काठमाडौं । योग्यताको झुठा विवरण पेश गरी नियुक्त गरिएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती बदर गरी पाउ भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेशी बैशाख ८ गतेलाई सरेको छ । चैत ३१ गतेको पेशी हेर्ने नमिल्ने भएपछि अर्को मिति तोकिएको हो ।
आइतबार (आज) को लागि तोकिएको पेशी न्यायाधीश बिनोद शर्मा र महेश शर्मा पौडेलको इजलासमा परेको थियो । आजको मुद्दामा बहस गर्ने कानुन व्यवसायी र न्यायाधिशका बीचमा बहस गर्न नमिल्ने भएपछि हेर्न नमिल्नेमा परेर अर्को दिनका लागि पेशी तोकिएको हो ।
ओझाको विरुद्ध अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । चैत २० गते प्रारम्भि सुनुवाई भएको थियो । पहिलो सुनुवाईमा लिखित जवाफ पेश गर्न भनिएको थियो । अन्तरिम आदेश माथिको छलफलको लागि तोकिएको पेशी सरेको हो । आगामी पेशीमा पूर्ण छलफल पनि हुन सक्नेछ ।
प्राधिकरणका अध्यक्षको योग्यतामाथि परेको मुद्दामा यही बैशाख ३ गतेभित्रमा लिखित जवाफ पेश गरिसक्नुपर्नेछ । सम्भवतः अबको पेशीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्रालय, बीमा प्राधिकरण लगायतका सबै निकायबाट लिखित जवाफ पेश भइसकेको हुनेछ ।