शीर्षकहरू

२०८१ मा ४७ हजारले बढ्यो सुनको भाउ, २०८२ मा २ लाख ५० हजारसम्म पुग्नसक्ने !

२०८१ मा ४७ हजारले बढ्यो सुनको भाउ, २०८२ मा २ लाख ५० हजारसम्म पुग्नसक्ने !

काठमाडौं । पछिल्लो एक वर्षमा सुनको भाउ ४७ हजार रुपैयाँले वृद्धि भएको छ । २०८१ सालमा ४७ हजार रुपैयाँले सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार २०८० चैत ३१ गते प्रतितोला सुनको मूल्य १ लाख ३९ हजार रुपैयाँ थियो । एक वर्ष पछि आज २०८१ चैत ३१ गते सुनको भाउ १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । 

सुनसँगै चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । यस वर्ष चाँदीको मूल्य तोलामा २१० रुपैयाँले बढेको छ । २०८० चैत ३१ गते तोलाको एक हजार ७ सय ५० रुपैयाँ रहेको सुनको भाउ २०८१ चैत ३१ गते तोलाको एक हजार ९ सय ६० रुपैयाँ पुगेको छ । 

यसरी सुनको भाउ वृद्धि हुनुको पछाडी धेरै कारणहरु रहेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपध्याक्ष दियस रत्न शाक्यका अनुसार विश्वमा भएको युद्ध, अमेरिकाले विभिन्न देशहरुमा लगाएको ट्यारिफ, यूरोप र अमेरिकी केन्द्रिय बैंकहरुले ब्यादर घटाएका कारण सुनको भाउमा वृद्धि भएको हो । 

विशेषगरी रसिया र युक्रेनको युद्ध २०८१ सालमा पनि जारी रह्यो । यसैगरी, हमास र इजरायलको युद्ध पनि हाल जारी नै छ । सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्धका कारण युक्रेनमा १४३ अर्ब डलर बराबरको क्षति भएको छ र ६३ लाखभन्दा बढी युक्रेनी शरणार्थी बनेका । यसैगरी सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्धमा इजरायलले प्यालेस्टाइन क्षेत्रमा आक्रमण गर्दा २० हजारभन्दा बढीको ज्यान गएको छ ।

यता, नागोर्नो–कराबाख क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच द्वन्द्व जारी छ। इसिक्युबो क्षेत्रलाई लिएर भेनेजुएला र गुएनाबीच विवाद छ। भेनेजुएलाका राष्ट्रपति मडुरोले उक्त क्षेत्र गाभ्ने योजना अघि बढाएका छन्, जसले क्षेत्रीय तनाव बढाएको छ । उक्त तनावले जुनै बेला पनि ठुलो रुप लिने र ठुलो युद्ध हुन सक्ने विश्लेषण गरिएको छ । 

उक्त युद्धका कारणहरुले कारणले सुनको भाउ वृद्धि भएको वरिष्ठ उपाध्यक्ष शाक्यको भनाई छ । यसैगरी, अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले गत भदौको आसपासमा ब्याजदर घटाएको थियो । फेडरलले ब्याजदर ०.५० प्रतिशतले घटाएर ४.७५ देखि ५ प्रतिशतसम्म कायम गरेको थियो । यो पछिल्लो ४ वर्ष यताकै पहिलो ब्याजदर कटौति हो । 

यस्तै, यूरोपका बैंकहरुले पनि ब्याजदर घटाएका छन् । उक्त कारणले पनि सुनको भाउ वृद्धि भएको उनले बताए । यसैगरी, पछिल्लो समय अमेरिकाले विभिन्न देशहरुबाट आयात हुने बस्तुहरुमा लगाएको ट्यारिफले पनि सुनको भाउ वृद्धि हुन पुगेको उनको भनाई छ । अमेरिकाले विशेषगरी, चिन, क्यानाडा, मेक्सिको लगायतका देशहरुमा ट्यारिफ लगाएको छ । 

२०८२ मा तोलाको २ लाख ५० हजारसम्म पुग्ने विश्लेषण 

वरिष्ठ उपाध्यक्ष शाक्यले २०८२ मा सुनको भाउ २ लाख ५० हजार रुपैयाँसम्म पुग्ने विश्लेषण गरेका छन् । आर्थिक न्यूजसँग कुरा गर्दै उनले आगामी बर्ष सुनको भाउ २ लाख ५० हजार पुग्ने दाबी गरेका हुन् । 

उनले भने, 'ट्यारिफबाट अमेरिका पछि नहटने देखिएको छ । विश्वका देशहरु युद्ध रोक्ने पक्षमा देखिएका छैनन् । यसले गर्दा सुनको भाउ २ लाख ५० हजार पुग्छ भन्ने लगेको छ ।’

युद्धहरु रोकिएर विश्व शान्तितिर अघि बढेको खण्डमा र विश्वमा देखिएका व्यापार युद्धहरुपनि कुटनैतिक तवरले हल भएको खण्डमा भने सुनको भाउ घटन पनि सक्ने उनले आकलन गरे ।