएने भए पछि दैनिक पर्यटकहरुको संख्या बढी रहेको छ ।
पिकनिकका लागि आवश्यक सामग्रीहरू त्यहीं किन्न सकिन्छ भने तालबाट निस्किएको पानीबाट परम्परागत १० धारा बनाइएको छ । तालको पूर्वतिरका ५ धारमा महिला र दक्षिणतर्फका धारमा पुरुषहरुले नुहाउने गरिएको छ ।
काँक्रेविहार
सुर्खेतको काँक्रेविहार दोस्रो लुम्विनीका रुपमा परिचित छ । तेह्रौ शताब्दीतिर काँक्रेविहार निर्माणको अनुमान गरिए पनि यसको आधिकारिक तथ्य भने भेटिएको छैन ।
बौद्ध धर्मको व्यापकतालाई रोक्न शंकराचार्य र उनका शिष्य अनुयायीहरुले बौद्धविहार भत्काई शिव मन्दिर निर्माण गराएको र यही सन्दर्भमा लाटिकोइली शिव मन्दिरको स्थापना गरिएको हो भन्ने पनि अनुमान गरिन्छ । यसको निर्माण गर्नेमा पाण्डव, बौद्ध लामा समेतलाई लिने गरिएको छ ।
काँक्रेविहारको भग्नावशेषलाई हेर्दा उत्कृष्ट शिल्पकारी कारिगरले विभिन्न आकारमा रहेका ढुङ्गाहरुमा विभिन्न प्रकारका बुट्टाहरु कुदेको भग्नावशेष पाइन्छ । प्रायः जंगलभरी यस्ता बुट्टाहरु कुदिएका ढुङ्गाहरु भेटिन्छन् ।
बुद्धको मुर्ति पाउनु र स्थानको नाममा पछाडी विहार जोडिएबाट यो भग्नावशेष भगवान् बुद्धसँग सम्बन्धित मानिएको छ । २०७१ सालको भुकम्पले भग्नावशेष भएको काँक्रेविहारलाई पुर्ननिर्माणसंगै यहाँ आउने पर्यटकहरु बढेका छन् । काँक्रेविहार क्षेत्रमा घोडामा चढेर घुम्न मिल्ने भए पछि स्थानीय पर्यटकको पनि रोजाईमा परेको छ ।
ज्वाला र पञ्चकोशी
सुर्खेतबाट कर्णालीको याात्रामा निस्कने जो कोहीका लागि सुर्खेतको छिमेकी जिल्ला दैलेखमा रहेको श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिला पञ्चकोशी क्षेत्र पर्यटकका लागि अर्को रोजाई हुन् ।
पञ्चकोशीको शीरस्थान, नाभिस्थानमा निरन्तर प्रज्वलित ज्वाला बलिरहेको दृश्य हेर्न तथा यहाँ तीर्थ गर्न नेपालीका साथै भारतीयहरु पनि आउँछन् । श्रीस्थानको ज्वाला क्षेत्र अन्तर्गत १०८ शक्तिपीठ पर्दछन् ।
भैरवी, मालिका, स्वामी कार्तिक्य, बिन्ध्यावासीनी, लामाद्वाला आदि चर्चित छन् । पञ्चकोशी ज्वाला क्षेत्र हिन्दू धर्मावलम्वीको लागि मात्र नभएर बौद्ध धर्मावलम्बीको लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
पञ्चकोशी दर्शनले पितृ उद्धार, मनोकांक्षा पूरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । श्रीस्वस्थानी व्रत कथासँग जोडिएका पाँचवटा पवित्र तीर्थ दैलेखमै छन् । यहाँ अहिले नेपाल सरकारले चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थ भण्डार रहे÷नरहेको अनुसन्धान गर्दैछ । दुल्लु क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक हिसाबले धनी छ । पुरातात्विक धारा, मठमन्दिर, देवल प्रशस्त देख्न सकिन्छ । कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, गुराँसे क्षेत्र पर्यटकीय गन्तव्यमा पर्दछन् ।
नेपाल न्यूज बैंक