वीरगञ्ज । विरगञ्जका उद्योगी व्यवसायीले औद्योगिक कोरीडोरमा बढदै गएको अघोषित लोडसेडिङ्गले उद्योग व्यापारको अवस्था जारजर बन्दै गएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन । विरगञ्ज उद्योग वाणिज्य संघले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारको ध्याकर्षण गराइएको हो ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठानमा गरिरहेको अघोषित लोडसेडिङ्ग र बिना सूचना विद्युत कटौती प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जाकारी गराएको छ ।
उद्योग प्रतिष्ठानका अक्सिजनको रुपमा रहेको विद्युतको नियमित आपूर्ति हुन नसकेको कारण कोरिडोरका उद्योगहरु निश्चित क्षमता भन्दा धेरै कम सञ्चालन भइरहेका छन । झण्डै ५–६ वर्ष अघि नेपाल विद्युत प्राधिकरणले घोषणा गरेको “लोडसेडिङ्ग मुक्त औद्योगिक क्षेत्र” तथा “उज्यालो नेपाल” को नाराबाट उत्साहित भएका थिए । अब फेरि उद्योगी, व्यवसायी तथा सर्वसाधारण नेपालीहरु क्रमश बढ्दै गएको विद्युत कटौतीले गर्दा उद्योगका उपकरण बिग्रिनुका साथै कच्चा पदार्थ नोकसानीले ठुलो आर्थिक क्षति बेहोर्नु पर्ने वाध्याता सिर्जना भएको जानकारी गराइएको छ ।
पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरुले विभिन्न समस्याहरु खेपिरहेकै बखत विद्युत कटौतीको समस्या झेल्नु पर्दा उद्योगीहरु मर्कामा परेका छन् । विद्युत कटौतीको बेला डिजी सेटबाट उद्योग सञ्चालन गर्नु पर्दा उत्पादन लागत बढ्न गई उद्योगहरुले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गइरहेको बाध्याता भएको संघको ठहर छ ।
त्यस्तै, साना उद्योगहरुले विद्युत कटौतीको बेला डिजी सञ्चालन गर्न सक्ने अवस्था नभएकोले उद्योग नै बन्द राख्नु पर्ने अवस्था सिर्जना भएको छ । ‘वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित औद्योगिक फिडरमा २४ घण्टामा १४र१५ पटकसम्म बिधुत लाइन ट्रिपिङ्ग भइरहेको कारण औद्योगिक उपकरण बिग्रिनुका साथै कच्चा पदार्थहरु नोक्सान हुने गरेको छ । समस्याको समाधानका लागि लोडसेडिङको निश्चित समयावधि नै तोकी बाँकी समयमा गुणस्तरीय विद्युत आपूर्ति गर्नु पर्ने सङ्घको धारणा रहेको छ ।
‘त्यस्तै हिउँद मौसममा प्रत्येक वर्ष विद्युत आपूर्तिमा समस्या आइरहेकोले यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ’संघले जारीगरेको विज्ञप्तिमा उल्लेख छ ।