काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगले स्वास्थ्य बीमाको प्रिमियम बढाउन सुझाव दिएको छ । शुक्रवार अर्थमन्त्री विष्णु पौडेललाई आयोगका संयोजक पूर्व सचिव रामेश्वर खनालले बुझाएको प्रतिवेदन मार्फत स्वास्थ्य बीमाको प्रिमियम बढाउन सुझाव दिइएको हो ।
स्वास्थ्य बीमा बोर्डले जारी गरेको स्वास्थ्य बीमामा हाल ३ हजार ५ सय रुपैयाँ प्रिमियम तोकिएको छ । उक्त रकमलाई बढाएर ५ हजार पुर्याउनु पर्ने उक्त आयोगको सुझाव रहेको छ । यसैगरी स्वास्थ्यमा हानि गर्ने सुर्ती, चुरोट, मदिरामा स्वास्थ्य कर लागएर सो रकम बीमा कोषमा जम्मा गर्न पनि आयोगले सुझाएको छ ।
आयोगले बीमाको प्रिमियम बढाउन सुझाव दिए पनि बीमाङ्क रकम बढाउने वा घटाउने बारे कुनै धारणा दिएको छैन । यता, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको बीमाङ्क रकम ५ लाख पुर्याने घोषणा गरिसकेका छन् । हाल बीमाङ्क रकम प्रति परिवार २ लाख रूपैयाँ रहेकाे छ ।
यसैगरी, आयोगले स्वास्थ्य बीमाको दुरूपयोग समेत भएको ठहर गरेको छ।
आयोगका अनुसार सरकारले स्वास्थ्य बीमाबाट सिर्जित दायित्व समयमा भुक्तानी गर्न सकिरहेको छैन। आर्थिक वर्ष २०७९/८० को स्वास्थ्य बीमाको शोधभर्ना रकम करीब १३ अर्ब १३ करोड रहेको थियो । उक्त आ.व.मा ११ अर्ब जति खर्च भएको थियो । तर, आ.व. २०८०/८१ र २०८१/८२ मा ७ अर्ब ५० करोडमात्र विनियोजन भएको छ ।