शीर्षकहरू

बैंकिङ क्षेत्रका लागि १० सुझावः सहुलियत कर्जा प्रवाह स्थानीय सरकारले गर्नुपर्ने, निर्यात व्यवसायीलाई स्थिर ब्याज

बैंकिङ क्षेत्रका लागि १० सुझावः सहुलियत कर्जा प्रवाह स्थानीय सरकारले गर्नुपर्ने, निर्यात व्यवसायीलाई स्थिर ब्याज

काठमाडौं । नेपाल सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुझाव आयोगले बैंकिङ क्षेत्रको सुधारका लागि विभिन्न १० वटा सुझाव दिएको छ । आयोगले आज सरकारलाई बुझाएको प्रतिवेदनमा ब्याज अनुदान दिन वितरण गरिने सहुलियतपूर्ण कर्जा संघीय सरकारले नगरी स्थानीय सरकारले गर्नुपर्ने सहित १० वटा सुझाव दिएको छ ।

यसैगरी, उत्पादनमुलक उद्योग, साना तथा लघु उद्यम व्यवसाय र निर्यात कर्ताहरूलाई ३ देखि ५ वर्ष अवधिको स्थिर ब्याजदरमा कर्जा उपलब्ध हुने व्यवस्था गर्ने सुझाव आयोगले दिएको छ । 

यस्ता छन् आयोगले बैंकिङ क्षेत्र सुधारका लागि दिएका १० सुझाव

(१) ब्याज अनुदान दिने गरी प्रवाह गरिने सहुलियत कर्जा प्रवाह गर्ने काम सङ्घीय सरकारले नगरी स्थानीय तहले गर्न उपयुक्त हुने ।

(२) बैकिङ प्रणालीका प्रशस्त तरलता रहेको र निजी क्षेत्रले कर्जा माग नबढाइ रहेको अवस्थामा सरकारले उच्च प्रतिफल दिने आयोजना तोकी पूर्वाधार वण्ड जारी गरेर लगानी गर्नुपर्ने । साथै, नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाको लागि उर्जा बण्ड जारी गरेर लगानी गर्नु पर्ने ।

( ३ ) कर्जा सूचना केन्द्रको क्षमता विकास र आवश्यक कानुनी प्रबन्ध सहित व्यक्तिगत क्रेडिट स्कोरिङ निकाल्ने काम शुरु गर्ने । सबै खालका बैंक तथा वित्तीय संस्था र सहकारीहरूको पनि कर्जा सूचना एकिकृत ढङ्गले राखे र कर्जा प्रवाह गर्दा प्रभावकारी ढङ्गले प्रयोग गर्ने ।

(४) उत्पादनमुलक उद्योग, साना तथा लघुउद्यम व्यवसाय र निर्यातकर्ताहरूलाई ३ देखि ५ वर्ष अवधिको स्थिर व्याजदरमा कर्जा उपलब्ध हुने व्यवस्था गर्ने । सो अनुरुपको नियामकीय व्यवस्था नेपाल राष्ट्र 'बैंकले गर्ने ।

(५) अर्थतन्त्रमा आफ्नै विशेषता भएका विभिन्न आर्थिक क्षेत्रहरू हुने गर्दछन् । तिनीहरूको उत्पादन चक्र, नगद प्रवाहको चक्र, र जोखिमको स्थिति फरक फरक हुने गर्दछ । कर्जा लगानी गर्दा अधिकेन्द्रित जोखिम नआउने गरी अर्थतन्त्रका फरक फरक क्षेत्रमा कर्जा लगानीको लागि बैंकहरुलाई विशिष्टिकृत वित्तीय संस्थाको रुपमा विकास गर्ने ।

(६) बैंकिङ् क्षेत्र, निजी उद्यम व्यवसायी र सरकारको सहकार्यमा युवाहरूमा उद्यमशीलता विकासको कार्य गर्ने। यसले गर्दा नयाँ उद्यमीहरू सिर्जना हुने भै कर्जा माग बढ्ने । विद्यालय पाठ्यक्रममा उद्यमशीलता एवम् वित्तीय शिक्षा समावेश गर्ने ।

(७) निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्ने गरेको निक्षेप र कर्जा बीमाको आकार बढ्दै गएको सन्दर्भमा उक्त संस्थाको सम्भावित जोखिम बहन गर्ने क्षमता अभिवृद्धि गर्नु पर्ने । बीमाको सिद्धान्त अनुरूप बीमा गर्ने, कोषले लगानी विविधिकरण गर्ने, र पुनर्वीमा गर्ने व्यवस्था गर्ने ।

(८) पछिल्लो समय कर्जा असूली कमजोर भै निष्कृय कर्जा र गैर बैंकिङ् सम्पति बढि रहेको अवस्थामा सम्पति व्यवस्थापन कम्पनी स्थापना गर्ने । यस सम्बन्धी प्राबधान बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा वा बैंक तथा वित्तीय संस्थाको ऋण असूली ऐन, २०५८ मा राख सकिने ।

(९) राष्ट्रिय परिचय पत्रमा आधारित eKYC को व्यवस्था गर्ने ।

(१०) अन्तर्राष्ट्रिय स्तरका नियमाकीय व्यवस्था र बैकिङ्ग प्रणाली संस्थागत सुशासन कायम गरी स्थायीत्व कायम गर्ने। चालु पुँजी कर्जा मार्गदर्शनलाई विभिन्न आर्थिक क्षेत्रको प्रकृति अनुसार उपयुक्त हुने गरि परिमार्जन गर्ने ।